स्वस्थ रहनुको मतलब कहिलेकाहीँ सलाद खाने वा केही हप्तामा एकपटक हाइकिङ जानु मात्रै होइन । स्वस्थ रहनको लागि हामीले आफ्नो जीवनशैलीमा पनि धेरै सुधार गर्नुपर्छ । मानिसको स्वास्थ्य भन्दा ठूलो धन अरु छैन । स्वस्थ जीवनशैली अपनाउनको लागि नियमित रुपले स्वस्थ खाना खानु, व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनु र सरसफाईमा ध्यान दिन आवश्यक छ । जीवनशैलीमा परिवर्तन ल्याउनको लागि आनीबानीमा थोरै सुधार गर्नुपर्छ तर, स्वास्थ्यमा परिवर्तन त्यतिखेर मात्रै हुन सक्छ जब खानपिनमा ध्यान दिन सकिन्छ । कोरोना भाइरसको विश्वव्यापी महामारी भइरहँदा संसारमा सबैभन्दा ठूलो धन स्वास्थ्य नै रहेछ भन्ने महशुस सबैलाई भएको छ ।
मानिसको शरीर स्वस्थ रहेमात्र धन कमाउन सकिन्छ । शरीर अस्वस्थ भएपछि धन खर्चेर पनि स्वास्थ्य फिर्ता गर्न सकिँदैन । अहिले पूर्णरुपमा स्वस्थ मानिस भेट्न त मुस्किल पर्छ, त्यसमाथि कोरोना प्रकोपले स्वस्थ मानिसलाई पनि मनोवैज्ञानिकरुपमा रोगी बनाएको छ । आफ्नो स्वास्थ्यप्रति संवेदनशील हुन नसक्दा जानी–नजानी मानिसहरुले विभिन्न किसिमका रोग निम्त्याइरहेका हुन्छन् । मानिसले मिठो मसिनो खाने नाममा विभिन्न किसिमका रोगहरु निम्त्याएका हुन् । बजारमा पाइने विभिन्न किसिमका मिसावट खाद्यवस्तुहरुको सेवनका कारण मानिस दिन प्रतिदिन अस्वस्थ बन्दै गएको छ । स्वास्थ्यको दृष्टिले खानयोग्य नभए पनि कतिपय खाद्य पदार्थ खुलेअखाम विक्री हुँदै आएको पाइन्छ । यसको नियन्त्रण गर्नेतर्फ जिम्मेवार निकायले चासो देखाएको पाइँदैन । अस्वस्थ खाद्य पदार्थको सेवनबाट झाडापखाला, टाइफाइड, जन्डिसजस्ता संक्रमणयुक्त रोग लाग्न सक्ने चिकित्सकहरुले औँल्याएका छन् । अहिले कोरोना भाइरसका कारण जारी लकडाउनका कारण अस्पतालमा त्यति भीड छैन । तर, गर्मीको समयमा फोहोर खानेकुरा र दूषित पानीकै कारण अधिकांश रोग फैलिएको पाइन्छ । तसर्थ रोग लाग्न नदिनका लागि विशेषतः खानपिनमा ध्यान दिन जरुरी छ ।