पहिरोले घर पुर्दा एक महिलाको मृत्यु
स्याङ्जा । गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी)को मृत्यु भएको छ । बिहान साढे ३ बजे खसेको पहिरामा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणीलाई भने स्थानीयवासीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
राति खाना खाएर आमाछोरी सुतेकोमा बिहान स्थानीयवासीले पहिराले पुरेको देखेपछि एक जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । घरदेखि करीब २५ मिटर माथिबाट आएको पहिराले घर पुरेको हो । घाइते सारुको गह्रौ अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोले छिमेकी पदम सारु र जवन सारुका घरमा समेत क्षति पुगेको छ । -रासस
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्