Shittalpati
कृषकलाई अनुदानमा बिउ र औषधी

इमान सिं राना
पाल्पा (रामपुर), कृषकलाई अनुदानमा बिउ र औषधी वितरण गरिएको छ । जिल्लाको रामपुर नगरपालिका ४ वडा कार्यालयले सोमबार एक कार्यक्रमका बीच कृषकहरुलाई अनुदानमा बिउ र औषधी वितरण गरेको हो । एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत कांक्रा, बन्दा र काउली खेती प्रवद्र्धनलाई जोड दिदै कार्यालयले विउ तथा जैविक विषादी वितरण गरेको छ । कृषकहरुबाट माग आह्वान गरिएको र सोही आधारमा बिउ वितरण गरिएको वडा अध्यक्ष एकबहादुर नेपालीले बताए । कार्यक्रममा वडाका ७ कृषक समूह र २ व्यवसायिक फर्मलाई माग अनुसार बोडी, काँक्राको बिउ तथा जैविक विषादी प्रदान गरिएको हो ।

जसमा वडा कार्यालयले मौलाथर कृषक समूह र मगर उत्थान कृषक समुहलाई बोडीको बिउ सहित कांक्राको विउ, अन्नपूर्ण कृषक समूह, सदावहार तरकारी उत्पादक कृषक समूह, शिव शक्ति महिला कृषक समूह, कालीका कृषक समूह, हाम्रो आधुनिक कृषि फर्म र ठाडा तरकारी तथा नर्सरी फर्मलाई काक्राको विउ र जैविक विषादी अनुदानमा प्रदान गरेको हो ।

बिउ र औषधी वितरण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले नगरलाई कृषिमा आत्मनिर्भर बनाउन तथा उत्पादित कृषि उपजको बजारीकरणका लागि बाहिरबाट आउने तरकारीलाई निरुत्साहित गर्न अभियान थालेको बताए । उनले रामपुर उर्वर सिंचित भूमी भएपनि यहाँको आवश्यकता पूरा गर्न बाहिरबाट तरकारी ल्याउनु पर्ने बाध्यता रहेको भन्दै उत्पादनमा जोड दिन निरुत्साहितको कार्यक्रम ल्याइएको बताए । थापाले कृषिमा प्रविधिको विकास गर्न हाईटेक टनेल निर्माण गरिएको, भण्डारणको लागि शितभण्डार निर्माण अघि बढाईएको बताउँदै अब व्यवसायिक बन्न आग्रह गरे ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नगरपालिकाले कृषकहरुलाई व्यवसायतर्फ प्रेरित गर्न व्याज अनुदान कार्यक्रम सुरु गरिएको बताए । उनले नगरका वडाहरुलाई एक वडा एक उत्पादनको अवधारणा अनुसार अघि बढाइएको जानकारी गराए । कृषिलाई प्राथमिकतामा राखेर नगरले १० जना कृषि प्राविधिकहरु प्नि नियुक्त गरेको बताए । कार्यक्रममा वडाका कृषकहरुले आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रममा रामपुर नगरपालिका कृषि शाखाका प्राविधिक सहायक प्रज्वल केसी, रामपुर नगरपालिका पशुसेवा शाखाका पशु स्वास्थ्य प्राविधिक तुल्सीराम काफ्ले लगायतले प्राविधिक ज्ञानका बारेमा जानकारी दिएका थिए ।

वडा अध्यक्ष एकबहादुर नेपालीको अध्यक्षता, वडासदस्य मकबुल मियाँको स्वागत र सचिव रजनी भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update