बुटवल, सहयोगापेक्षी बेसहाराहरुको उद्दारमा क्रियाशिल मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञ हुने भएको छ ।
यही माघ २० गतेदेखि २७ गतेसम्म सुख्खानगरको भाटभटेनी चोकमा महायज्ञ सञ्चालन हुन लागेको हो । सात वटै प्रदेशका १४ जिल्लामा उन्नाइस वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको आश्रमले प्रदेश स्तरीय भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन महायज्ञ गर्न लागिएको जनाएको छ ।
दुई सय जना सहयोगापेक्षी बेसहारालाई सेवा दिन मिल्ने गरी ५० कोठा सहितको सुविधा सम्पन्न चारतले भवन बनाउनका लागि महायज्ञको तयारी थालिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । आश्रमले आठ दिनसम्म चल्ने महायज्ञबाट सात करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । लिफ्ट सुविधा सहित बन्ने उक्त भवन अपांग र बालमैत्री हुनेछ । प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा २५ लाख रुपैयाँ दिएको छ । भवन बनाउन ११ करोड रुपैयाँ लागत लाग्ने तर आर्थिक श्रोत नभएकाले रकम संकलन गर्न महायज्ञ आयोजना गरिएको महायज्ञका मूल संयोजक लोकनाथ भुसालले बताए ।
अन्य महायज्ञ भन्दा मानवीय सेवा र परोपकारी भावनाले आयोजना गरिएकाले सबै क्षेत्रबाट सहयोग आउने अपेक्षा गरिएको संयोजक भुसालले बताए । आश्रमका अध्यक्ष अधिकारीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘देशभित्र र विदेशमा बस्ने नेपालीबाट फराकिलो छाती बनाएर सहयोग जुट्ने हाम्रो विश्वास छ ।’ महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरु रहनेछन् ।