आज अगष्ट एक तारिख, विश्वभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाइँदै छ । स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाको लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ । स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रूपमा पनि लिइन्छ । आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ । सबै स्तनधारी प्राणीहरूमा स्तनपान साधारण क्रिया हो । स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् । तर कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउन पाएका छैनन् । जसले गर्दा अधिकांश बच्चाहरुले पोषिलो दुध खानाबाट बञ्चित हुनुपरेको छ ।
ग्रामीण भेगका आमाहरू स्तनपानको महत्व र पर्याप्त ज्ञानको अभावमा आफ्ना सन्तानको पूर्ण स्तनपानको अधिकार खोसिरहेका छन् । विश्वव्यापी रूपमा चासो, चिन्ता र सरोकारको विषय मानिएको स्तनपानको महत्व र गरिमालाई शिक्षित पुस्ताले नै ओझेलमा पार्दै गइरहेका छन् । यो अत्यन्त दुखको कुरा हो । कतिपय शिक्षित महिला स्तनपानको महत्व थाहा भएर पनि पर्याप्त स्तनपान गराउँदैनन् । कामको बाध्यता एकातिर छ भने काम नभएको बेलामा समेत उनीहरू बच्चालाई स्तनपान गराउन मन गर्दैनन् । अहिलेको युवा पुस्तामा ठूलो भ्रम छ, स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउँछ, शरीरको तौल घट्छ, स्तनको आकार बिग्रन्छ । यस्तो सोचाइ पालेकाहरूले बच्चालाई सकेसम्म स्तनपान गराउँदैनन्, गराए पनि थोरै समय मात्र गराउँछन् । आधुनिक विज्ञानले यो कुरा गलत सावित गरेको छ । पाउडर दूध बनाउने कम्पनीहरूले हरेक आमाहरू स्तनपानको सट्टा पाउडर दूध खुवाऊन् भन्ने चाहन्छन्, जसबाट उनीहरूको व्यापार थप फस्टाउँछ तर बोतलको कृत्रिम दूधको प्रयोग नवजात शिशुको लागि कति हानिकारक छ भन्ने कुरा शिक्षित आमाहरूलाई जानकारी नै छैन । तसर्थ बच्चालाई स्वस्थ र तन्रुस्त राख्नका लागि आमाहरुले स्तनपान गराउने कार्यलाई सुनिश्चित गर्न जरुरी छ ।