Shittalpati
कोभिड प्रभावः भर्चुअल मार्फत कविता वाचन

पाल्पा । विगतमा साहित्यकारहरुले सभा, समारोहको आयोजना गरी आफ्ना रचनाहरु औपचारिक कार्यक्रम मार्फत प्रस्तुत गर्ने गर्थे । तर हिजोआज भने विश्वभर फैलिएको कोभिड–१९ का कारण जिल्लाका साहित्यकारहरुले भर्चुअल (जुम प्रविधि) मार्फत साहित्यिक रचनाहरु प्रस्तुत गर्ने गरेका छन् । विभिन्न साहित्यिक संघ–संस्थाहरुले सूचना प्रविधिको प्रयोग गरी नेपाली साहित्यको श्रीवृद्धिका लागि साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आएका हुन् । वाङ्मय प्रज्ञा–प्रतिष्ठान पाल्पाले पनि भर्चुअल (जुम प्रविधि) मार्फत साहित्यकारहरुको कविता वाचन कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद बस्यालले कोरोना भाइरसका कारण बाटोमै मृत्युवरण गर्न पुगेका नेपाली कामदारहरूको पीडालाई कविता मार्फत प्रस्तुत गरेका थिए ।

उनको झ्याउरे छन्दको कविता लुटियो सपनामा ‘व्यथाले च्याप्यो छटपटाइरÞयो सम्झ्यो कि बाआमा, सम्झ्यो कि प्यारी र लालाबाला सुतेका थाङ्नामा’ जस्ता शब्दले पीडाबोध गराएको थियो । ‘आशा थ्यो केही बल्छ कि दियो आखिरि पलमा, जङ्गलमा गाडे बलेन दियो आखिरि सलामा’ जस्ता शव्दले कोरोना भाइरसका कारण मृत्युवरण गरेकाहरूको नियमित दाहसंस्कार समेत हुन नसक्ने भएको सन्दर्भमा परिवारमा हुने पीडालाई कोट्याइएको छ । अधिकांश नेपालीमा कोरोना भाइरसको संक्रमण कामको खोजिमा विभिन्न देशमा जाने क्रममा त्यहाँ काम गर्दा र त्यहाँबाट घर फर्कने क्रममा संक्रमण भएको पाइएको छ । यो अवस्था आउनुको कारण गरिबीले निम्त्याएको बाध्यात्मक परिस्थिति कविता मार्फत प्रस्तुत गरिएको थियो । कवि लक्षिमा ज्ञवालीले आराधना शिर्षकको कविता वाचन गरेकी थिइन् । उनले नारी शक्तिको प्रतिक भन्दै नारीको आराधनाका लागि कविता मार्फत आव्हान गरेकी छन् । मानवतावादी परिकल्पनामा मानिस नै ईश्वरको रुप हुने भन्दै कवि ज्ञवालीले नारीको महिमाका विषयमा कविता मार्फत उजागर गरिन् ।

यसैगरी कवि आरबि निश्चलले बलात्कार गरिरहेछ उ शिर्षक कविता वाचन गरेकी थिइन् । कवितामा कविले दबाइएको विवस्तामा थोपरिएको संस्कार स्वीकार गरेर अभिनयात्मक क्रियामा संलग्न हुनुपरेकोमा व्यङ्ग्य प्रहार गरेकी थिइन् । कार्यक्रममा कवि भावना खनालले तिमिसितै छ जिन्दगी शिर्षकमा पञ्चचामर छन्दको कविता वाचन गरेकी थिइन् । ‘तिमी पवित्र प्रेमको रहेछ स्वर्ग माथमा, फुलाउँदैछु कोपिला तिमी भएर साथमा’ भन्ने रोमाञ्चक वार्तालापबाट शुरू भएको उनको कवितामा सच्चा पे्रमभावका कारण जीवन आनन्दमय बन्ने भावना व्यक्त भएको छ । यसैगरी कवि रामप्रसाद अर्यालले तान्का प्रस्तुत गरेका थिए । उनका तान्कामा चालु राजनीति प्रति आक्रोश पोखिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update