Shittalpati
बेसारे डाक्टर र गाईजात्रे रमझम् पात्र

प्रिय पाठकहरु तपाईहरुलाई धेरै भयो मैले खुराक नपस्केको कति जना मित्रहरुले लेख्न छाड्यौ कि के हो ? भनेर प्रश्न गर्नुभएको छ । तर त्यसो हैन । प्रेसमा पालो कुर्नपर्ने र आफ्नै व्यस्तताले हिजोआज लेख्न न भ्याएकाले केही ढिला हुन गएको हो । त्यसको लागि पाठक वर्गप्रति क्षमा प्रार्थी छु । हाम्रो देश विश्कै नमुनाको रुपमा रहेको सबैलाई थाहा छ । राजनैतिक, सामाजिक, साँस्कृतिक, भष्ट्राचारिक, घुस कमिशन खोरी, अनैतिक, कानुनी धज्जी उडाउने, गफाडी, नजाने अरु के के होला गन्नै नसकिने । यो देशमा वर्षको एकपल्ट गाईजात्रा हुन्छ । यो गाईजात्रामा हाम्रो देशका हाँस्य कलाकारहरु देशमा वर्ष भरी भएको विकृतिको व्यङग्यद्वारा सर्वसाधारणलाई मनोरञ्जन गर्दै आइरहेको ऐना जस्तै छर्लङ्ग छ । वर्षको एकपल्ट मात्र हैन अहिले त वर्षैभरी गाईजात्रा यो देशमा भइरहेको सबै नेपालीलाई जानकारी छ । गाईजात्रा भर थुप्रै कलाकार र·मञ्चमा देखिन्छन् । तर राष्ट्रिय रङ्गमञ्चमा एकजना कलाकार छन् ‘के.पी. ओली’ उहाँको अगाडि अरु कलाकारले पनि पानी मागे हुन्छ आहा कति मिठो गाईजात्रे पात्र हुनुहुन्छ ।

देशमा संकट परेको बेला टि.भी.मा टर्लक्क मुख, टल्काएर, कोरोनाले तपाईहरु डराउनु पर्दैन घरैमा बस्नुहोस् घरैमा राहतको सामान आईपुग्छ भन्दा दोकान, सोकान बन्द गरेर घरैमा बिना पूर्जिको जेल जस्तै कैदि भएर बसियो राहतको आसमा आज आउँछ आएन, भोलि आउँछ आएन, पेटमा मुसा दौडेको दौडै । यसो स्थानीय सरकारसँग सोधेको कस्तो राम्रो जवाफ आयो । त्यस्तो भए विरालो पाल्नुहोस् । सरकारमा बस्ने लाउके मात्र होइन उनका आसेपासे स्थानीय सरकारका वडा अध्यक्ष समेतले यस्तो जवाफ दिएपछि हाम्रो देशमा हाँस्य कलाकारको कमि छैन खोजे हजार पाइन्छ । अझै संसदमा के.पी. ओलीले चिनबाट आएको भन्दा भारतबाट आएको कोरोना कडा छ । कोरोना लाग्न नदिन बेसार पानी खानुहोस् । मानौ उहाँ कोरोना भाइरस सम्बन्धी पी.एच.डि गर्नु भएको छ । देशको प्रमुखले भनेको मान्नै पर्‍यो । अब देशमा क्वारेन्टाइन आइसोलेशन किन चाहियो । बरु देशभरमा संक्रमित सबैलाई काठमाडौँको टुँडिखेलमा जम्मा गरेर प्रधानमन्त्रीको कर कमलबाट बसेर तातोपानी बिरामीलाई खुवाएर, पिलाएर उद्घाटन गर्ने हो कि सभासद ज्यूहरु ? प्रधान मन्त्री खुदले बेसार पानी पिएर जनतालाई यसको बारेमा केही व्याख्या गर्न लगाइयो भने कैयौँ नेपालीको बेसारपानीले ज्यान जोगिन्छ । यस्तो गर्न सके देशको अर्थतन्त्र पनि उक्लिने थियो ।

