कृष्ण पोखरेल
पाल्पा, तानसेनलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गराउने उद्देश्यले एकहप्ते पर्यटन महोत्सव गरिने भएको छ । तानसेनको विकासको मेरुदण्ड नै पर्यटन भएकोले तानसेनलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगर सरकारले एकहप्ते पर्यटन महोत्सव गर्न लागेको हो । पहाडकी रानीको रुपमा पहिचान बनाएको तानसेनलाई हिल स्टेशनको रुपमा विकास गर्न नगर सरकार क्रियाशिल भएर लागेको छ ।
तानसेन नगरभित्र प्रशस्त पयर्टकीय स्थलहरु भएपनि राम्रोसंग व्यवस्थान नहुँदा पर्यटकहरु बसाई लम्बाउन नसकिएको सरोकारवालाहरुले जोड दिएका छन् । तानसेन नगर पर्यटन समितिले तानसेनमा गरेको सर्वपक्षिय छलफलमा प्रशस्त सम्भावना युक्त पर्यटकीय स्थानहरु भएपनि प्रचार–प्रसारमा कमी तथा सरोकारवाला व्यवसायीकतामूखी नभएको कारण पर्यटकहरुको बसाई लम्बाउन नसकिएको वक्ताहरुले बताए ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले चैत्र महिनादेखि तानसेनमा प्याराग्लाडि· शुरु हुने, भ्यालेनटाइन डेको दिन प्रेमको प्रतिक रानीमहलमा विशेष कार्यक्रमको आयोजना गर्ने, बैकुण्ठे झरनामा रोपबाट आवत–जावतको साहसिक खेल सञ्चालन गर्ने, तानसेनको टक्सार लाई पुरातात्विक महत्वको वडाको रुपमा विकास गर्ने, मैले देखेको तानसेनको विषयमा ३ मिनेटको चलचित्र बनाउने, फोटो प्रतियोगिता, सारङ्गी बजाउने प्रतियोगिता लगायतका कार्यक्रम गरिने बताए । तानसेन गुठी काठमाडौँले नयाँ वर्षको अवसरमा आउँदो चैत्र ३० गते र वैशाख १ गते टक्सारमा दुई दिने कला संस्कृति सहितको महोत्सव गर्ने जनाएको छ । तानसेन नगरपालिकाले सुनौली देखि तानसेनसम्म पाँच÷पाँच किलोमिटर क्षेत्रमा तानसेनका पर्यटकीय स्थलहरुको फोटो राखी होडिङ्ग बोर्डहरु राख्ने भएको छ ।
एकहप्ते पर्यटन महोत्सव तथा तानसेनको पर्यटन गतिविधी तथा स्थानको बारेमा योजना अधिकृत विष्णु पौडेलले जानकारी गराएका थिए । कार्यक्रममा पाल्पाली संगम मञ्चका अध्यक्ष पदम न्यौपाने, तानसेन गुठी काठमाडौका अध्यक्ष सर्जुलाल लिगल, स्थानीयहरु किरण चित्रकार, दिनेश गन्धर्व, अनुजा बज्राचार्य, डाँसुराम पन्त, अच्युत खनाल, धर्मचन्द्र नेपाल, प्रदिप उदय, प्रकाशनाथ गंगोल, राजेश्वर उदय, मनमोहन श्रेष्ठ, बुद्धिप्रसाद शर्मा लगायतले नगरपालिकाको प्रयासलाई सबैले साथ दिनुपर्ने बताए ।
नगरप्रमुख अशोककुमार शाहीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका सरससफाई शाखा प्रमुख शंकर भण्डारीको सञ्चालनमा भएको थियो ।