Shittalpati
पाल्पाको बगनासकालीमा कुरिलो खेतीतर्फ कृषकको आकर्षण

रासस

बेझाड । पाल्पाको बगनासकाली गाउँपालिकाका कृषक व्यावसायिक कुरिलो खेतीमा आकर्षित भएका छन् । स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने भएपछि यहाँका कृषकले व्यावसायिक तवरबाट कुरिलो खेती गर्न थालेका छन् । वडा नं ८ बराङ्दी क्षेत्रमा कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ ।

बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो पाएपछि यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन् । स्थानीय जीवलाल घिमिरेले तीन रोपनी क्षेत्रमा व्यावसायिक रुपमा कुरिलो खेती गरेका छन् । कुरिलो बिक्रीबाट गत वर्ष पाँच लाखको आम्दानी गर्न सफल भएको उनले बताए । यहाँ उत्पादन भएको कुरिलो बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरे बताउन्छिन् । प्रतिकिलो चार सयमा गाउँबाटै कुरिलो बिक्री भइरहेको छ । घिमिरेले जेटिएको जागिर छाडेर कुरिलो खेती गरेकी हुन् । उनले विभिन्न ठाउँठाउँमा कुरिलो खेतीसम्बन्धी तालिम पनि दिर्दै आएकी छन् ।

सोही ठाउँकै केशवमणि बस्यालले छिमेकीले कुरिलो खेती लगाएर राम्रो कमाई गरेको देखेपछि गत वर्ष ८५ बोट कुरिलोका बिरुवा लगाएका छन् । यस वर्ष करीब दुई सय बोट कुरिलो पु¥याउने उनको लक्ष्य छ ।‘पहिलो वर्षमा नै नसोचेको उत्पादन भयो, घरायसी प्रयोजन, आफन्त, छिमेकीलाई कोशेलीका रुपमा नयाँ उत्पादन दिएर पनि केही बजारमा बिक्री गरियो, अब बिस्तारै बर्सेनि व्यावसायिक तवरले कुरिलो बढाउँदै जानेछु’, बस्यालले भने । अन्नबाली लगाएर उत्पादन राम्रो लिन नसकिने जग्गामा साबित्रा बस्यालले कुरिलो लगाउन थालेकी छन् । उनले परीक्षणका रुपमा ९० बोटमा कुरिलो खेतीको व्यवसाय शुरु गरेका हुन् । उनी राम्रो उत्पादन हुन थालेपछि यो वर्ष तीन सय बिरुवा थप गर्ने गरी बेर्ना तयार पार्दै छिन् ।

अन्य तरकारी बालीको तुलनामा कुरिलो खेतीबाट दोब्बर बढी आम्दानी लिन सकिने हुँदा कुरिलो खेतीलाई नै प्राथमिकता दिने उनको भनाइ छ । थोरै समय मिहिनेत गरेपछि प्रतिफल राम्रो पाइने, स्वास्थ्यका लागि अति उपयोगी, बजार भाउ राम्रो रहेकाले कुरिलो लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् । भिरालो पानी नजम्ने जमिनमा यसको उत्पादन राम्रो हुन्छ ।

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update