कोरोना बिरामीको लागि भनेर, आवश्यक सामान किन्नै परेन पीडितलाई खाना खुवाउनु नै परेन अनि भएन त राष्ट्रको ढुकुटीमा अर्थको बढोत्तरी । यसतर्फ सभासदहरुको ध्यान जानु अति आवश्यक छ । सक्दो छिटो प्रधानमन्त्रीलाई बेसार पानीको उद्घाटन गर्नु जरुरी छ । जबदेखि प्रधान मन्त्री के.पी. शर्मा ओलीको भाषण सुने त्यो दिनदेखि खाना नपाए पनि बेसार पानी पिउँदै आइरहेको छु । अलि अलि भएपनि गोजीको धन बचाएको छु । धन्य छ हाम्रो प्रधान मन्त्रीलाई । तपाई कसरी राजनीतिमा लाग्नु भयो ? तपाई त तातो पानी बेसार डाक्टर बन्नुपर्ने हो । म छक्क पर्दैछु । उहाँकै मन्त्री हुनुहुन्छ खतिवडा साहव ज्यू उहाँले पनि राष्ट्रिय गाईजात्रे महोत्सवमा बेला–बेला भाग लिनुभएको जस्तै छ उहाँको बजेट भाषण पेश र जनतासँग सरोकार अति संवेदनशिल राशन पानीको कुरा पाखालाई उल्टै कर तिर्न बाध्य पार्ने आशयले दण्ड जरिवाना गर्नेसम्म भन्न भ्याएछन् । यो पनि गाईजात्राको एउटा पात्र मान्न सकिन्छ । समयमै कोरोना भाइरससँग सामानहरु माग्ने बेला उल्टै भ्रष्टाचारी, आर्थिक चलखेल गर्न रातदिन लागि पर्दा अर्का अध्यक्ष महोदयले सहोदर अध्यक्षलाई मगज बिग्रेर टाट पल्टिएको त्यसै भनेको रहेन छन् । सिधै करोडौंको कमिशन माग्ने गोकुल, बाँस्कोटा जस्ता भ्रष्टलाई काखी च्याप्नु पनि गाईजात्रे नाटक हो । कोरोनाको संक्रमण चलिरहेकै बेला राष्ट्रपतिको कक्षमा लाखौँको कार्पेट विच्छाएर कुन राष्ट्रलाई देखाउन यसो गरेको हो ! या हामी पनि करोडौंको कार्पेट विच्छाउने, अरु राष्ट्र भन्दा हाम्रो देश पनि सक्षम छ भनि देखाउन गाईजात्र काम गरेको हो ।
जिल्ला–जिल्लामा कोभिड १९ को परीक्षण गर्ने प्रयोेगशाला बनाउनु कता हो कता ? विकासको नाममा जथाभावी बाटो बनाउनुमा हामी गौरव गर्छौ । हाम्रो जात्राको गाईका वाच्छाहरु ! यसैमा रमाएर बुरुक्क बुरुक्क उफ्रेर रमाई घडी यता घडी उता दौडिरहेको कमिशन (घाँस) खाने दाउमा खई कता गयो राहत, खई कता गयो हात धुने साबुन ? झोलामा राखेर खुरुखुरु लुरुलुरु आफ्ना मन पर्ने व्यक्तिलाई राति सुटुक्क दिएपछि गाइजात्रे झन् रमाईलो भएको मान्नुपर्छ । स्थानीय तहको सरकारमा पुग्ने मित्रहरुलाई देशमा भ्रष्टाचार ? तर जनता भन्छन् कहाँ भएको छैन भ्रष्टाचार ? यो देशमा घण्टा–घण्टामा हैन सेकेण्ड–सेकेण्डमा पाइला–पाइलामा हुन्छ भ्रष्टाचार । यो देशमा यस्ता व्यक्तिहरु पनि छन् । जो आम निर्वाचनमा १०० मत नल्याउने व्यक्ति पनि पार्टीको अध्यक्ष बनेर लाखौँको कमिशन खाई महल ठड्याई रहेछन् । के गयो गाइजात्रे भाइरस होइन र ? यो देशमा न्यायालय त छ । तर कसको लागि ? उही इतिहास गरिव जनतालाई त होला ? यहाँ न्याय, कानुन, गरिवलाई तुरुन्त लाग्छ तर राष्ट्रियस्तरका नेता आसेपासेलाई यस्ता कानुनले छुदैँछुन्न । हाल देशमा कोरोनाको चर्चा र त्रास भइरहेको बेला सरकारले जनताको ध्यान अन्तै मोड्न, कहिले कालापानी, लिम्पियाधुराको कुरा निकाले, कहिले नागरिक विधेयकको कुरा ल्याए, कहिले कहिले नेपालको नक्साका कुरा ल्याएर जनतालाई भ्रममा राख्दैछन् । नराखोस् पनि कसो कमिशनको चल खेल भित्र भित्रै भइरहेछ । आषाढ मसान्त जो आउँदै छ । कामै नगरी फ्रिज हुने स्थितीमा पुगेको बजेट जसरी पनि फ्रिज हुनबाट बचाउन नाना किसिमको गाईजात्रा रंगमञ्चमा नाटक देखाई, आफ्नो पोल्टामा राख्ने खाउ खेल्दैछन् । कसो सरकारी महाशय ज्यू ।

