रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लीय बढेको हो । माटो परीक्षण नगरी रासायनिक मल प्रयोग हुनु र गोबर मलको घढ्दो प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको कृषि प्राविधिकहरु बताउँछन् । कृषकहरुले तत्कालै बढी उत्पादन लिने र अन्य मलको तुलनामा राख्न पनि सहज हुने भएपछि रासायनिक मलको बढी प्रयोग गर्ने गरेका छन् । जसले गर्दा माटोको ऊर्वरशक्ति पनि ह्रास हुँदै गएको छ । खेतबारीमा बढी उत्पादन लिने उद्देश्यले जथाभावी रुपमा रासायनिक मलको प्रयोग गर्दा माटोमा अम्लीयपन बढ्दै गएको माथागढी १ चिदीपानीका कृषक मानबहादुर सारुले बताए । उनले पहिला आफूले अज्ञानताका कारण रासायनिक मलको बढी प्रयोग गरेको र पछि उत्पादन घट्दै गएपछि रासायनिक मलको प्रयोग कम गर्न थालेको बताए । खेत बारीबाट बढी उत्पादन लिनको लागि गोठे मल तथा प्रांगारिक मलको प्रयोग हुन्थ्यो । तर हिजोआज सुख भोगका कारण मानिसहरुले गाई भैँसी पाल्न छोडेपछि गोठे मलको प्रयोग कम भएको छ । अहिले गोठे मलको विकल्पमा रासायनिक (युरिया, डि.एपी) मलको प्रयोग बढ्न थालेपछि माटोमा अम्लियपन बढ्नु र त्यसको प्रत्यक्ष प्रभाव कृषि उत्पादनमा परेको हो । प्राविधिक दृष्टिकोणबाट यस्ता रासायनिक मलको प्रयोग गर्दा सन्तुलन मिलाउनु पर्दछ ।
सन्तुलन मिलाउन नसक्दा कृषकले आफु खुसी नै यस्ता मलको प्रयोग बढाउँदै गएका कारणले पनि खेति योग्य जमिनबाट ऊर्वरा शक्ति ह्रास हुँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए । माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण रासायनिक मलको बढ्दो प्रयोग भएको उनी बताउँछन् । ‘वस्तु पाल्ने र गोबर मल हाल्ने चलन नै हराइसक्यो’, अर्यालले भने, ‘किसानहरूमा माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग ज्यादा हुनाले माटो बिग्रिरहेको छ ।’ ‘माटो परीक्षण नगरी रासायनिक मल प्रयोग हुने गरेको छ । युरिया धेरै प्रयोग हुन्छ’, उनले भने, ‘पोटास र डीएपीको मात्रा मिलाइँदैन । यसले माटोमा अम्लीयपन बढाउँदै लगेको छ ।’ वर्षमा एउटै मात्र बाली लगाउँदा पनि अम्लीयपन बढ्ने उनको भनाइ छ । बाली अनुसार अम्लीय आवश्यकताको मात्रा फरक हुने अर्याल बताउँछन् । अम्लीयपन बढे उत्पादन स्वतः घट्ने उनको भनाइ छ । प्राविधिक मापदण्ड अनुसार तीन भाग युरियाको प्रयोग गर्दा दुई भाग डिएपी र एक भाग पोटास अनिवार्य हुन्छ तर पछिल्लो समयमा युरियाको मात्रा कारणले माटोमा ऊर्वराशक्ति प्रत्येक वर्ष ह्रास हुँदै गएको बगनासकाली गाउँपालिकाका २ पोखराथोकका कृषक टोपबहादुर कुमालले बताए । सन्तुलन मिलाएर रासायनिक मलको प्रयोग गर्दा युरियामा ४० प्रतिशत नाइट्रोजन, डिएपिमा १८ प्रतिशत नाइट्रोजन, ४६ प्रतिशत फस्पोरस र पोटासमा ६० प्रतिशत पोटासियम तत्व प्राप्त हुने बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन् । रासायनिक मलमा सन्तुलन नमिलाउँदा युरियाले माटोमा अम्लियपन र डिएपिले क्षारिय तत्व वृद्धि गराउँदा माटोको गुणस्तर खस्किदै जाने र त्यसको प्रभाव उत्पादनमा पर्ने उनले बताए । नेपाली बजारमा माटोको अम्लीयपन घटाउन मद्दत गर्ने कृषि चुनको अभाव छ । सरकारले अनुदानमा आफुहरुलाई चुन उपलब्ध गराउनुपर्ने जिल्ला कृषकहरू बताउँछन् । कृषकलाई माटो परीक्षण बारे सचेत गराई सुधार्नेतिर पनि ध्यान दिनुपर्ने र सहज रूपमा कृषि चुन पाउने व्यवस्था मिलाउनुपर्ने कृषि प्राविधिकहरु बताउँछन् ।
जिल्लामा कुल खेतीयोग्य जमिन मध्ये ९ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ । विगतमा खेत बारीमा हरियो मल, गोठे मल कम्पोष्ट मलको प्रयोग हुने गरे पनि अहिले रासायनिक मलको प्रयोग बिना खेती हुन छाडेपछि रासायनिक मल प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको छ । यसरी अत्याधिक मात्रमा रासायनिक मलको प्रयोग बढदै जाँदा अम्लीयपनको मात्र बढ्न जान्छ, जसले गर्दा धान उत्पादन ज्यादै न्यून हुने भन्दै कृषिविज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।