देशमा कोरोना महामारीको संक्रमण बढ्दै गएको छ । यस्तो बेलामा उच्च सर्तकता अपनाउनुको विकल्प छैन । तर देशका केही स्थानीय तहका विद्यालयहरुले भने विद्यालय खोलेर पठन–पाठन सुचारु गर्ने गरेका छन् । विद्यालयहरुले पठन–पाठन सुरु गर्न थालेपछि यतिबेला चासो र चिन्ता बढेको छ । सरकारले लकडाउन खोलेसँगै संक्रमित भेटिने क्रम पनि तीव्र बनेकै बेला विद्यालय खोल्नुले शैक्षिक क्षेत्रमा तरंग ल्याइदिएको छ । सरकारले अनुमति दिइसकेको त छैन, तर पछिल्लो समय विद्यालयप्रति बढी नै उद्दार बन्दै गएको सरकारले कतै अनलाइन कक्षा वा यस्तै बहानामा भर्नाको लागि अनुमति दिई विद्यालय खोल्न दिन्छ कि भन्ने चिन्ता बढेको छ । लकडाउनलाई खुकुलो पार्दै जनजीवनलाई सामान्य बनाउदै जाँदा विद्यालय खुल्न थालेका छन् । यसले संक्रमणको झन जोखिम बढेको छ ।
अहिले नै नेपालमा विद्यालय खोल्ने अवस्था आइसकेको छैनन् । विद्यालयमा भिडभाड हुन्छ भने व्यक्तिगत दुरीको पालना पनि व्यवहारिक हुँदैन । बालबालिका हुन्, उनीहरु एक अर्कालाई छुन्छन्, भेट्छन्, खेल्छन्, त्यसैले उनीहरुलाई रोक्न कठिन हुन्छ । नेपालमा अहिले दैनिक सयभन्दा धेरै संक्रमित भेटिन थालेका छन् । संक्रमण समुदायस्तरमै पुगेकाले जोखिम झन बढेको छ । कोरोनाको संक्रमण फैलने क्रम नेपालमा अहिले तीब्र बनेको छ । लामो लकडाउनले मानिसहरु गाँसकै समस्यामा फस्न लागेको बेला लकडाउनलाई केही खुकुलो पार्दै जनजीवन सामान्य बनाइएको छ, तर यसको अर्थ अहिले नै विद्यालय सञ्चालन गर्न सकिने अवस्था आएको हैन । अहिले एकाथरीको विश्लेषण छ, लकडाउनका कारण विद्यार्थीहरुको भविष्य तहसनहस भयो । निजी विद्यालयहरुले बालबालिकाको भविष्य खत्तमै हुन लागेको भनेर अभिभावकसँग इमोसनल ब्ल्याकमेलिङ गरेर अभिभावकलाई छोराछोरी भर्ना गर्न भनिरहेका छन् । लामो समयदेखि पढाई नहुँदा पढाईमा थुप्रै असर गरेको सत्य हो । तर सत्य के पनि हो भने तीन/चार महिना पढाई ढिला हुँदैमा पहाड नै खस्ने भन्ने हैन । अझै एक/डेढ महिना ढिला गरेमा पनि विद्यार्थीको भविष्य डामाडोल नै हुन्छ भनेर सोच्नु हुँदैन । यस्तो अवस्थामा सकेसम्म संक्रमण फैलन नदिनतर्फ नै ध्यान दिनुपर्छ । मानिसलाई अहिले ज्यान जोगाउनतर्फ बढी चिन्ता भएकाले अहिले नै विद्यालय खोलेर पठनपाठन सुरु गर्नैपर्ने बेला हैन । त्यसैले विद्यालय खोल्न हतार नगरौं ।