स्वास्थ सम्बन्धी वक्तव्यमा पनि गाईजात्रे प्रर्दशन भएको छ । कोरोनाबाट मृत्युभए पनि, ढाटेर, दमको व्यथा, मानसिक व्यथा, क्षयरोगको व्यथा सुगर, मुटुकोको व्यथाले मर्‍यो भनेर सर्वसाधारणलाई भ्रममा पारिएको छ । सहि तथ्याड्ढ जन समक्ष ल्याएकै छैन । भ्रमै भ्रमको खेतीमा एमसिसीको बिउ नेपालमा रोप्न खोजेका छन् । दुई खेमामा धुविकरण भएको पार्टीबाट समेत जसरी भएपनि पास गराउन, लागि परेका छन् ओली ज्यू एमसिसी माने मसाला चिकन, चाउमिन भन्नुस या मसाले दार चिकन चिल्ली भन्नुस् या मसाले दार करोडौ कमाउन भन्नुस् । मैले केहि त गर्न सकिन र एमसिसी मिठा परिकार खानु पनि परेको छैन । तर विरोध गरेको पटक्कै मन परेन् । गाईजात्रे देशमा यस्ता गाईजात्रामा भइराख्छ ।

कुर्सी ढल्न लाग्यो भनेर कराउने, झलनाथ, माघव नेपालले यसको विकल्प खोज्नु पर्‍यो भनेर पार्टी भित्रै विद्रोह गरे । त्यहिबेला पछिल्ला देशबाट कोरोनाको किट किन्न भनेर १० अरब पठायो । यो सहयोग नेपालमा आएपछि प्रधान मन्त्रिको विकल्पको कुरा स्यालको शिरबाट सिङ्ग हराए जस्तै अरबौ रुपैयाँ र विकल्प हरायो । उल्टै टिभिमा एउटा विज्ञप्ती एका विद्धान देख्न सुन्न पाइयो देशमा संकटको बेला प्रधानमन्त्रिको विकल्प खोज्नु नमिल्दो हुने कुरा भन्दा १० अरब मध्य केहि अरब भलनाथ र माधब नेपालको गोजीमा सुटक्क छिरे जस्तो छ । यस्ता देउवा दाहालको पनि भागवण्डा छुट्याइएको कुरा गाईजात्रे पर्वमा सुटुक्क एउटा गोरुले गाईको मात्र जात्रा गर्ने गोरुको जात्रा नगर्ने ? भनेर रिसको झोकमा सुटुक्क जनतालाई भनेका हुन् । यो सुनेर जनता छक्क परेका छन् । प्रियपाठक हिजोआज मलाई धेरैजसो खेती किसानी गर्ने मन लागि रहेको छ । मन्त्री ज्यू तथा बन विभागले घर वरिपरी खाली जग्गामा रुख रोपौं वातावरण शुद्ध पारौं भनेर दिनहुँ विज्ञापन सुनेपछि लेख्न छोडेर किसान खेती गर्न मन लागेको हो । त्यो पनि प्रधानमन्त्रीले बेसार पानी पिउनुस् भने पछि निकै ईच्छा मलाई बेसारको खेती गर्न मन लागेको छ । सारा संसारलाई बेसार बेच्न पाइयो भने मालामाल पनि हुने विश्वभर कोरोनाको संक्रमित पनि बेसार पानीले छिटो निको भएर घर गएर परिवारसँग मिलिजुली पनि गर्न पाइने । कोरोनाको संक्रमितबाट मुत्यु दर पनि कम हुने । यस्तो गर्न सकियो भने देश र जनताको मात्र हैन विश्वभरको अर्थतन्त्र पनि वृद्धि हुने छ । बेसार खेती गरेर केही कमाउन सकोस् । जय बेसार खेती, तिमी बिना छैन केही जाती ।

