Shittalpati
साहित्यकार खत्रीले ल्याए ‘गजल चालिसा’

पाल्पा, गुल्मेली साहित्यकार तथा प्राध्यापक मन बहादुर खत्री मनुले गजल संग्रह ‘गजल चालिसा’ बजारमा ल्याएका छन् । जीवन र जगतका विषयमा केन्द्रीत रहेर ४० वटा गजल समाहित गरी खत्रीले ‘गजल चालिसा’ गजल संग्रह बजारमा ल्याएका हुन् । गुल्मीको इस्मा गाउँपालिका २ मैनडाँडा निवासी खत्री पछिल्लो समय जिल्लाको नेपाली साहित्य क्षेत्रको श्री वृद्धिमा सक्रिय रुपमा लागेका छन् । उनले आफ्नै निजी अनुभूति, जीवनका उकाली ओराली, बाल्यकालका रमाइला पल, वर्तमान अवस्थामा भोग्नु परेको पीडा, विश्वभर फैलिएको कोरोना महामारी, प्राकृतिक प्रकोप, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतका विभिन्न घटनाक्रमहरु, राजनैतिक जगतमा देखिएका विकृति, विसंगति, देशभक्ति, धर्म संस्कृति र परम्परालाई मुलभूत रुपमा गजल संग्रहमार्फत उठान गरेका छन् । यो उनको पहिलो कृति संग्रह हो । साहित्यकार खत्रीले गजल बाहेक कविता, मुक्तक, हाईकु जस्ता क्षेत्रमा समेत कलम चलाउदै आएका छन् ।

साहित्यकार खत्रीले ल्याएको ‘चालिसा’ गजल संग्रहको गुल्मीको तम्घासमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । किरण पुस्तकालयद्वारा प्रकाशित उक्त गजल संग्रहको वरिष्ठ साहित्यकार दीन पन्थी र मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए । संग्रहको लोकापर्ण गर्दै वरिष्ठ साहित्यकार पन्थीले नेपाली साहित्य क्षेत्रको विकासमा साहित्यकार खत्रीले इटा थप्ने काम गरेको भन्दै सफलताको शुभकामना व्यक्त गरे । उनले भने ‘वर्तमान समय परिस्थिती र जीवन जगतलाई गजलले चित्रण गरेको छ ।’ मदाने गाउँपालिकाका अध्यक्ष केसीले साहित्य क्षेत्रको विस्तारमा स्थानीय सरकारले समेत विशेष ध्यान दिएर अगाडि बढेकाले साहित्य क्षेत्रमा लाग्ने नयाँ साहित्यकारहरुलाई सशक्त ढंगले लाग्न आग्रह गरे ।

श्रृङ्गारिक धाराका संयोग श्रृङ्गार र वियोग श्रृङ्गारका अनुपम उदाहरणहरु गजल संग्रहमा समावेश गरिएको छ । कार्यक्रममा संग्रहको साहित्यकार एवं समीक्षक राम प्रसाद पन्थीले समीक्षा गरेका थिए । उनले गजल विधाको विकास र श्रीवृद्धिमा गजलकार खत्रीले एउटा इट्टा थप्ने काम गरेको बताए । समीक्षक पन्थीले वासनात्मक प्रेमलाई तुच्छ ठान्दै आत्मिक प्रेमको महानता माथि संग्रहले जोड दिएको बताए । संग्रहमा खत्रीले नरनारीका प्रेम र आर्कषणमा मात्र सीमित नरही सिङ्गो मानव जगतका विविध पक्षहरुलाई सरल र सहज रुपमा प्रस्तुत गरेको समीक्षक पन्थीले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update