पुष्करराज रेग्मी
नाट्क अभिनय, हाँस्यव्यङ्ग्य विधाका ख्याति प्राप्त कलाकार चित्रवलीराम सुवाल रोमाण्टिक कवि पनि हुन् । माता पंचकुमारी सुवाल र पिता बाबुराम सुवालका पुत्ररत्नको रुपमा उनको जन्म वि.संं. २००९ साल जेष्ठ २४ गते तानसेन टक्सार टोलमा भएको हो । हाल सेवानिवृत्त शिक्षकको रुपमा कला साधनालाई साथमै लिई साहित्य सिर्जनामा तल्लीन रहदै सामाजिक, स्वयंसेवी एवं नागरिक सचेतनाको क्षेत्रमा समेत आफूलाई समर्पित गराउँदै आएका छन् ।
पाल्पा साहित्य समाजका संस्थापक सदस्य/पूर्व अध्यक्ष/सल्लाहकार, शुभनाम सडक नाटक समूह पाल्पाका अध्यक्ष, देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका उपाध्यक्ष, नेपाल नागरिक समाज पाल्पाका पूर्व अध्यक्ष/सल्लाहकार, नेपाल रेडक्रस सोसाइटी, नेपाल मानव अधिकार संगठन, नेपाल परिवार नियोजन संघ लगायतका संस्थाहरुमा आवद्ध चित्रवलीराम सुवाल कलाकारिता/साहित्य/समाजसेवा र शैक्षिक क्षेत्रको समेत गरी दर्जनौ पुरस्कार एवं सम्मानहरुद्वारा विभूषित भईसकेका छन् । भारत र चीनको समेत भ्रमण गर्नु भएका सुवालका स्थानिय देखि राष्ट्रिय स्तरसम्मका विभिन्न पत्रपत्रिकाहरुमा कविता, लेख, रचना, नाटकहरु प्रकाशित भईसकेका छन् । पाल्पाका साहित्य समाजद्वारा प्रकाशित कविता सङ्ग्रह पलपल (२०७१) कवि सुवालको साहित्यिक कृति हो ।
‘पलपल’ कविता संग्रहभित्र लामा र छोटा गरी २६ वटा गद्य कविताहरु संग्रहित रहेका छन् । कविता सरल भाषा र शैलीमा लेखिए तापनि अधिकांश कविताहरुले व्यङ्ग्य विद्रोहको माध्यमबाट आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक एवं समसामायिक क्षेत्रमा देखिएका विकृति र विसंगतीहरुको भण्डाफोर गरेका छन् । कविताले लोकतन्त्र शान्ति, मानव, अधिकार, प्रेम, समर्पण लगायतका विषयवस्तुहरुलाई उजागर गरेको छ । पलपल कविता संग्रहको पहिलो कविता अन्त्यले प्रत्येक घर परिवारमा हुने श्रीमान श्रीमती बिचको अन्र्तद्वन्द्वलाई नेपाली चलचित्रको नामका आधारमा पस्किएको छ । दोस्रो कविता तीन मुक्तक भित्र मुलुकमा अझै विकास नभएको, नेपालीहरुमा हिङ नभएपछि हिङ बाँधेको टालो रहेको र बेरोजगारको पीडालाई प्रस्तुत गरिएको छ । तेस्रो कविता क्षेत्रले नेपालमा कहिल्यै पनि कुनै काम ठीक तरिकाले नहुने हरेक कार्य सम्पादन अस्तव्यस्त र अलपत्र परेको भनी तीखो व्यग्य प्रहार गरेको छ ।
