देशैभर हिन्दु धर्मावलम्बिहरुले आज रक्षाबन्धन मनाइँदै छन् । श्लोकबाट मन्त्रिएका जनै फेरेर अनि हातमा रक्षाबन्धन बाँधेर यो पर्व मनाउने गरिन्छ । यो पर्वमा भान्जा, ज्वाईँ, ब्राह्मणलगायतका मान्यजनहरूले रक्षाबन्धन लगाइदिने प्रचलन छ । नयाँ फेरिएको जनै र रक्षाबन्धनले धेरै कुराबाट सुरक्षित राखेर रक्षा गर्छ भन्ने धार्मिक किंवदन्ती छन् । सत्ययुगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरू बृहस्पतिले रक्षाबन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा पर्व मनाइने गरिन्छ । तर पछिल्लो समय नेपाली समाजमा नयाँ पुस्ताले भने फुल्दै जान थालेका छन् । उनीहरुले कि त जनै लगाउँदैनन कि त सबै बिधि पूरा गर्दैनन् । यसको सामाजिक महत्व हुँदा हुँदै पनि आजभोलिका युवाले जनैमा विश्वास गर्दैनन् । यो अत्यन्त दुखको कुरा हो । पश्चिमा संस्कृतिले पनि नेपाली संस्कृतिलाई विस्थापित गर्दै लगेको छ । नेपाली परम्पराअनुसार मान्दै आइएका यी परम्परालाई पछिल्लो पुस्ताले ध्यान दिन सकेको छैन । अगाडिका वर्षमा धुमधमका साथ मनाइने जनै पूर्णमा आजकाल भने सामान्य जस्तै बनेको छ ।
रक्षा बन्धन आधुनिक समाजमा आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो । पछिल्लो समय मानव पथभ्रष्ट भएर गएको छ । कुविचार, कुसंस्कार, कुदृष्टिले मानवलाई दानव बनाइरहेको छ । गलत खानपान, रहन सहनले मानिस आफैंलाई नष्ट गर्दैछ । यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्ने चलन चलाइएको हो । रक्षाबन्धन बाँधेपछि मन, बचन र कर्मलाई पनि पवित्र बनाउनुपर्छ । यो आत्मअनुशासनको एउटा विधि पनि हो । सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो यो । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले मानवलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ । हरेकजसो पर्वलाई हामी विजयोत्सवको रुपमा पनि मनाउने गर्छौं । रक्षाबन्धन पनि मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ । सूत्र आत्माको मर्यादा र संयमको प्रतिक हो । सूत्र कुनैपनि वस्तुलाई अविछिन्न गर्ने वस्तु हो । रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । त्यसैले यसको अत्यन्त सामाजिक महत्व रहेको छ ।