Shittalpati
तरकारीको आयात रोक्न  रामपुर सरकारको चासो गोलभेँडा उत्पादन पछि कृषक र प्राविधिकमा खुसीयाली

इमान सिं राना
पाल्पा (रामपुर), नेपालको समग्र आर्थिक विकासमा कृषि क्षेत्रको भूमिका उल्लेख्य छ । तर कृषिप्रधान देश मानिएको नेपालमा कृषकहरुले प्रविधिको उच्चतम प्रयोग गर्न नसक्दा कृषि क्षेत्रले उल्लेख प्रगति हासिल गर्न सरिहेको छैन । आजको युग प्रविधिको युग हो । संसारले प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारिसकेको छ । असम्भव काम पनि प्रविधिका अगाडि सहज रुपमा सम्पन्न भएका छन् । तर, कृषिको क्षेत्रमा उही परम्परागत शैली नै चलिरहेको छ ।

मानिसहरु उही कुटो र कोदालो बोकेर खेतबारीमा धाइरहेका छन् । पहिलेजस्तै खेतको आलीमा आकाशतिर मुन्टो फर्काएर वर्षातको आशमा बसिरहेका कृषकहरुका लागि नयाँ प्रविधिको ज्ञानसँगै व्यवसायिक कृषिमा लाग्न प्रेरणा प्रदान गर्ने गरी जिल्लाको रामपुर नगरपालिकाले भने उच्चतम प्रविधिको प्रयोगबाट गोलभेँडा उत्पादन सुरु गरेको छ । नगरपालिकाले परम्परागत कृषि प्रणालीका कारण बाहिरबाट ठूलो परिणाममा तरकारी आयात हुने भएकाले त्यसलाई रोक्नका लागि कृषकहरुलाई प्रविधिको ज्ञान प्रदान गर्ने गरी उच्च प्रविधिको तरकारी टनेल मार्फत मनग्य गोलभेँडा उत्पादन गर्न थालेको हो ।
प्रदेश पाँच सरकार र रामपुर नगरपालिकाको ५६ लाख लागतमा गत वर्ष टनेल निर्माण गरिएको थियो । निर्माण गरिएको टनेलमा प्रशिक्षणका लागि गोलभेँडा लगाईको छ ।

उच्च प्रविधिको टनेलमा लगाईएको गोलभेँडाको प्रशिक्षण सफल भएपछि यस क्षेत्रका कृषक तथा प्राविधिकहरु खुसी भएका छन् । रामपुर नगरपालिकाले कृषि शाखा परिसरमा निर्माण गरेको टनेलमा उत्पादन भएको गोलभेँडा विक्री गर्न सुरु गरेको छ । गत कार्तिकमा लगाईएको गोलभेँडाले उत्पादन दिन सुरु गरेपछि यसमा संलग्न कृषक र प्राविधिक हर्षित बनेका हुन् । प्रदेश सरकारको २५ लाख रुपैयाँ सहयोग र रामपुर नगरपालिकाको ३१ लाख लागतमा यस क्षेत्रकै सबै भन्दा ठूलो टनेल निर्माण गरिएको हो । नगरपालिकाले एक जना करारमा कर्मचारी नियुक्त गरी कृषि शाखाका प्राविधिकहरुको सहयोगमा टनेलमा गोलभेँडा खेती सुरु गरेको छ ।

उत्पादन सुरु भएसंगै बजारमा पठाउन पाउँदा खुशी लागेको कृषि शाखाका प्राविधिक रामहरि पाण्डेयले बताए । टनेलमा करिब तीन हजार सिर्जना जातका गोलभेँडाका बिरुवा लगाइएको छ । केही दिनदेखि उत्पादन भएको गोलभेँडा स्थानीय बजार मै विक्री सुरु गरिएको पाण्डेयले बताए । उनले करिब ५० किलोजति अहिलेको बजार भाउ अनुसार बेझाँड बजारमै विक्री गरिएकोे र बजारमा माग राम्रो रहेको बताए । टनेलभित्र पहिलो पटकमा नौ हजार किलो गोलभेँडा उत्पादन हुने अनुमान गरिएको छ । रामपुर नगरपालिकाका प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले कृषकहरुलाई प्रविधिमा आश्रीत गर्न जिल्लामै नमूनाका रूपमा ठूलो क्षमताको उच्च प्रविधिको टनेल निर्माण गरिएको बताए ।

उनले नगरलाई कृषिजन्य पदार्थमा आत्मनिर्भर बनाउन बाहिरबाट आउने तरकारीलाई निरुत्साहित गर्ने रणनिती लिएको बताए । नगरपालिकाले कार्यविधि बनाएर टनेललाई प्रयोगमा ल्याएको बताउँदै टनेलबाट प्राप्त आम्दानी नगरपालिकाको खातामा जम्मा हुने बताए । नगरपालिकाले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी रामपुरलाई कृषिबाटै आत्मनिर्भर बनाउने सोच राखेको नगरप्रमुख रमणबहादुर थापाले बताए । उनले कृषकहरुलाई व्यवसायिक बनाउन युवा स्वोजगार अन्तर्गत व्याज अनुदानमा ऋण प्रदान गर्न सुरु गरिएको बताए । उनले शितभण्डार निर्माणको प्रक्रिया अघि बढेको भन्दै नगरभित्र उत्पादन भएका कृषि उपजको बजारीकरणमा नगरले पनि सहयोग गर्ने बताए ।


टनेल निर्माण भएपछि अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समूह, विद्यार्थी, विभिन्न संघसंस्था, व्यक्तिहरु अवलोकन तथा जानकारी लिन आउने गरेका छन् । कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ र ३६ मिटर चौडाइ रहेको टनेल निर्माण गरिएको छ । टनेल समय समयमा मर्मत सम्भार गरिएको खण्डमा दश वर्षदेखि वीस वर्षसम्म प्रयोग गर्न सकिन्छ । टनेलभित्र विरुवाको लागि उपयुक्त वातावरण तयार गर्न गर्मीयाममा तापक्रम चिसो बनाउने कुलिङ्ग प्याड, पंखा, हावामा सापेक्षिक आद्रता कायम गर्न फगिङ्ग, घामको तापक्रम नियन्त्रण गर्न सेड नेट, जाडो याममा तापकक्रम वृद्धि गर्ने, किरा लाग्नबाट बचाउने प्रविधिहरुको प्रयोग गरिएको छ । त्यस्तै विरुवाका लागि थोपा सिंचाई प्रविधि तथा मल्चिङ्ग प्रविधि प्रयोग गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update