पाल्पा । जिल्लामा पनि ऋषि पञ्चमी पर्व मनाइएको छ । आईतबार हिन्दू धर्मावलम्बी नारीहरूले नजिकै रहेका मन्दिरहरुमा गई सप्तऋषिको पूजा गरी यो पर्व मनाएका हुन् । यस वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले भीड भाड नगर्न भनि निर्देशन दिएको र स्थानीय प्रशासनले समेत निषेधाज्ञा जारी गरी अनावश्यक बाहिर ननिसक्न र भिडभाड नगर्न भनेकाले केही नारीहरुले भिडभाड नगरी घर नजिकैको पोखरीमा गएर पूजा गरेका थिए ।
रजस्वलाका समयमा छोइछिटो भएको भए अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास अनुरुपमा महिलाले यो पर्व मनाएका छन् । नारीहरूले नजिकको ३ सय ६५ दतिवनले दाँत माझ्नुको साथै, गाईको गोबर, माटो र खरानी लगाई पोखरीमा स्नान गरेका थिए । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय बचन रहेको संस्कृतिका जानकार तथा पण्डित होमनाथ न्यौपाने बताउँछन् ।
प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्मा हत्याको पाप भोग्नुपर्यो । हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रहृमालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए । यसैकारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहि आएको छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन गुल्मी र पाल्पाको संगमस्थल रिडीमा स्नान गर्नेहरुको भिड श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष नजिकै घर भएका थोरै मानिस मात्र मन्दिर पुगेका थिए । कोरोनाबाट बच्न गत शुक्रबार मध्यरातदेखि जिल्लामा निषेधाज्ञा भएकाले धेरै महिलाले घरमै स्नान गरी यो पर्व मनाएका छन् ।