कोभिड–१९ को महामारी दिन प्रति दिन फैलिदै गएको अवस्था छ अहिले । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण आर्थिक, सामाजिक र मानवीय स्वास्थ्यको हिसावले पनि हामी अत्यन्तै गम्भीर अवस्थामा छौं । अल्पविकसित मुलुक नेपालले पनि यो महामारीबाट बच्नका लागि विभिन्न खाले काम कारवाही गरेता पनि महामारी दिन प्रतिदिन फैलिएको प्रति जुन रुपमा चिन्ता हुनुपर्ने हो, त्यो रुपमा चिन्ता नभएको भन्ने प्रत्यक्ष अनुभूति भएको मान्न सकिन्छ । सरकार आफ्नो आयु लम्ब्याउने र प्रधानमन्त्री कुर्सी बलियो बनाउने किसिमको वातावरण बनाउने र पार्टी–पार्टी बिचको नेतृत्व चयनमा लागि रहेको बेला महामारीको प्रकोप बढ्नुलाई नेताजीहरु केवल संयोग मात्र मान्दै होलान् तर यो संयोग र सहयोगी भाव होइन्, यो त हिजो राज्यपक्षबाट भएका कतिपय कमी कमजोरीका कारण श्रृजना भएको अप्ठ्यारो अवस्थाले गर्दा यस्तो भएको हो ।
लकडाउन गर्नुपर्ने बेलामा नगर्ने र नगर्ने बेला गर्ने, राहत चाहिने बेला फेरि पनि आउन सक्छ भन्ने कुराको अनुभूति नगरीकनै भटाभट राहत वितरण गर्ने प्रवृति हिजोका दिनमा गरियो, त्यसले गर्दा अहिले महामारी बढेका बेला न सहयोग न राहत हुने प्रायः निश्चित जस्तै भएको छ । सरकार अब अरु सबै कुरा बन्द गर, महामारी रोक्ने र जनता बचाउने कामलाई प्राथमिता देउ, अन्यथा महामारीले हजारांै भन्दा पनि लाखांै जनताको जनस्वास्थ्यमा पर्ने प्रतिकूल असरले हामी नेपालीका धेरै घर परिवारमा विपद्ले घेरिसकेको छ । त्यसकारण दैवी प्रकोप र कोभिड–१९ को प्रकोपलाई नियन्त्रण गर्न पुरै देशलाई फेरी पनि एक महिनाको लागि कडा लकडाउन गर्नुको कुनै पनि विकल्प छैन । त्यसकारण लकडाउनलाई कडा र वास्तविकतासँग दाजेर कार्य गर्नु नै अहिलेका लागि महाउत्तम कार्य हुनेछ । त्यसैले हामी भन्छौ, समयलाई बुझौं ? लकडाउन थपौं र महामारीबाट बचौं ।