Shittalpati
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक

गुल्मी । जिल्लामा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक निर्माण गरिएको छ । भौगोलिक बनावटलाई हेरी विभिन्न तरकारीको बाली ब्लक निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई प्रोत्साहित गर्दै उत्पादनमा वृद्वि गर्न बालीको ब्लक स्थापना गरेको छ । केन्द्रले इस्मामा कोदो ब्लक, अर्खाबाङ्गमा आलु, ठूलोलुम्पेक र रेसुङ्गा नगपालिकामा तरकारी ब्लक, दिगाम, मानकोट र रुरु क्षेत्रमा उखु ब्लक निर्माण गरेको केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए । उनका अनुसार कृषकहरुलाई प्रोत्साहन गरी उत्पादनमा बृद्धि गर्न र बजारीकरणका लागि सहजीकरण गर्न विभिन्न स्थानमा ब्लक स्थापना गरिएको हो ।

ब्लक बनाएपछि उत्पादनमा वृद्धि हुनुको साथै कृषकहरु यस तर्फ आकर्षित भएको केन्द्रका फोकल पर्सन शिव बञ्जाडेले बताए । ईस्मा गाउँपालिकामा रहेको ईस्मा कोदो ब्लक सञ्चालक समितिले बिहिबार सार्वजनिक सुनुवाई तथा लेखा परीक्षण समेत गरेको छ । केन्द्रको सहयोगमा स्वीकृत कार्यक्रमहरु मध्ये जिल्लाको एकमात्रै कोदो ब्लक क्षेत्र ईस्मामा समितिको लेखा परीक्षण गरिएको समितिका सचिव शेरबहादुर कुँवरले जानकारी दिए । सार्वजनिक सुनुवाई तथा लेखा परीक्षणमा चालु तथा पुँजीगत तर्फको खर्च र समितिले गरिरहेको कामको बारेमा जानकारी गराईएको थियो । समितिले कोदो उत्पादन, प्रवद्र्धन, बजारीकरण र व्यवस्थित गर्न सहजीकरण गर्ने गरेको ईस्मा कोदो ब्लक सञ्चालक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले बताए ।

केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले कोरोनाको त्राससँगै कृषकहरुलाई फौजी किरा र सलह किराको प्रकोप बढिरहेको हुँदा आउँदा दिनहरुमा खाद्य संकटबाट बँच्न कोदो संकलन तथा कोदोलाई अझ व्यवस्थित गर्नुपर्ने बताए । कार्यक्रममा वडा १, २ र ३ का वडा अध्यक्षहरुले ईस्मा कोदो ब्लक सञ्चालक समितिलाई सुझाव दिएका थिए । वडा अध्यक्ष चुराबहादुर खत्रीले कार्यक्रमलाई व्यापक रुपमा विस्तार गर्नुपर्ने बताए । अध्यक्ष टिकाबहादुर रेश्मीले कृषकलाई प्रोत्साहित गर्दै ठूला शहरमा हुने कोदोको मागलाई पुर्ति गर्न सकेमात्र यो कार्यक्रम सफल हुने बताए । अध्यक्ष तोयनाथ सापकोटाले कोदोलाई बजारीकरण गरी ईस्मालाई कोदोको पहिचान बनाउने हो भने कार्यक्रमको सार्थकता हुने बताए । ईस्मा कोदो ब्लक सञ्चालक समितिले कृषकहरुको लागि समय समयमा कृषि औजारहरु ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेको छ । यस समितिमा ४० भन्दा बढी सहकारी समूह आवद्ध रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update