Shittalpati
गुल्मीका पत्रकार ज्ञवालीको छोटो चलचित्र ‘डार्क मुन’
‘डार्क मुन’ निर्देशक रामजी ज्ञवाली र चलचित्रमा बाल कलाकारको रुपमा देखिएका क्रिजन गौतम ।

सुशिल नेपाल

पाल्पा । ‘डार्क मुन’ नामक छोटो चलचित्र सार्वजनिक गरिएको छ । चलचित्रलाई एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीले निर्देशन गरेका छन् । गुल्मीको रुरु एफएमबाट पत्रकारिता शुरु गरेका ज्ञवाली बुटवलबाट प्रकाशित जनसंघर्ष, दैनिक पत्र, काठमाडौंबाट प्रकाशित नयाँ पत्रिका हुँदै पछिल्लो समय कान्तिपुर पब्लिकेशनमा आवद्ध छन् ।

रामजीले यस अघि पनि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका थिए । शनिबार सार्वजनिक गरिएको ‘डार्क मुन’मा बाल कलाकार क्रिजन गौतम, साहिल खान, सूर्या थापाले शिर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् । साहिल खान चलचित्र उद्योगका सर्वाधिक डिमाण्डेड ट्रेलर मेकर हुन् । सूर्या केही चलचित्रमा अभिनेत्रीको भूमिकामा काम गरिसकेकी छिन् भने क्रिजन गौतम नेपाली चलचित्र उद्योगका बाल कलाकार हुन् । बुटवलमा बस्ने क्रिजनले सानै उमेरदेखि देखाएको प्रतिभाको चौतर्फी तारिफ हुँदै आएको छ । उनले अभिनय गरेको ‘प्रेम गीत ३’ प्रदर्शनको तयारीमा छ । शनिबार सार्वजनिक ‘डार्क मुन’ मा क्रिजनले मन छुने अभिनय गरेका छन् । चलचित्रमा अभिभावकले सन्तान प्रतिको जिम्मेवारी बिर्सदा निम्तने परिस्थिति देखाइएको छ । चलचित्रबारे निर्देशक ज्ञवाली भन्छन्,– ‘यो समाजको यथार्थ तस्वीर हो । आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने सन्देश दिनु यसको उद्देश्य हो ।’ डार्क मुनको कथा नेपाली चलचित्र उद्योगका सफल चलचित्र लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । चलचित्रमा सुदी बरालको डिओपी, एलिश कार्कीको ब्याक ग्राउण्ड स्कोर, विशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ । चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानल मार्फत यो चलचित्र सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update