Shittalpati
दुर्लभ प्रजातिको अजिङ्गर फेला

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका १० मा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए । डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजनन वन अधिकृत कोमलराज काफ्लेले सूचना पाएसँगै नजीकैको इलाका वन कार्यालय दामाचौरबाट कर्मचारी पठाइएको बताए । सो अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५/३० केजी तौलको रहेको जनाइएको छ ।

‘कालीगण्डकी नदी नजीकै रहेकाले पनि अजिङ्गर त्यतैबाट आएको हुन सक्छ, यो प्रजातिको अजिङ्गर पानीमा पौडिन र रुखमा सजिलैसँग चढ्न सक्ने खालको हुन्छ’, काफ्लेले भने,‘यो संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भएकाले पनि यसलाई सुरक्षित गर्नेतर्फ लागिरहेका छौंँ ।’ अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको वडा १० का वडाध्यक्ष रामु कोइरालाले बताए । - रासस

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update