पुष्कर अथक रेग्मी
विषम वेदनाहरु कविता संग्रहका लेखक कलाकार कवि चिरञ्जिवी शर्मा ढुङ्गानाको जन्म वि.सं. २००६ साल पौष ११ गते पिता तुल्सीनारायण ढुङ्गाना र माता टीकाकुमारी ढुङ्गानाका सुयोग्य पुत्ररत्नको रुपमा भएको हो ।
विद्यार्थी जीवनदेखि नै हास्यव्यंग्य अभिनयमा सरीक रहेरै सामाजिक, राजनैतिक, आर्थिक, शैक्षिक एवं समसामायिक क्षेत्रका विकृति विसंगती एवं तत्कालीन पञ्चायती शासन पद्धतिको समेत भण्डाफोर गर्दै नौ ग्रह (२०४३) कविता संग्रह प्रकाशित गरिसक्नु भएका शर्माजी पाल्पा साहित्य समाजका पूर्व अध्यक्ष, नेपाल नागरिक समाजका केन्द्रिय सदस्य एवं विभिन्न, संघसंस्थाहरुमा आजीवन सदस्य समेत रहनु भएको छ । पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य साहित्य प्रतिष्ठान, नेपाल परिवार नियोजन संघ, पाल्पा उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाद्वारा सम्मानित भईसक्नु भएका कलाकार मनोविनोदी कवि चिरञ्जिवी शर्मा ढुानाको कविता संग्रह विषम वेदनाहरु (२०७१) पाल्पा साहित्य समाजद्वारा प्रकाशित कृति हो । यस लेखक मार्फत कविता संग्रह विषम वेदनाहरु भित्रका नवरसहरुलाई स्थिति–भाव, क्रिया–प्रतिक्रियाको आधारमा निम्नानुसार चर्चा गरिएको छ ।
१. श्रृङ्गार रस
रस भनेको भाव हो जसले तरंग पैदा गर्दछ । आचार्य भरतका अनुसार श्रृङ्गारस रति नामक नायिकाको परस्परमा भेटघाट, दर्शन, स्पर्श आदि हुँदा यो रस उत्पन्न हुन्छ । साहित्यमा नायक नायिकाको विरह वर्णन गरेको श्रृङ्गार रसको दोस्रो भेदलाई विप्रलम्भ श्रृङ्गार भनिन्छ । श्रृङ्गार रसले रति प्रेम भावलाई झल्काउँछ । यसको प्रतिक्रिया स्वरुप, लाज, मुस्कान, माया, स्पर्श उत्पन्न हुन्छ । यस संग्रह भित्रका अहँ अहँ अहँ, प्रेम, प्रिया, ओ मायालु शीर्षकका कविताहरु श्रृङ्गार रसयुक्त छन् । जस्तै :
मेरो शरीर आगो भई जलिरहेछ
तिमी वर्षा भई निभाइदेऊ ओ मायालु
२. हास्य रस
साहित्यमा विकृत आकार भेषभूषा, हाउभाउ, चेष्टा आदिबाट पैदा हुने ुहासु स्थायी भाव भएको एक रसलाई हास्य रस भनिन्छ । छेडछाडका साथै हासो उठाउने काम कुरो र छेंडपेंच हान्ने व्यंग्य समेत हास्य रसभित्र पर्दछ । यसको उद्देश्य, हसाउनुनै हो । यस संग्रह भित्रका भक्त बन्छु, वर्तमानमा व्यंग्य, थैय मैले भूलेँ, हालखबर, तिम्रो हाम्रो तानसेन शीर्षकका कविताहरुले हास्य रस उत्पन्न गराएका छन् ।
३. करुण रस
कसैप्रति उसको स्वभाव, अवस्था, विलाप, रोदन, चिन्ता, चित्कार आदिले गर्दा उपकारको निमित्त दर्शाइने दयाको भावलाई करुणा भनिएको छ । यही करुणालाई साहित्यमा करुण रस भनिन्छ । कविता संग्रह विषम वेदनाहरुभित्र प्रतिक्षा, आमाको प्रस्थानपछि, जीवन बाटोमा लड्दा, अस्पतालभित्र, आमा अब कसरी जाऊ पार लगायतका कविताहरुमा करुण रस पाइन्छ ।
४. वीर रस
आफूखुसी उत्साह र साहसका साथै कठिन वा भीषण काम गर्ने व्यक्ति, कुनै कार्यसम्पादनमा नडराउने नआत्तिने, शूरो, आँटिलो वा बहादुर व्यक्तिलाई वीर भनिन्छ । साहित्यमा वीर रसको प्रयोग दानवीर, युद्ववीर, दयावरि, धर्मवीर गरी चार भेदरुपमा प्रयोग गरिन्छ । यस संग्रहभित्रका म, सहिदलाई श्रद्धाञ्जली, सहिदको सपना, केही मुक्तक शीर्षकका कवितामा वीर रसको झल्को पाईन्छ ।
५. रौद्र रस
डरलाग्दो, भयड्ढर, प्रचण्ड, रिसाहा, उग्रता, आवेग, सेखी लगायत सञ्चारी भाव, आँखा रातो पार्नु, मुड्की हान्नु, दाँत किटकिटाउनु लगायतका स्थायी भाव, क्रोधजन्य अवस्था प्रस्तुत भएको स्थिति भाव प्रतिक्रियालाई रौद्र रस भनिएको छ । यस संग्रह भित्रका मुटुका छापा, कस्तो बिडम्बना शीर्षकका कविताहरुमा रौद्ररस पाइन्छ । जस्तै :
यी मेरा अक्षर मसीका हैनन्
रगतका थोपा हुन् !
यी मेरा हरफ कविता हैनन्
मुटुका छापा हुन !
