Shittalpati
मौसमी रोगको जोखिम

कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै नेपालमा गर्मी मौसम सुरु भएको र सँगसँगै बर्खायामकोे मौसमी चक्र समेत आरम्भ भएकाले अबका दिनमा मौसमी बिरामीको जोखिम समेत बढ्न सक्ने देखिन्छ । देशका धेरै ठाउँमा बाढी पहिरो गइरहेको छ । धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ । बाढी पहिरोको कारण धेरै वस्तीहरुमा असर भएको छ । यसले मानिसको दैनिक जीवनयापनमा पनि असर गरेको छ । धेरै जसो खाने पानीको मुहानमा बाढी पसेर मानिसहरु दुषित पानी खान बाध्य भइरहेका छन् । जसले गर्दा विभिन्न खालका रोगहरुको जोखिम बढ्दै गइरहेको हो । वर्षाको कारण देखिने मौसमी संक्रमणजन्य सरुवा रोगहरु लागेमा सामान्य ध्यान दिन सकेपनि यस्ता संक्रमणबाट जोगिन सकिने भएपनि सामान्य असावधानीले गर्दा वर्षेनी
धेरै मानिसहरु यस्ता मौसमी संक्रमणबाट प्रभावित हुने गर्दछन् ।

रोग संक्रमणको मुख्य कारकमध्ये पानी महत्वपूर्ण पदार्थ हो । पिउने पानी स्वच्छ एवं शुद्घ हुनु पानीजन्य रोगबाट सुरक्षित रहने एक मात्र निर्विकल्प उपाय हो । गर्मी समयमा शरीरमा पानीको अल्पता, छाला सुक्खा हुने लगायत तराई क्षेत्रमा तातो हावा (लू) को प्रकोप हुने हुन सक्छ भने बर्खाको समयमा प्रदूषित पानीको कारणले उत्पन्न हुने रोगहरू जस्तै–टाइफाइड, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस, जन्डिस आदिको संक्रमण हुने सम्भावना अत्याधिक हुन्छ । यसैगरी दूषित पानीले सरसफाई गर्दा लुतो, टाइफस, ट्राकोमा र छाला सम्बन्धी रोगको जोखिम रहन्छ । पानीमा विभिन्न थरीका परजीवी उपस्थित हुन्छन्, परजीवी उपस्थित पानी स्वस्थ व्यक्तिले प्रयोग गरेमा मलेरिया, फिलेरिया, डेंगुजस्ता रोगको संक्रमण हुने सम्भावना समेत प्रवल हुन्छ । मानिसलाई आवश्यकता अनुसार पानीको उपलब्धता छैन भने अर्कातर्फ उपलब्ध पानीसमेत गुणस्तरयुक्त नहुँदा यसले मानिसको दैनिकीलाई प्रभावित गरेको त छ नै, अर्कातर्फ शारीरिक समस्यासमेत निम्त्याइ रहेको छ । यी र यस प्रकारका जनस्वास्थ्यसँग सम्बन्धित समस्याबाट बच्न खानपानमा विशेष सावधानी अपनाउन जरुरी हुन्छ । यसकारण बेलैमा सजग होआंै, सुरक्षित रहौं र स्वस्थ भएर बाँचौं ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update