चौथो कविता शिक्षकले प्रत्येक गुरुहरुको पीडा पस्किनुका साथै दायित्व बोध गराएको छ । वि.सं. २०४६ सालमा सृजित यो कवितालाई कविले नेपाली शिक्षकहरुको आन्दोलन, अभियान र कार्यक्रमको दौरानमा धेरै ठाउँमा वाचन गरिसक्नु पनि भएको छ र अहिले पनि यो कविता निकै नै चर्चित छ । पाँचौ कविता जिन्दगीमा निराश जीवन जिउनुको सार नभएको उल्लेख गरिएको छ । प्रजातन्त्र भित्रको खुल्ला वातावरणमा पनि मान्छे अहम्तामा रुमल्लिरहेको छ । आफूभित्रकै शान्तिलाई दबाएर शान्ति खोज्न मानिस भौतारिएको छ भन्ने संदेश छैठौ कवितोे अहम्तामा बाँचेको मान्छेले दिएको छ ।
सातौ कविता अन्र्तघातले प्राचीनकाल देखिनै आफ्नाले आफ्नैलाई सिद्धयाउने, रित्याउने, तड्प्याउने कार्य हुँदै आएको प्रमाण पेश गर्दै विशेष गरी प्रजातन्त्र प्राप्ति पछि मुलुकमा बढ्दै गएको राजनैतिक अन्र्तघात प्रति तीखो व्यङ्ग्य प्रहार गरिएको छ । आठौ कविता ऐतिहासिक ढोकामा विम्वात्मक रुपमा सिंहदरबार छिर्ने जनप्रतिनिधिहरुको प्रस्थान र आगमनको अन्तराललाई प्रस्तुत गरिएको छ । नवौ कविता सम्झना मा मायालुको सम्झना गरिएको छ भने दशौ कविता मेरो हराएको कवितामा द्वन्द्वकालीन मुलुकको अवस्थाभित्र स्वतन्त्रता चाहने व्यक्तिको विम्वात्मक चरित्र चित्रण गरिएको छ । एघारौ कविता ‘घाउ’ मा माया बैगुनी नभै नहुनेलाई संम्झना गरिएको छ ।
बाह्रौ कविता मेरी दिल कविज्यूकी आफ्नै जीवन संगीनी श्रीमती दिलमाया सुवालप्रति सम्प्रेषित रहेको छ । तेह्रौ कविता शान्त, समृद्ध नेपाल देख्न पाँउ मा कविले समृद्ध नेपालको इतिहास लेख्नको लागि संविधान जारी गरियोस् भनी लक्षणिक अभिव्यक्ति दिएका छन् । चौधौ कविता संविधान सभा ले संविधान जारी गरी अन्यौलताको अन्त्य गर्न सुसूचित गरेको छ । पन्ध्रौ कविता सेतो कमिज र नीलो पाइन्टले राष्ट्रसेवकहरुलाई आचारसंहिता पालन गरी अनुशासनमा रहन सिकाएको छ । सोह्रौ कविता यादमा यौवन अवस्थाको रमाइलो पलको स्मरण गरिएको छ । सत्रौ कविता बलात्कृत ताहुँ संरक्षण र संवद्र्धनको पखाईमा रहेको छ । अठारौ कविता अतितमा पूर्वस्मृति गरिएको छ । उन्नीसौ कविता प्रेममा प्रेमको अर्थ दिइएको छ । बिसौ कविता मेरो देशमा मुलुक अस्तव्यस्त भएकोमा चिन्ता प्रकट गरिएको छ । एक्काइसौ कविता तिम्रो स्मृतिमा मायालुको संम्झना गरिएको छ । बाइसौ कविता तिम्रै शरणमा आएमा आध्यात्मिक चिन्तन गरिएको छ । तेइसौ कविता वरवादमा दलहरु प्रति तिखो व्यङ्ग प्रहार गरिएको छ । चारटुक्रा शीर्षकको चौबिसौ कवितामा लोकतन्त्र, गणतन्त्र र नयाँ नेपाल प्रति सटिक व्यग्य प्रहार गर्दै नेपाल र नेपालीको भविष्य अन्यौल रहेको देखाईएको छ । पच्चिसौ कविता कालो बिरालोले मुलुकमा सत्य भन्दा असत्यको विजय हुँदै गएकोमा चिन्ता प्रकट गरेको छ । यस संग्रहको अन्तिम छब्बिसौ कविता बोल्नु भन्दा नबोल्नु बेसले मुलुकमा बोलेर केहि हुनेवाला छैन् । लोकतन्त्र आएतापनि विधिको शासन आएन अतः मुर्खको सामु नबोल्नुनै श्रेयस्कर छ भन्ने संदेश दिएको छ ।