६. विभत्स रस
घृणा र वितृष्णाको चरम उत्कर्षका साथै क्षतविक्षत स्थितिको बोध विभत्स रसले गराउँछ । यस संग्रहभित्र म, बादल, गजवको देश, सुरा सुन्दरी, जीवन बाटोमा लड्दा शीर्षकका कविताभित्र विभत्स रसका प्रभावहरु पाइन्छन् ।
७. भयानक रस
स्थायी भाव, भय हुने रसलाई साहित्यमा भयानक रस मानिएको छ । भयानक रसले भय, त्रास, भयड्ढर चिन्तित जस्ता स्थितिको बोध गराउँछ । यस संग्रह भित्रका यो मेरो सानोे कोठामा, व्यथा, ताजा खबर, वाद अभियान, कस्तो विडम्बना शीर्षकका कविताहरुमा भयानक रसको प्रयोग भएका छन् ।
८. अदभूत रस
साहित्यको नवरसमध्ये आश्चर्य स्थायी भाव, रोमाञ्च आदि अनुभव, वितर्क हर्ष आदि व्यक्तिचारी भाव र विस्मय स्थायी भावको सम्बन्धबाट उत्पन्न हुने रसलाई अदभूत रस भनिन्छ । संग्रहभित्र केही मुक्तक, आमाको प्रस्थानपछि, चिल्ला मानिस, तिम्रो हाम्रो तानसेन, कस्ती श्रीमती लगायतका कविताहरुमा अदभूत रसका भावहरु तरङ्गीत भएका छन् ।
९. शान्त रस
नवरस मध्ये सासांरिक दुःख, निस्सारता आदिको ज्ञान वा परमात्माको स्वरुप आलम्बन र वैराग्य स्थायी भाव भएको रस शान्त रस हो ।
कुनै पनि काव्य प्रवाहमा शान्त रसले कुनै पनि प्रकारको रिसराग द्वेष, दुःख, छलकपट आदि मनोविज्ञान नभएको शिष्ट र सौम्य प्रकृतिको शान्तियुक्त, सुशील, विनम्र निश्चल एवं धैर्य स्थितिको बोध गराउँछ । यस संग्रहभित्र प्रिया, सहिदलाई श्रद्धाञ्जली, प्रतिक्षा, प्रेम, टुकी लगायतका कविताहरुमा शान्तरस विद्यमान छन् । जस्तै :
टुकी धप्प बल्दछ दीपशिखा
मन्दमन्द मुस्कान छर्दै
एउटा उज्यालो रङ्गीन बहार छाउँछ
घरको चारैतिर !
यो मेरो सानो कोठामा, हालखबर, ताजा खबर, कस्तो बिडम्वना, धन्य नेता, लगायतका कविताहरुमा राजनैतिक व्यंग्य प्रहार भएका छन् भने म भक्त बन्छु, हालखबर वाद अभियान, चिल्ला मानिस लगायतका कविताहरुमा सामा–साँस्कृतिक विकृति विसगंती र मानवीय उच्श्रृङ्खलाप्रति तीखो प्रहार गरिएको छ । प्रिया, व्यथा, ओ मायालु, प्रतिक्षा, टुकी, प्रेम, सुन्दैन सुन लगाउने कानले शीर्षकका कविताहरुमा माया, प्रेम, यौवन, रहर, यौन र मनोविज्ञानलाई समेत परिभाषित गर्न खोजिएको छ । आमाको प्रस्थानपछि, अस्पताल भित्र, जीवन बाटोमा लड्दा, आमा अब कसरी जाऊ पार शीर्षकका कविताहरुमा कविले आफूलाई अत्यन्तै भावुक र संवेदनशिलको रुपमा स्थापित गर्नुभएको छ । यो मेरो सानो कोठामा शीर्षकको कवितामा देश भक्त बन्छु मा ढोंग, ओ मायालु र अँह अँह मा यौन, तिम्रो हाम्रो तानसेनमा यथास्थिति र थैय मैले भूलेँ मा गैर जिम्मेवारीपनलाई बिम्बात्मक रुपमा प्रस्तुत गरी आर्थिक समाजिक, राजनीतिक, साँस्कृतिक अध्यात्मिक, समसामायिक श्रृङ्गारिक एवं यौनिक विषयवस्तु माथि हास्यव्यंग्यात्मक रुपमा दरिलो प्रहार गर्न सक्नुनै यर्थाथवादी मनोविनोदी कवि चिरञ्जिवी शर्मा ढुङ्गानाको बैशिष्ट्य गुण हो । जोन रस्किनका अनुसार ‘कल्पनाद्वारा गरिने उच्चतर भावको निर्देश नै कविता हो ।’ त्यसैगरी मैथ्यु आर्नल्डका अनुसार‘कविता जीवनको आलोचना हो ।’ छन्दमा नबाँधिदा नबाँधिदै पनि विभिन्न रस्वादन गरी पिउन सकिने भएकोले नै विषम वेदनाहरु सड्तीस वटा कविताहरुको उत्कृष्ट संग्रह हुन पुगेको छ । चिरञ्जिवी शर्मा ढुङ्गानाको पुस्तान्तरणमा पाल्पाली साहित्यकारको पुस्तकालयमा पाल्पा साहित्य समाजको इतिहासमा समग्र नेपाली साहित्यको आकाशमा विषम वेदनाहरु अविष्मरणीय संग्रहको रुपमा रहिरहने छ । अन्त्यमा समाजसेवी, नागरिक समाजका अगुवा, हास्य कलाकार, मनोविनोदी कवि चिरञ्जिवी शर्मा ढुङ्गानाको आगामी दिन स्वस्थ स्वर्णीय रहोस् । शुभकामना !