Shittalpati
रहिनन् नेविसंघकी पूर्व नेतृ अधिकारी

पाल्पा, नेपाल विद्यार्थी संघकी पूर्व नेतृ तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी पूर्व स्ववियु कोषाध्यक्ष पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ । अधिकारीको क्यान्सरका कारण ४४ वर्षको उमेरमा निधन भएको हो । २०३२ सालमा पाल्पाको रामपुर १० गेझामा जन्मिएकी अधिकारी लामो समयदेखि अष्ट्रियाको नेपाली समाजमा सामाजिक अभियन्ताको रुपमा सक्रिय रहदै आएकी थिईन । अष्ट्रियामा जर्मनी भाषामा उच्च शिक्षा हासिल गरेकी अधिकारीले वोकु विश्वविद्यालयमा वायो टेक्नोलोजीमा पनि स्नातकोत्तर गरेकी थिइन् ।

उनलाई श्रीमान अरुण शर्मा र नेपालीहरूले विषेश पहल गरेपछि युरोपमै पहिलो पटक माध्यमिक तहसम्म नेपाली भाषा पढाउन अष्ट्रिया सरकारले मान्यता दिएको थियो । पार्वतीको त्याग र योगदानको अहिले पाल्पा र अष्ट्रियामा सम्झना भईरहेको छ । उनी क्यान्सर रोगका कारण लामो समयदेखि पीडित रहेकी थिईन् । पार्वती त्रिभुवन बहुमखी क्याम्पस पाल्पामा २०५५ देखि ५७ सम्म स्ववियूको कोषाध्यक्ष रहेकी थिइन् । स्वर्गीय पार्वती काठमाडौंको स्वयम्भूमा घर भई हाल अष्ट्रियामा श्रीमान् र दुई छोरा अनुपम र आयुषसंग बस्दै आएकी थिइन् ।

उनी पाँच दाजुभाई र ३ दिदीबहिनी मध्येकी एक हुन । पार्वती नेपाली काँग्रेस पाल्पाका पूर्व उपसभापती कृष्णप्रसाद अधिकारीकी कान्छि बहिनी हुन । अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी रहेको पारिवारीक स्रोतले जनाएको छ । उनको निधन प्रति पाल्पाका विभिन्न राजनितिक दलका नेता तथा सामाजिक, शैक्षिक व्यक्तित्वहरुले सामाजिक सञ्जालमा दुख व्यक्त गरेका छन् । उनले पाल्पामा रहँदा मुक्तिनाथ एफएममा विज्ञान संसार कार्यक्रमको उत्पादक तथा प्रस्तोताको भूमिका समेत निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update