सुदिप चन्द्र पौडेल
गाउँ, गाउँबाट उठ
बस्ती, बस्तीबाट उठ
यो देशको मुहार
फेर्नलाई उठ
यो गीत प्रख्यात संगीतकार,गीतकार रमेश श्रेष्ठको हो । यो गीत हामी सानो छँदा सुनेको हो,जुन बलिदान चलचित्रको हो । यस गीत हिजो धेरै वर्ष पछि सुन्ने रहर जाग्यो, सुनेपछि ममा एक किसिमको सकारात्मक उर्जा आयो र यही विषयमा कलम चलाउन मन लाग्यो । मेरो बाल्यकालमा पनि यस गीतका शब्दहरू त्यसताकाको हाम्रो देशको परिवेश, परिस्थितिको खिलाफ र सुहाउँदो थियो र आज पनि यो गीत आजको आधुनिक हाम्रो नेपाली समाजको परिवेश र परिस्थितिको खिलाफ छ र सुहाउँदो पनि छ । माथि उल्लेखित गीत सम्पूर्ण पाठकवृन्द, विशेष गरी अहिलेका युवायुवतीलाई एक चोटी सुन्नुहुन अनुरोध गर्न चाहन्छु । हामी नेपालीहरू विशेष गरी युवा वर्गहरूले हाम्रो देशलाई देश प्रेम गर्नु अति आवश्यक छ । नेपाल छ त, हामी नेपाली छौं, अन्यथा हाम्रो पहिचान छैन्, सबैभन्दा ठूलो कुरो मानिसको आफ्नो स्वःपहिचान हो । अहिलेको परिवेशमा, यस संक्रमणकालीन, संकटको घडीमा एकजुट हुनु पनि छ । सामाजिक दुरी पनि कायम गर्नुछ । जसले जहाँबाट जे गर्न सकिन्छ, त्यो गर्नु अनिवार्य ठहर्छ यस संक्रमण कालमा । संघीय, प्रादेशिक तथा स्थानीय सरकार माहतका सरकारी जनशक्तिका, सुरक्षाकर्मीका, स्वास्थ्यकर्मीका आ–आफ्नै काम, कर्तव्य र अधिकारहरू छन् । यसै गरी हामी सर्वसाधारण जनताका पनि आफ्नै काम,कर्तव्य र अधिकारहरू छन् । हामीहरू पनि आ–आफ्नो जिम्मेवारीबाट टाढा भाग्नु हुँदैन ।
सोचौं, एक फेर गम्भीर भई, अब गम्भीर हुने समय आईसक्यो । एकातर्फ कोरोनाको कहर, अर्काेतर्फ लकडाउन, सिमा अतिक्रमण, माथिल्लो निकायदेखि तल्लो निकायसम्म भ्रष्टाचारको जरो, युवायुवतीहरूमा रोजगारीको समस्या, सानादेखि ठूला उद्योग व्यावसायहरू धरायसीको समस्या, व्यापारीहरू पलायनको समस्या, राज्यको ढुकुटीमा सत्ताधारी पक्षको हारालुछको स्थिती, कुर्ची हत्याउन लागिपर्ने फोहोरी राजनीतिक खेल, प्रतिपक्ष राजनीतिक दलहरूका विभिन्न नकारात्मक टिप्पणीहरू । उफ् सम्झदा पनि दिक्क लाग्ने ।
हामी नेपाली जनताको विचारमा यतिबेला सरकार र सरकारी दलका नेता कार्यकर्ताहरू एक ढिक्का भएर कोरोना महामारीका विरूद्व जनताको सेवामा खटिनुपर्ने हो । यस विपद्को बेलामा बिचौलियाहरूबाट सावधान रहेर कतै, कुनै भ्रष्टाचार हुन नदिई जनतामा राहत र उपचार व्यवस्था पु¥याउन सक्नुपर्ने हो, सरकारले । खै अहिलेसम्म त्यस्तो त देख्न पाईएको छैन । आमजनता यतिबेला महामारीले लखेटिएका छन् । साथै चौतर्फी महंगी, अभाव र समस्याहरूबाट लखेटिएका छन् । सत्तासिन दलमा आसिन कमरेडहरू आ–आफ्ना दुना सोझ्याउन बेफुर्सदी, सत्ता र कुर्सीको लुछाचुडी मै व्यस्त । कोरोनाको यस महामारीको अवस्थामा हामी सारा नेपालीहरूका निमित्त ठूलो समस्या र चुनौती थपिएको छ । यो हामीले कदापी नभुलौ, जहाँ समस्याहरू छन्,त्यहाँ अवसरहरू पनि छन् राम्रा काम गरेर देखाउनका निम्ति । ठाउँ, ठाउँमा कोरोना संक्रमितहरू धेरै देखिएका छन् ।
