Shittalpati
आज दर खाने दिन

पाल्पा । हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तीज बिहीबारबाट सुरु भएको छ । तीजअन्तर्गत आज दर खाने दिन हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि देशका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा र सिल गरिएकाले यो वर्ष तीजको रौनक भने छैन । घरमै बसेर दिदीबहिनीले यो पर्व मनाउँदै छन् । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीज मनाउने गरिन्छ । मीठा परिकारका साथ दर खाने गरिन्छ । हरितालिका तीजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहीआएको छ । दरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरिन्छ । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन चलेको हो । दरखाने समय र स्थान भने ठाउँअनुसार फरक–फरक छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगानसहित मनोरञ्जन गर्ने गरिन्छ । भारतका कुनै–कुनै प्रान्तमा समेत तीज मनाउने प्रचलन छ । तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषि पञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ दरखान जाने चलन भए पनि यो वर्ष कोरोना संक्रमणका कारण असहज भएको छ । देशैभर कोराना संक्रमणको दर उच्च रूपमा बढ्दा सरकारले चाडपर्व मनाउँदा भीडभाड नगरी घरमै सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ । यस्तै कोरोना संक्रमणसँगै देशैभरिका मठमन्दिर लामो समयदेखि बन्द छन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update