Shittalpati
प्रदेश पाँचमा ४७ प्रतिशत रोपाइँ

रुपन्देही । प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ गरिएको छ । कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका सहायक सूचना अधिकृत अनिलकुमार कानु बनियाँले जानकारी दिए ।

यही असार १५ गतेसम्म रुपन्देहीमा ५६ दशमलव २९, पाल्पामा २१ दशमलव ९, अर्घाखाँचीमा २७ दशमलव ९२, कपिलवस्तुमा ४० र दाङमा २६ दलमलव ७६ प्रतिशत रोपाइँ भएको छ । यसैगरी बाँकेमा ३७ दशमलव ९६, बर्दियामा ५४ दशमलव ८२ प्रतिशत र रुकुम(पूर्व)मा ७३ दशमलव ०५, प्युठानमा ९६ दशमलव १३ र रोल्पामा ५८ दशमलव ६३ प्रतिशत रोपाइँ सकिएको सहायक सूचना अधिकृत बनियाँले बताए ।  प्रदेशमा गत वर्ष तीन लाख एक हजार २८० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १२ लाख ५३ हजार ८९ मेट्रिक टन उत्पादन भएको थियो । प्रदेश सरकारले धान उत्पादन वृद्धि गर्न विभिन्न जिल्लालाई धान सुपर जोनका रुपमा घोषणा गरी कार्यक्रम लागू गरेको छ ।
तिलोत्तमामा रोपाइँ महोत्सव
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज १७ औं राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सव मनाएको छ । वडा नं ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसर खेतमा धान दिवस मनाइएको हो । दिवसका अवसरमा नगरपालिकाको आफ्नो झण्डै चार बिघा खेतमा धान रोपाइँ गरिएको संयोजक एवं वडा नं ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिए । रोपाइँ महोत्सवमा नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरीलगायत जनप्रतिनिधि राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसानसमेतको सहभागिता थियो । रोपाइँका लागि वडागत रुपमा प्लट विभाजन गरिएको र जनप्रतिनिधिहरु बिहानै खेतमा जुटेर उत्साहित भई धान रोपाइँमा सहभागी भएका थिए । नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफैँ गर्नेगरी रोपाइँ गरेको हो । यसअघि सो खेतमा मकै तथा गहुँ खेती गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिँदै आएको बताए । वडाध्यक्ष न्यौपानेले रोपाइँमा सहयोग पुर्‍याउने क्लब, कुलापानी समिति लगायत सबैप्रति आभार व्यक्त गरे । यसैबीच तिलोत्तमामा कयौंँ वर्षदेखि बाँझो रहेको जमीनमा यस वर्ष धान रोपाइँ भएको छ । नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाइँ भएको हो ।

कुल खेतीयोग्य जमीन आठ हजार ४४९ मध्ये ८४५ हेक्टर जग्गा बाँझो रहने गरेकामा अहिले त्यसको झण्डै ६० प्रतिशतमा रोपाइँ भएको कृषि शाखाको तथ्यांक छ । यस वर्ष जेठ दोस्रो सातादेखि तिलोत्तमामा रोपाइँ शुरु भएकामा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाइँ सकिएको छ । बन्दाबन्दीका कारण नगरवासी फुर्सदिला रहँदा धान रोपाइँ विगत वर्षभन्दा यस वर्ष छिटो सकिने कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए । नगरपालिकाले कोरोना महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावसँग जुध्न खेतीयोग्य जमीन बाँझो नराख्ने निर्णय गरेको छ । -रासस

 

प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update