तानसेन नगरपालिकाको इतिहास सेन वंशीय शासन कालसँग जोडिएको छ । तानसेन शब्दको नामाकरणले पनि यही तथ्यलाई उजागर गरेको पाइन्छ । तानसेन एक प्राचिन शहर हो । यसले नगरस्तरको मान्यता काठमाडौँ उपत्यका भित्रका नगरसँग सगसँगै पाएको इतिहास बताउँछ । यस शहरको भौगोलिक अवस्थित भारतको दार्जिलिङ भन्दा राम्रो भएको भूगोल विद्हरु बताउँछन् । कला संस्कृतिमा पनि उपत्यका बाहिरका नागरहरुमा यो नगर जेठो देखिन्छ । शिक्षा क्षेत्रमा पनि यसको उपस्थिती ऐतिहासिक कै देखिन्छ । यहाँ शिक्षा क्षेत्रको वर्तमान अवस्थालाई पाठक समक्ष प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
तानसेन क्षेत्र भित्र शिक्षाको विकासलाई हेर्दा गुरु कुल शिक्षा नै मुख्य रुपमा पहिलो मानिन्छ । बनारसमा पढेको संस्कृत विषयका गुरुहरु झिकाई पाटी, पौवा, दलानमा शिक्षा दिने कार्य भएको थियो । त्यस्तै ससेरोफेरोमा देववाणी संस्कृत माध्यमिक विद्यालयको इतिहास जोडिन्छ । २००४ सालमा शिक्षाको महत्व बुझेका तानसेन नगरवासीहरुको अगुवाईमा पद्यादेय हाईस्कूलको स्थापना भयो । यो नै पश्चिम नेपालको पहिलो विधिवत खोलिएको विद्यालय थियो । त्यसपछि मोहन कन्या, जनता विद्यालयहरु खुल्दै गए । नगरवासीको शिक्षा भोकलाई यी विद्यालयले मात्र मेटाउन सकेनन् त्यसपछि क्रमशः महेन्द्र वोधि, सेन मा.वि. खुल्दै गए । यी विद्यालयहरु नीजि स्वार्थसँग गाँसिएर आर्थिक प्रलोभनबाट उकासिएर खोलिएको विद्यालयहरु होइनन् । न्यून मासिक तलवमा विद्यालयको शैक्षिक विकासको लागि जीवन अर्पण गर्नु हुने पूर्व शिक्षकहरुको परिश्रम, त्यागलाई सधैँ स्मरणमा ताजा बनाइराख्न वर्तमान पुस्ताका शिक्षाविद्को कर्तव्य हो, जस्तो मलाई लाग्छ । यी माध्यमिक विद्यालयसँग अरु प्राथमिक विद्यालयहरु भगवती स्थान, नारायण स्थान र लहरे पिपलमा खुलेका थिए ।
तानसेनमा संस्थागत विद्यालयको प्रवेश पूर्व यी नै विद्यालयहरु नै सञ्चालनमा थिए । देशै भरिका विद्यालयहरुसँग राम्रो प्रतिष्पर्धा थियो । शिक्षा गुणस्तरीय थियो । जब तानसेनमा संस्थागत विद्यालयहरु खुल्न थाले, सरकारी स्तरमा खुलेका विद्यालयहरुको स्तर खस्किन थाल्यो । संस्थागत विद्यालय नै गुणस्तरीय शिक्षाको आधारको रुपमा व्याख्या गरिदै जाँदा संस्थागत विद्यालयतर्फ जुन आकर्षण बढ्दै गयो । सम्पन्न वर्गहरुले आफ्ना सन्तत्तिको भविष्य संस्थागत विद्यालयमा देख्न थाले । फलस्वरुप संस्थागत विद्यालयहरु हिस्सा वितरण गरी कम्पनी अथवा साझेदारीकै रुपमा खोलिन लागे । आवरण गुणस्तरीय शिक्षा भित्र