Shittalpati
साहित्यकार शुभ श्रेष्ठको महाप्रस्थान

पुष्कर अथक रेग्मी

नेपाली साहित्यको श्रीवृद्धिका लागि राष्ट्रिय स्तरमै महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी साहित्यकार शुभ श्रेष्ठको ८ भाद्र २०७७ सोमबारका दिन ७१ वर्षको उमेरमा हिमाल अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । ‘लामो समयसम्म दुवै मिर्गौलाको रोगबाट ग्रसित छोरी समानकी पाल्पाली चेलीको निधनले म निकै मर्माहत भएको छु ।

स्व.शुभ श्रेष्ठ

जीवनको उत्तराद्र्धमा शारीरिक अस्वस्थताले निकै दुःख पाएकी शुभ श्रेष्ठको भौतिक शरीरलाई शान्ति मिलेको छ । उनको वैकुण्ठ वासको कामना गर्दछु’ भनी शुभ श्रेष्ठ लाई बाल्यकालदेखि नै चिन्दै जान्दै बुझ्दै आउनु भएकी समाजसेवी राधा भारतीले बताउनु भयो । पाल्पा जिल्ला तानसेन ठाडोगल्ली निवासी पिता मुक्तिप्रसाद श्रेष्ठ र माता लक्ष्मी कुमारी श्रेष्ठकी काहिली सुुपुत्री शुभ श्रेष्ठको जन्म वि.सं. २००६ साल कात्र्तिकमा भएको हो । मोहनकन्या स्कूलमा कक्षा दश सम्मको अध्ययन गरी शुभ श्रेष्ठ ले जनता स्कूलबाट एस.एल.सी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट प्रमाण पत्र र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातक र विशिष्टिकरण नेपाली विषय लिई कलाचार्यको स्नातकोत्तर तह उत्तीर्ण गरेकी थिइन् । प्रारम्भमा तात्कालीन भगवती स्थान प्रा.वि., सेन मा.वि. र प प नमूना मा.वि. मा शिक्षण सेवामा संलग्न रही वि.सं.२०३१ सालमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सहायक भण्डारपालको रुपमा त्रि.वि. सेवामा प्रवेश गरी वि.सं.२०६५ मा सहायक प्रशासकको रुपमा कार्यसम्पादन गर्दै सेवानिवृत्त भएकी थिइन् । शुभ श्रेष्ठको विवाह काठमाण्डौँ नरदेवी निवासी देवीलाल श्रेष्ठसँग भएको थियो । देवीलाल श्रेष्ठ नेता पुष्पलाल श्रेष्ठ र सहिद गंगालाल श्रेष्ठका सरोहर भाइ थिए । प्रजातन्त्रका सेनानी समेत रहेका देवीलाल श्रेष्ठ सह प्रध्यापक र पूर्व क्याम्पस प्रमुख समेत भएका थिए । वि.सं.२०५७ साल फाल्गुनमा देवीलालको स्वर्गारोहण भए पच्छात शुभ श्रेष्ठले एकल जीवन व्यतीत गर्दै आएकी थिइन् । ‘नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै ६ वटा कृतिहरु प्रकाशित गरीसक्नुभएकी पाल्पा साहित्य समाजकी संस्थापक सदस्य शुभ श्रेष्ठ दिदीको निधनले नेपाली साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ’ भनी पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले बताउनुभएको छ ।

श्रीमान देवी लाल श्रेष्ठको साथमा ।

विद्यार्थी जीवनदेखि नै कविता लेख्न र सुनाउन हुरुक्कै हुने शुभ श्रेष्ठले वि.सं २०१८ साल वैशाख महिनामा रविन्द्रनाथ टैगोरको शतवार्षिकी समारोहमा नेपाल भारत साँस्कृतिक केन्द्र पुस्तकालयले आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेकी थिइन् । नाटक ध्रुव, सत्यवान सावित्री, राजा हरिश्चन्द्र आदिमा उत्कृष्ट नाटक अभिनय गरेकी शुभ श्रेष्ठले तत्कालीन राजा वीरेन्द्रको सामुन्ने उपस्थित भएर प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा आयोजित कविता महोत्सवमा कविता सुनाएकी थिइन् । नेपाली साहित्यको विकास, संरक्षण र सम्वद्र्धनका लागि पाल्पाबाट पनि केही गर्नुपर्छ भन्ने उद्देश्य लिई सिर्जनशील पाल्पाली श्रष्टाहरु मिलेर शुभ श्रेष्ठकै अध्यक्षतामा पाल्पाली सेवा संगम (२०३८) गठन भएको थियो । उनी कोपिला साहित्य परिवारको सल्लाहकार समेत रहिन् । पाल्पा साहित्य समाज (२०५१) को संस्थापक सदस्य भएर उनले काठमाण्डौँ प्रतिनिधीको रुपमा साहित्यिक अभियानलाई व्यापीकरण गर्दै लगिन् । पाल्पा, पोखरा, काठमाण्डौँ लगायत विभिन्न स्थानमा कविता वाचन गर्दै हिडेकी शुभ श्रेष्ठको पहिलो कविता संग्रह मेरो छाना माथिको नीलो आकाश (२०३४) प्रकाशित भयो ।

