Shittalpati
कोरोना कहर : छैन तीजको रौनक, माइतीमा रमाउने चेली घरमै

रामचन्द्र रायमाझी

पाल्पा, हरेक वर्षका तीज पर्वमा दुई दिन अघि नै माइती घर जाने गरेकी बगनासकाली गाउँपालिका १ घोरबारी निवासी टुक माया चिदी यसपटक माइत गईनन् । जान्ने भएदेखि सधै मनाएको तीज कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमले उनी घरमै मनाएकी छन् । जिल्लामा मात्रै होइन,समुदायस्तरमा समेत व्यापक कोरोना संक्रमित देखिन थालेपछि घरपरिवारमै रमाउँदै तीजको ब्रत बस्ने तयारीमा उनी छन् । ‘तीजमा माइत नगएपछि तीज आएजस्तै लाग्दैनथ्यो । यतिखेर कोरोना महामारीको चारैतिर त्रास छ । त्यसैले यस वर्ष माइत जाने मनसाय बनाइन्,’ चिदीले भनिन् । ‘सधै एकनास कहाँ हुन्छ र । ज्यानै जोखिममा पारेर चाडपर्व मनाउनुको अर्थ पनि छैन । स्वास्थ्य सुरक्षित रहे अर्को वर्ष रमाइलो गरी तीज मनाई हालिन्छ नि ।’ परम्परा धान्ने मनसायमा छु, चिदीले थपिन्,’। तानसेन ३ बसन्तपुर बस्दै आएकी कविता बस्याल पनि यस वर्ष पनि कोरोना महामारीका कारण माइत जान नपाएको गुनासो गरिन् । उनले भनिन् ‘विगतमा माइत गएर दिदी,बहिनी, दाजुभाई मिलेर रमाइलो गथ्र्यो तर यस वर्ष भने कोरोनाको त्रास छ, कसरी रमाइलो गर्नु,आफै सुरक्षित हुनुपर्ने अवस्था आएको छ ।’ जताततै कोरोना संक्रमित देखिन थालेपछि सबै दिदी, बहिनीहरुलाई सजग रहन उनले सुझाव दिइन् । उनी मात्र होइन यस वर्ष धेरै महिला दिदी बहिनी माइत नगई घरमै तीज मनाइरहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि देशका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा र सिल गरिएकाले यो वर्ष तीजको रौनक भने छैन । घरमै बसेर दिदीबहिनीले यो पर्व मनाउँदै छन् । अवस्था सामान्य भइदिएको भए यतिबेला चेलीबेटीहरु माइती घरमै रमाइलो मै व्यस्त हुन्थे । तर परिस्थित फरक भइदिँदा चेलिबेटीहरु यतिबेला घरभित्र बस्न बाध्य भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना (भाइरस कोभिड–१९) का कारण चाडपर्वदेखि सबै कुरा अस्तव्यस्त छन् । यतिबेला कोरोनाले तीजका चेलीहरुलाई घरभित्र थुनिदिएको छ । तैपनि महिला दिदिबहिनीहरु घरमै तीज मनाउनमै व्यस्त छन् ।

नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने गरिन्छ । द्वितीयाको दिन राती दर खाने, तृत्तियाको दिन भगवान शिवको व्रत बसेर पञ्चमीको दिन शरीर शुद्ध बनाउनको लागि ३ सय ६५ दतिवनले दात माझेर पञ्चमी वा सप्त ऋषिको पूजा गरी तीज पर्व मनाइन्छ । विवाहित महिलालाई माइतीघरमा डाकेर मिठा परिकार खुवाउदै माइतीसँग भेट्घाट गर्दै रमाइलो गर्दै चेलीबेटी माइतीघरमा रमाउने, सुख–दुःखका बेदना खोली नाच्ने, गाउने नेपाली इतिहासमा चल्दै आएको चलन हो । हरितालिका तीजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहिआएको छ । दरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरिन्छ । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन चलेको हो । दरखाने समय र स्थान भने ठाउँअनुसार फरक–फरक छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । विहिबार अधिकांस महिलाहरुले घरमै दर खाँएर आज ब्रतको तयारीमा जुटेका छन् । धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ ।

तीज पर्वका अवसरमा गरिने भीडभाडले कोरोना संक्रमण फैलिने भएकाले भीडभाड नगर्न स्थानीय प्रशासनले समेत अनुरोध गरेको छ । कोरोना संक्रमणका कारण यस वर्ष दिदी बहिनीलाई घरमै बसेर तीज मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ दरखान जाने चलन भए पनि यो वर्ष कोरोना संक्रमणका कारण असहज भएको छ । देशैभर कोरोना संक्रमणको दर उच्च रूपमा बढ्दा सरकारले चाडपर्व मनाउँदा भीडभाड नगरी घरमै सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ । यस्तै कोरोना संक्रमणसँगै देशैभरिका मठमन्दिर लामो समयदेखि बन्द रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update