पैसाको चलखेल, कमाउनको लागि बोर्डि· स्कूल स्थापना गर्ने वाद नै आयो । यो वादीबाट तानसेन बच्न सकेन । सरकारी विद्यालयहरु गरीव, निमुखा, पल्लेदार निम्न पूँजी भएका अभिभावकका छोरा छोरीहरु पढ्ने विद्यालयका रुपमा देखिएका छन् । विद्यालयमा विद्यार्थीहरुको न्यूनताले भगवती स्थान, नारायण स्थान, लहरेपिपल, वसन्तपुरका प्राथमिकहरु माध्यमिक विद्यालयहरुमा गाभिए । यी प्राविहरुको इतिहास त मेटियो । तर पनि यो कदमलाई शिक्षा विकासमा सहाशिलो कदम मानिएको छ । अब तानसेनको नगर क्षेत्र परिष्कृत भएको छ । यसमा धेरै गाउँ विकास समितिहरु गाभिएका छन् । यसरी गाभिदा नगरभित्र विद्यालयहरुको चाप बढी देखिएको छ । सबै विद्यालयहरु सम्मान स्तरका छैनन् । दमकडा मा.वि., अर्गलीको त्रिभुवन मा.वि. राम्रै सञ्चालनमा देखिए पनि अरु विद्यालयहरुमा विद्यार्थीहरुको संख्या अन्तन्त न्यून देखिएको छ । हाल संख्यामा हेर्दा ३५ वटा आधारभूत विद्यालय र १८ वटा माध्यमिक विद्यालयहरु छन् । साधन सम्पन्न विद्यालयहरुमा २ ढाई सय विद्यार्थीहरु हुनलाई सुखद पक्ष मान्न सकिदैन । तैपनि विद्यालयहरु खस्कि रहेका छन् । शिक्षकहरुमा निराशा छाएको छ । विवेकशील अभिभावकहरु सामुदायिक विद्यालयहरुप्रति उदासिन देखिन्छन् । संस्थागत विद्यालयहरुको बाक्लो उपस्थितीले सामुदायिक विद्यालयहरुलाई घरायसी बनाएको छ । अहिले त धेरै जसो सामुदायिक विद्यालयहरु शिक्षकको कर्मथलोको रुपमा नभई जागिर स्थलको रुपमा मात्र देखा परेको छ । तानसेन नगरपालिका भित्र खुलेका विद्यालयहरुको स्तर उन्नति गरी शिक्षामा आशाका किरणहरु जगाउन नगरपालिकाको प्रमुख दायित्व हो । मैले बुझेको । आजको राजनीति फेरिएको छ । नेपालको संविधानले तीनवटा सरकारको व्यवस्था गरेको छ । स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकार । स्थानीय क्षेत्रको सर्वाङ्गीण विकासमा स्थानीय सरकारको भूमिका अहम हुन्छ । विकेन्द्रीकरणको सिद्धान्त अनुसार स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइएको छ । यसै सन्दर्भमा नगरपालिकाको सम्पूर्ण अंगहरु शिक्षा विकासमा लाग्नु पर्छ । शिक्षा विकासको लागि नगरपालिकाले चाल्नु पर्ने कदमहरुलाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्न गरिएको छ ।
क. सम्पूर्ण विद्यालयको क्षेत्रगत अध्ययन र नीरिक्षण गरी विद्यालयहरुको वास्तविक चित्र तयार पार्ने ।
ख. नगरलाई माया गर्ने, तीन जनाको शिक्षा विद्हरुको एक समिति निर्माण गर्ने ।
ग. समितिकै निर्देशनमा शिक्षक, विद्यार्थी अनुपात निर्धारण गर्ने ।
