Shittalpati
गोरू (लघुकथा)

गोविन्द प्रसाद नेपाल
म ठूलै कृषि परिवारको सदस्य हुँ । बाबाको सरकारी जागीर नभएकाले कृषि नै उहाँको मेरुदण्ड थियो । गाई भैसीहरु प्रशस्त थिए । गाईको गोठालोको छुट्टै व्यवस्था थियो । मलाई सम्झना छ गाई गोरु गरेर २५/३० वटा थिए । प्रायः हाम्रो गाईगोठमा बाच्छा बाच्छीहरु जन्मिरहन्थे । संयोग मान्नुपर्छ एक वर्ष भित्रमा तीन वटा गाईले बाच्छाबाच्छा पाए । रंगमा फरक थिए । एउटा निर्भक्क कालो थियो । एउटा रातो रंगको थियो । बाँकी अर्को झालेमाले थियो ।

शुक्लपक्षको जुनझै यी तीन वटै सर्लक्क हुर्किए । दुई वर्षमै यी तीन वटै समान कदका हृष्ट पुष्ट बाच्छाहरु बहर गोरुमा परिणत भए । देख्नमा पनि साह्रै राम्रा थिए । समय बित्दै जाँदा यी तीन वटै एकआपसमा बलमा प्रतिस्पर्धा गर्न थाले । यिनले “हाम्रो घर एउटै हो, हाम्रो मालिक एउटै हो” भन्ने कुरा बिर्से । दाम्लामा बाँधिएर पनि सिगुरी खेल्न थाले डुक्रन थाले । दाम्लाबाट छुटेपछि त संमाली सक्नु हुन्नथ्यो । गोठाला हैरान पथ्र्यो । झालेमाले वाला अलि सोझो थियो । यसले कहिले कालोलाई साथ दिन्थ्यो । त कहिले रातोसँग मिलेर कालोलाई हान्थ्यो । यिनीहरु थामी नसक्नु भए । छिमेकी पनि हैरान थिए । गाईका सन्तान बेच्ने चलन हामीकहाँ थिएन । बेच्न पनि नहुने । थाम्न पनि कठिन भयो । रातो दुष्ट थियो । हाम्रो धार्मिक संस्कार अनुसार मृत्यु भएको ११ औं दिन साँढा साँढी छोड्ने चलन थियो । रातोलाई ११ औ दिन कहिल्यै जोत्न नहुने गरि डामेर छोडियो । त्यो कुन दुला पस्यो पत्तो भएन् । अरु दुइटा कहिल्यै लड्न छोडेनन् । दुइटा लड्दै गर्दा घरी कालोले घिसाथ्र्यो भने घरी अर्कोले घिसाथ्र्यो । बलमा दुईटै एकै थिए । एक दिनको कुरा हो– यिनीहरु एकदमै रिसिए । लड्न थाले । लड्दा लड्दा भिरमा पुगेको पत्तै भएन । गोठालाले मिलाउन खोज्यो तर सकेन । आखिर यी दुवै भिरबाट खसे । एउटाको खुट्टा भाँचियो । अर्कोको करङ्ग भाँचियो । अहिले यी दुवै एउटै गोठमा एकले अर्कालाई हेर्दै दिन काटिरहेछन् । बाबाले खासै पीर मान्नु परेन किनकि गोठमा अरु बाच्छा हुर्किसकेका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update