प्रदेश नं.१ र २ मा त संक्रमण दर त निकै धेरै देखिएको छ । अरू प्रदेशहरूमा पनि यो दर बढ्ने क्रममा छ । सम्पूर्ण नेपाल पुनः लकडाउनको घेराबन्दीमा परिराखेको छ । यति बेला सम्पूर्ण नेपालीहरू नै आक्रान्त बनेका छन् । ठाउँ, ठाउँमा पिसिआर परीक्षण भईराखेको पाईन्छ । तर नतिजा नेगेटिभ आएपनि यो भुल्नु हुँदैन कि कोरोनाको कहर समाप्त भयो, यो ख्याल राख्नुपर्छ कि कोरोना हामी माझमा नै छ । आफुलाई सर्तक राख्नुपर्ने हुन्छ साथै आफ्नो परिवार तथा सिङ्गो समुदायलाई पनि सर्तक पार्ने आफ्नो उत्तरदायित्व भुल्नुहुँदैन । यति बेला सि·ो विश्वमा नै अन्योलको वातावरण सिर्जना भएको छ, अब यसको उपचार तथा निर्काेल के छ भनेर ? एउटा अभिभावकको कोणबाट हेर्दा सरकारले समयमा ध्यान नदिएको लाग्नु स्वभाविकै हो । यस्तो बेलामा हरेक अभिभावकका लागि हरेक सेकेण्डको अर्थ रहन्छ । सरकारले चीनका सबै उडानहरू रद्द भएको बेलामा पनि आफ्नै जहाज पठाएर उनीहरूको उद्दार गरेको थियो । क्वारेन्टाइन व्यवस्थापनका लागि समेत करोडौ रूपैयाँ खर्च गरिराखेको छ । त्यसैले ढिलै भएपनि नागरिक प्रतिको उत्तरदायित्व पूरा गर्न सरकार सफल भएको छ । सरकारका पक्षमा यति शब्दहरू खर्च गरिरहँदा दुईवटा पक्षमा भने फेरि पनि प्रश्न गर्नुपर्ने अवस्था कायमै छ । चीनमा रहेका नेपालीहरू आफ्नै दिदीबैनी, दाजुभाई न थिए । उनीहरूको जीवन रक्षामा सरकारले गरेका प्रयत्नमा स्थानीय नागरिक र स्थानीय सरकार सकारात्मक हुनुपर्ने थियो तर त्यो अवस्था देखिएन । स्थानीय सडकदेखि सदनसम्म यसको विरोध भयो । राजनीतिक रूपमा बुझ्न सकिने कुरा के हो भने दलहरू र स्थानीय सरकारमा रहनेहरूले भोटको राजनीति गरे तर स्थानीय नागरिकहरू राज्यले दिएका आश्वासन प्रति आश्वस्त हुन सकेनन् ।
राज्यका सूचना संयन्त्र र निजी क्षेत्रका मिडियाले समेत सरकारको काममा विश्वास दिलाउन सकेनन् । कतिपयले त आगोमा घिउ थप्ने प्रयत्न समेत गरे । एउटा संवेदनशील विषयमा देखिएको संवेदनहिनता माथि प्रश्न गर्ने कुरा आफ्ना ठाउँमा छ तर एउटा जननिर्वाचित सरकारले गरेका निर्णय प्रतिको नागरिक अविश्वास उसका लागि ठूलो चुनौती हो । आजको प्रश्न, क्वारेन्टाइनमा खटाईने सुरक्षाकर्मी तथा चिकित्सकहरू केवल नेपाल सरकारको मातहतका सेवा गरेका तथा सुरक्षा निकायमा काम गर्नेहरू मात्र देखिए । के सरकारका अरू स्वास्थ्य प्रतिष्ठानमा काम गर्ने वा निजी क्षेत्रका अस्पतालमा काम गर्नेहरूले सरकारलाई असहयोग गरेकै हुन् त ? वा जुन खालको रोगका विषयमा क्वारेन्टाइन हुँदैछ, उनीहरू त्यसका जानकार वा विज्ञ नभएर नै हो र ? सरकारले सुरक्षा निकायका विज्ञहरूसँगलाई मात्र विश्वास गरेको हो ? यो चासो आम नागरिकमा भने जिवितै छ । सरकारले फेरि पनि विश्वास दिलाउन आवश्यक छ कि क्वारेन्टाइनमा रहेका व्यक्तिबाट त्यस आसपासका नागरिकहरूमा संक्रमणको कुनै गुञ्जायस रहँदैन ।
सरकारले यस्ता सूचनाहरू प्रवाहका लागि, उचित संयन्त्रको अधिकतम प्रयोग गर्न आवश्यक छ । अर्को सन्दर्भ विश्वका ठाउँ–ठाउँमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी माथि हमला, आर्कमणको समाचार मिडियामा आइराखेका छन्, जुन ज्यादै निन्दनीय छन्, त्यसको घोर भत्सर्ना गर्नुपर्ने हुन्छ । जो हाम्रा निमित्त रातदिन नभनेर अविरल रूपमा खटिएका छन्, तिनीहरूका पनि आफ्नै व्यक्तिगत जीवन छन्, कृपया उहाँहरूलाई अपमान नगरौ, यस्ता अप्रिय घटनाहरू पुनः नदोहोर्याउ, तिनीहरू त हाम्रा लागि front line warriors हुन्, तिनीहरूलाई सदैव सम्मान र सलाम छ । (लेखक आरटी नेपाल, फाउन्डेसनका फाउन्डर समेत हुन् ।)