घ. शिक्षक विद्यार्थीको अनुपातको मापदण्ड पुर्याउन भूगोल हेरी विद्यालयहरुलाई मर्ज गर्ने ।
ङ. यसरी मर्ज गर्दा कुनै भेग विद्यालयबाट टाढा पर्न गएका विद्यार्थीहरुलाई यातायातको व्यवस्था मिलाउने ।
च. संस्थागत विद्यालयहरुलाई मिलेसम्म सामुदायिक विद्यालयमा रुपान्तरण गर्ने ।
छ. विद्यालय क्षेत्र निर्धारण गरी एक क्षेत्र एक विद्यालय कायम गर्ने ।
ज. यिनै विद्यालयहरु मध्ये कुनै एक विद्यालयलाई बहुउद्देश्यीय प्राविधिक विद्यालयको रुपमा विकास गर्ने ।
झ. खाली भएका विद्यालय भवनहरुमा छात्रवासको व्यवस्था गर्ने र विद्यार्थीहरुलाई बसको व्यवस्था गरी विद्यालय पु¥याउने ।
ञ. यसरी छनोटमा परेका विद्यालयहरुमा सम्पूर्ण भौतिक, आर्थिक, शैक्षिक सुविधा उपलब्ध गराउने ।
ट. विद्यालयको रेखदेखको जिम्मा स्थानीय विद्यालय व्यवस्थापन समितिलाई दिने, वि.व्य.स.को चयनमा दक्षतालाई आधार बनाउने ।
ठ. शिक्षकको नियुक्ति शिक्षा सेवा आयोगको सिफारिसबाट गर्ने ।
ड. शिक्षकहरुको मर्यादाक्रम तोक्ने ।
ढ. शैक्षिक स्तरको मापदण्ड निर्धारणबाट शिक्षकको मूल्यांकन गरी दण्ड र पुरस्कारको व्यवस्था गर्ने ।
ण. यसरी दण्ड गर्दा कसुर हेरी गर्ने र पुरस्कार दिँदा लोभै लाग्दो गरी दिने ।
त. सकेसम्म स्थानीय जनशक्तिलाई परिचालन गर्ने ।
थ. नगरपालिका पूर्णरुपले निष्पक्ष र पारदर्शी हुने ।
द. शिक्षाको अवसर समान रुपले सबै लिङ्ग वर्ग जातहरुमा पुर्याउने ।
ध. योग्यताको आधारमा लोभ लाग्दो छात्र वृत्तिको वितरण गर्ने ।
न. शिक्षामा समग्र देशकै लागि यो नगरपालिका नमूना नगरपालिकाको रुपमा आफूलाई ठड्याउने ।
यढी बुँदाहरुलाई लागू गर्दै जाने हो भने माध्यमिक विद्यालय १८ वटाबाट १० वटामा झर्न सक्छ । आधारभूत विद्यालय पनि २०/२५ मा झर्न सक्छ । विद्यार्थी भरिएका विद्यालय हुन सक्छन् । योग्य दक्ष शिक्षकहरु हुन सक्छन् । शिक्षाको गुणस्तर वृद्धि हुन सक्छ । नगर क्षेत्र मित्र शिक्षाको विकासलाई नमूनाको रुपमा लैजान नगरपालिकाको अगुवाईमा शिक्षकहरुको प्रभावकारी भूमिका हुनुपर्छ । विद्यालयलाई जागिर थलोको रुपमा मात्र लिनु हुदैँन । योग्य दक्ष शिक्षकहरुको मार्ग निर्देशनमा अभिभावकहरुको सक्रिय सहयोग अपरिहार्य हुन्छ । यसरी नगरपालिका, अभिभावक, शिक्षक र विद्यार्थीहरुको चर्तुकोणीय न्यानो सम्बन्धबाट शिक्षा गुणस्तरीय, सक्षम र वैज्ञानिक हुन्छ । यसैमा नै सम्रग तानसेन नगरपालिकाको हसिलो मुहार प्रतिविम्वित हुन्छ । (लेखक पप मा.वि तानसेनका पूर्व प्र.अ एवं शिक्षासेवी समेत हुन् ।)