लकडाउन लाग्नुभन्दा पहिलादेखि नै कोरोनाको कारण देखाई सुन पसल बन्दा धन्य कोरोना तिम्रो कृपाले ३ महिना दोकान बन्द भएपनि सुनको भाउ प्रति किलो १४ हजार बढ्दा कति फाइदा सुन व्यापारीलाई भयो । हाम्रा प्रधानमन्त्रीलाई थाहा छैन होला । यो काला बजारी पक्कै हैन । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालले पनि भाउ बढाउनु पर्‍यो भनेर तर्क दिन सक्छन् । तर आश्चर्य मलाई यो लाग्यो, तेल उत्पादन गर्ने राष्ट्रको तेल नबिकेर तेल किन्न आउने ग्राहकलाई पेट्रोल पम्पका मालिकले पेट्रोल उल्टै पैसा दिएको देखेपछि हाम्रो नेपालमा पनि पैसा पाइने लोभले लाइन लागेको देखर खुशी लागेको थियो । तर पैसाले हैन भारतले नाकाबन्दी गर्छ भनेर हल्ला सुनेकाले पम्पमा भिड लागेको रहेछ । कोरोनाको डर भित्र अनेकौ चलखेल नभएपछि जनता आक्रोसित भएर दिनहुँ सरकारको विरोध भइरहेछ । लाग्छ मन्त्री ज्यूहरुललाई जनताको भोक तिर्खाको कुनै मतलव छैन ? यहि बेला नागरिकहरु सम्बन्धी विधेयक, एमसिसी विधेयक बैठकमा ल्याएर सर्वसाधारणलाई दिगभ्रमित पारि रहेछ । कहि विनांशकालय विपरित बुद्धि भने जस्तै केपीको कुर्सीको आयु समाप्त भए जस्तो लाग्छ । निकट भविष्यमा राजिनामा बाध्यतावस दिनुपर्ने त हैन ? होस् पुर्‍याउनु बेश होला जनताको इच्छा चाहनालाई कुल्चेर हैन ? पुरा गरेर जनताको मन जित्न सक्नुपर्‍यो । हावादारी गाईजात्रे प्रर्दशन जस्तो गर्नुभएन । त्यस्तो गर्न इच्छा लागे निकट भविष्यमा गाईजात्रा पर्व आउँदैछ । त्यसैमा गाई, गोरु बाच्छा जस्ताको अभिनय गर्दा संसदमा आफुले जानेको जति उखान टुक्का र हाँसो लाग्दो अभिनय गरेर जनतालाई हसाउँन सकिन्छ । क्वारेन्टाइन होइन, आइसोलेशन या बसेका संक्रमितहरु पेट मिचि हाँस्न सके भने इम्यूनिटी पावर बढेर कोरोनालाई हराउन सक्षम हुन्थे की ? देशका खल–नायक ज्यू कि कसो ? हैन भने झलनाथ, बामदेवको कुरै छाडौँ प्रचण्डले मुठि उब्जाएरर तपाईको विरोध गर्दै राजिनामा माग्न वेर लाग्ने छैन ।

प्रकाशित मिति: आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update