शिक्षक, अहम्तामा बाँचेको मान्छे, अन्तर्घात, ऐतिहासिक ढोका, मेरो हराएको कविता, मेरी दिल, सेतो कमिज र नीलो पाइन्ट, मेरो देश, बोल्नु भन्दा नबोल्नु बेस लगायतका कविताहरुले संग्रहभित्र उत्कृष्टताका छाप छाडेका छन् । संग्रहभित्र चार हरफे छोटा कविता देखि लिएर एकसय सात हरफ लामो कविता पनि समावेश रहेका छन् । छोटा कविताहरु मुक्तक शैलीका रोमाण्टिक एवं व्यग्य विनोदी रहेका छन् भने मझौला तथा लामा कविताहरु विम्वात्मक एवं संदेशमूलक रहेका छन् । कला अभिनयको लागि नवरसको आवश्यकता पर्दछ । कविताका शब्द शब्द केलाई अर्थ लगाउँदा यभेष्ट मात्रामा नवरसको प्रयोग भएका छन् । मायाप्रिति, यौवन, रहर, आर्थिक सामाजिक, साँस्कृतिक, राजनैतिक, समसामायिक लगायतका विषयवस्तु माथि व्यग्यात्मक रुपमा दरिलो प्रहार गर्न सक्ने यथार्थ बादनै रोमाण्टिक कवि चित्रवलीराम सुवालको वैशिष्ट्य गुण हो ।
लेख्नु, वाचन गर्नु डायरीमा सार्नु र सामाजिक संन्जालमा संप्रेषण गर्नु भन्दा लेखिनु र छापिनु ठूलो कुरा हो । पलपल कविता संग्रह पुस्तकाकार कृतिको रुपमा आएको छ । कृति महनीय, मननीय, उदाहरणीय र संग्रहणीय रहेको छ । पलपल स्वादिष्ट व्यञ्जनको रुपमा रही गद्य कविताको दुनियाँमा महत्वपूर्ण आयामताका साथ रहने छ । पाल्पा साहित्य समाजको इतिहासमा पाल्पाली साहित्यकारहरुको पुस्तकालयमा र समग्र नेपाली वाङ्मयको क्षेत्रमा कवि चित्रवली राम सुवालद्वारा सृजित पलपल कविता संग्रह अविस्मरणीय रुपमा रहि रहनेछ । बालकृष्ण समले भनेका छन् रुकविता भनेको भावनाको बौद्धिक कोमलता हो । त्यसैले छन्दले नबाँधिएका, वाक्यांश, लय र तालमा नपर्दा नपदै पनि कविता हुन सक्छन् र तालैमा परेका वाक्यांश कविता नहुन पनि सक्छन् । यसर्थ गद्य कविता संग्रह पलपल छन्दमा नबाँधिदा नबाँधिदै पनि उत्कृष्ट गद्य कविताहरुको सर्वोकृष्ट संग्रह हुन पुगेको छ भन्नुमा कुनै अतिशयोक्ति हुने छैन् । शिक्षा प्रेमी, समाजसेवी, नागरिक समाजका अगुवा, कलाकार, कवि चित्रवली राम सुवालको उत्तरोत्तर प्रगति र स्वास्थ्य भविष्यको कामना गर्दछु । अन्त्यमा कवि सुवालको एउटा रोमाण्टिक कविता :
रोक्नु हुदैन मनको बाँध
त्यस्तै पर्यो भने छँदैछ माइतिघर
तपाईलाई के को डर
हिजो आज भोलि
जुनी बदल्न के को भर
हाम्रो जीवनरेखा
सिन्दुरबाट शुरु हुन्छ
कहिले कुमारी
कहिले आमा
परालको आगोमा
अन्त्य हुन्छ ।