रामचन्द्र रायमाझी/ रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको इस्मा गाउँपालिका १ मल्दीमा विहिबार राती परेको अविरल वर्षका कारण गएको पहिरोमा पुरी १८ महिने बच्चा सहित दुई जनाको ज्यान गएको छ, भने पाँच जना घाइते भएका छन् । घर माथिबाट खसेको पहिरोले पुरिएर १८ महिने सुजन सारु र ७ वर्षकी अपिच्छा खत्रीको मृत्यु भएको वडा सदस्य तथा उद्धारमा खटिएका जंगबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार सुजनलाई पुुरिएको अवस्थामा र अपिच्छालाई निस्दी खोलाले बगाएर लगेको अवस्थामा फेला पारिएको थियो । राती ११ बजे आएको पहिरोले घरमा सुतिरहेका २९ वर्षकी ईश्वर खत्री र उनको छोरी अपिच्छालाई पुरेको थियो । पहिरोले पुरिएकी ईश्वरालाई ६ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका थिए भने उनको छोरी अपिच्छालाई पहिरोले बगाएर निस्दी खोला किनारमा लगेर फालेको अवस्थामा स्थानीयले मृत भेटाएका थिए । ईश्वराको टाउँको मात्र देखिएको अवस्थामा उद्दार गरिएको थियो ।
पहिरोमा परी ईश्वरा सहित उनका ६४ वर्षकाका सुसुराबा टिका खत्री, मृतक बालकका बुबा वसन्त सारु, २१ वर्षकी सिर्जना सारु, र आयुष खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदारराज पन्तले बताए । उनका अनुसार ईश्वरा, टिका, सिर्जना, वसन्त र आयुष गम्भीर घाइते रहेका छन् । मुसिकोट नगरपालिका–२ हाडि खोला घुम्तिमा पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटलसमेत बगाएको छ । होटलमा बास बसेका ५५ वर्षका भागीरथ घिमिरे सम्पर्क विहिन भएका डिएसपी पन्तले जानकारी दिए ।
पहिरोले घर, गोठ र पशुचौपायामा क्षति
इस्मा १ मल्दीमा बस्तीदेखि ५ सय मिटर माथिबाट खसेको पहिरोले त्यस क्षेत्रका एक दर्जन बढी घरमा क्षति पुर्याएको छ । पहिरोले पशुचौपायमा समेत क्षति पुर्याएको छ । वडा सदस्य जंगबहादुर खत्रीका अनुसार स्थानीय विष्णु दर्जी, रनबहादुर रेस्मी र देवबहादुर कुंवरका गोठ पहिरोले पुरिदा ३ हल गोरु समेत मरेका छन् ।
अविरल वर्षाले मुसिकोट नगरपालिका–रातचौर बस्ने जनक केसीको घर भत्किएको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षाले चुमानसिंह खत्रीको घर पनि भत्किएको छ । उनको ६ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका–२ खस्थोक अमराईका राम बहादुर सुनार, टेक बहादुर कार्की र अर्जुन बहादुर सिंहको गोठमा समेत क्षति पुगेको छ । रामबहादुरको गोठ पहिराले पुर्दा गोठमा रहेका ३ वटा भैसी सहित ७ वटा बाख्रा पुरिएका छन् । टेक बहादुरको ३ वटा भैसी र गोठ सहित पहिरोले पुरेको छ, भने अर्जुनको १ भैसी ४ बाख्रा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय विहानैदेखि उद्दारमा खटेका छन् । पानी परिरहेका कारण अहिले पनि पहिरो खस्नेक्रम जारी छ । पहिराले सडक अवरुद्ध बनेका कारण घाइतेको उद्दारमा कठिनाई भएको छ ।