पाल्पा साहित्य समाजद्वारा आयोजित सम्मानित कार्यक्रममा सहभागी हुँदै गर्दा ।


यसपछि क्रमशः दास्रो कविता संग्रह बन्द मनको पिंजडाभित्र (२०५४), नारी चरीत्र प्रधान उपन्यास अस्मिताको खोजी (२०५९), शिवशक्ति बाबा कालिदास धाम : एक झलक (२०६९), सुमती उपन्यास : एक चर्चा परिचर्चा (२०७०) र धार्मिक नियात्रा संग्रह मधुवन (२०७६) प्रकाशित भएका छन् । स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका पत्रपत्रिका एवं साहित्यिक संगालो हरुमा उनका लेख रचना कविता नियात्राहरु प्रकाशित भएका छन् । Selected Modern Nepali Poems "Dancing Soul of Mount Everest" मा शुभ श्रेष्ठका दुईवटा अंग्रेजी कविताहरु समेत प्रकाशित भएका छन् । गद्दी आरोहण रजत महोत्सव पदक (२०५३) त्रि.वि. दीर्घसेवा पदक (२०५७), छविलाल नेपाल पाल्पाली प्रतिभा पुरस्कार (२०६२), सेडाद्वारा सम्मानपत्र (२०६२), कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कार (२०६६), इन्द्रराधा भारती प्रतिभा सम्मान (२०७१), विश्वनारी नेपाली साहित्य सम्मान  (२०७१), कविता साहित्य सम्मान (२०७३) प्रशासनिक सम्मान (२०७१), कविता साहित्य सम्मान (२०७३) प्रशासनिक महिला प्रतिभा सम्मान (२०७३), पशुपति कोटी होम महामहोत्सव सम्मान (२०७४), पाल्पाली संगम काठमाण्डौँ साहित्य विभागद्वारा सम्मान (२०७६) लगायतका पुरस्कार तथा सम्मानपत्रद्वारा शुभ श्रेष्ठको अभिनन्दित गरी उच्च मूल्यांकन सहित उनको योगदानको कदर गरिएको छ । पाल्पा साहित्य समाजद्वारा प्रकाशित साहित्यकार शुभश्रेष्ठ संक्षिप्त परिचय अर्पण पुस्तक विमोचनको संघारमा उभिएको छ । शुभ श्रेष्ठ कविता संग्रह मेरो छानामाथिको नीलो आकाश मार्फत मानवतावादी कवयित्रीको रुपमा उपस्थित भएकी छिन् । कविता संग्रह बन्द मनको पिंजडाभित्रबाट कतै यथार्थवादी र कतै जीवन दर्शनवादी कवयित्रीको रुपमा देखा परेकी छिन् । उपन्यास अस्मिताको खोजी मार्फत सामाजिक यथार्थपरक मनो विश्लेषणवादीको उपन्यासकारको रुपमा स्थापित भएकी छिन् ।

मधुवन कृति विमोचन समारोहमा उपस्थित ।

शिवशक्ति बाबा कालिदास धाम : एक झलक र मधुवन कृति मार्फत निबन्धकार एवं आत्यात्मिक नियात्राकारको रुपमा प्रतिस्थापित भएकी छिन् । रुपमती र सुमती माथि समन्वय प्रतिपादित गर्दै तुलनात्मक रुपमा एउटै कृति माथि औपचारिक समीक्षा लेख्ने शुभ श्रेष्ठ सुमती उपन्यास : एक चर्चा परिचर्चाको माध्यमबाट समीक्षकको रुपमा स्थापित भएकी छिन् । नेपाली साहित्यको श्रीवृद्धिका लागि निरन्तर लागि रहने कवि, कथाकार, नियात्राकार, उपन्यासकार, समीक्षक शुभ श्रेष्ठ पाल्पाबाट उठेर राष्ट्रियस्तरमै स्थापित बहुमुखी प्रतिभा भएकी साहित्यकार हुन् । उनी मानवतावादी, जीवन दर्शनवादी, यथार्थवादी, राष्ट्रवादी, स्वछन्दतावादी, नारीवादी साहित्यकार हुन् । उनी भागीरथी श्रेष्ठ, कुन्दन शर्मा, पदमावती सिंह, वानिरा गिरी लगायतका सहकर्मी राष्ट्रिय नारी प्रतिभाहरुकै हाराहरीमा उभिएकी सशक्त नारी हस्ताक्षर हुन् । वैयक्तिक, पारिवारिक, सामाजिक एवं कार्यगत समस्याका वाबजूद पनि वाङ्मय वागमा अहनिर्ष समर्पित साधनारत साहित्यकार शुभ श्रेष्ठ वि.संं. २०७७ साल भाद्र ८ गते सोमबारका दिन दुवै मिर्गौला समस्याबाट उच्च व्याधि ग्रस्त भई काठमाण्डौँमा उपचाररत रहँदा रहँदै यस लोकबाट परलोकमा सधैँको लागि महाप्रस्थान गरिन् । आदरणीय दिदी साहित्यकार शुभ श्रेष्ठमा हार्दिक श्रद्धाञ्जली ! परिवारजनमा समवेदना !

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update