राम कार्की
जननायक विश्वेश्वरप्रसाद कोईराला २०३३ साल पुस १६ गते भारत निर्वासन त्यागेर स्वदेश फर्कनु भएको दिनलाई नेपाली कांगे्रसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । वीपी कोईरालाले स्वदेश फर्केने निर्णय गर्दा उहां माथी आठ वटा संघिन प्रकृतिका मुद्दा अदालतमा दायर गरिएको र ती मध्ये कुनै पनि मुद्दामा पराजय भएको खण्डमा फाँसीको सजायसम्म हुन सक्दथ्यो । आफ्नो ज्यानै जान सक्ने जोखिम, नेपाली कांग्रेसले प्रजातन्त्र पुनः स्थापनाका लागि गरेको संघर्ष सफल पार्नु पर्ने चुनौती, सशस्त्र संर्घषमा हजारौ सपुतहरुको बलिदानी, वीपी कोईरालाका निकटतम सहकर्मी नेताहरुबाट प्रारम्भमा स्वदेश फर्कन नहुने सल्लाहका बाबजुद उहाँले स्वदेश फर्कने आफ्नो सोंचमा अडिग रही समसामयिक राजनीतिमा राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको महत्व र गाम्भिर्यताको बोध गराएर सिंगो पार्टी पंक्तिलाई मेलमिलापको नीति अबलम्बन गर्न सहमत गराउन सफल हुनु भयो । यसरी नेपाली कांग्रेसले आफ्नो संघर्षको नीति परिर्वतन गरी शान्तिपूर्ण आन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना गर्ने नीति अख्तियार गर्याे, जुन नेपालको राजनैतिक आन्दोलनको इतिहासमा अहिलेसम्म प्राप्त उपलब्धीको प्रस्थान विन्दु रहेको पुष्टी भइसकेको छ । तसर्थ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका सन्दर्भमा यो लेखमा यसवारे संक्षिप्त प्रकाश पार्ने जमर्काे गरिएको छ ।
वि.सं. २००७ सालमा नेपाली कांग्रसको नेतृत्वमा भएको क्रान्तिले निरँकुस राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापना गर्न सफल भयो । यो क्रान्ति सम्पन्न भएसँगै आम नेपालीमा यो देश हाम्रो हो यस देश प्रति हाम्रो पनि दायित्व छ भन्ने राष्ट्रियताको भावना जागृत भएको थियोे । तर त्यसपछिका दिन भने लोकतन्त्रका निम्ति अनुकुल रहेनन् । विभिन्न राजनीतिक उतारचढाव, आन्दोलनका बीच २०१५ सालमा सम्पन्न संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत हासिल गरी देश र जनताको हितमा जुटेकोमा २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले प्रजातान्त्रिक पद्दतिको गला घोट्ने दुस्साहस गरी मुलुकलाई अध्यारो दिशामा धकेलेका थिए । त्यतिबेला जननिर्वाचित प्रधानमन्त्री वीपी कोईराला समेतका नेताहरुलाई बन्दी बनाएर जनताको मुख थुन्ने काम भयो । वीपी कोइराला करीब ८ वर्ष काराबास थुनामा परेपछि २०२५ सालमा रिहा हुनु भएपछि प्रतिकल स्थितिका कारण भारत निर्वासनमा बस्न थाल्नु भयो ।
प्रवासमै रहदा वीपी कोइरालाले शसस्त्र संघर्षका लागि आÞवान गर्दै २००७ सालको उपलब्धी पुनःस्थापना गर्ने प्रयास गर्नुभयो । त्यत्तिबेला भारतमा इन्दिरा गान्धीको सरकारले संकटकाल लगाएर विपक्षी उपर धरपकड र कैयौ नेताहरुलाई नजरबन्द गरेको, सिक्किमको भारतमा विलय, बंगालादेशमा राष्ट्रपति मुजिबर रहमानको हत्या भएको आदि घटनाक्रमहरुवाट दक्षिण एशियामा अस्थिरता बढदै गएको थियो । यसरी राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाक्रम, बढदो अस्थिरता प्रभावबाट नेपाल पनि अछुतो रहन नसक्ने र त्यसबाट नेपालको अस्तित्व संकटमा पर्न सक्ने आशंका गर्दै राष्ट्रिय एकता मजबुत हुन आवश्यक रहेको विश्लेषण सहित वीपी कोइरालालले निर्वासन त्यागेर स्वदेश फर्कने निर्णय लिनुपरेको भनी वीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति अबलम्बन गर्न सबैलाई राजी गराउनु भएको पाइन्छ । यसप्रकार विभिन्न राजनैतिक उतार चढाव भोगेका वीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि स्वदेशमै बसेर शान्तिपूर्ण राजनीतिक आन्दोलन चलाउनु पर्ने निष्कर्षमा पुग्नु भएको देखिन्छ ।
वीपी कोईरालाले स्वदेश फर्कने चाहना राखेको सन्दर्भमा प्रवासमा रहेका सहकर्मी, नेपालमै रहेका कृष्ण प्रसाद भट्टराई, पार्टी निकट बुद्धिजिवी सबैसँग पत्राचार, भेटघाट गरी छलफल गर्ने, सम्झाउने, परिस्थिती बुझाउने तर्फ प्रयास भएको थियो । यसक्रममा सबैजसो सहकर्मी नेता, तरुणहरु, सबैले वीपी कोईरालाले चाल्न लागेको कदम प्रति विमती जनाउँदै आत्मसर्मपणको बाटो भनी संज्ञा दिएतापनि राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय परिस्थिती र नेपालको राष्ट्रियता माथि पनि खतरा उत्पन्न भएको विश्लेषणात्मक तर्क प्रस्तुत गर्दै स्वदेश फर्कने निर्णय आत्मसर्मपण नभएर संघर्षको नयाँ मार्गका रुपमा परिभाषित गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई राष्ट्रिय एकता र मेलमिलापको नीतिको मार्ग अवलम्वन गर्न र ज्यानको बाजी लगाएर पनि स्वदेश फर्कन सहमत गराउन वीपी कोईराला सफल हुनु भएको थियो । अन्ततः २०३३ पुस १४ गत भारत पटनामा पत्रकार सम्मेलन गरी नेपालमा राष्ट्रिय एकताको अभाब रहेकोले देशको राष्ट्रिय अस्तित्व संकटमा रहेको, विदेशी तत्व कुचक्र चलाउन र अन्तर्राष्ट्रिय षड्यन्त्रका अखडा बनाउन सफल हुन थालेको दर्साउदै संकटको घडीमा मतभिन्नता विर्सेर एकताको शुत्रमा बाँधिनु पर्ने भनी अपिल गर्दै राष्ट्रिय एकता र मेलमिलापको नीति नेपालको राजनीति वृत र आमजनता माझ ल्याइएको थियो । सोही अनुरुप पुस १६ गते वीपी कोइराला, गणेशमान सिंहहरु नेपाल फर्कनु भएको थियो ।
वीपी काईरालाले राष्ट्रिय एकताका लागी राष्ट्रवादी शक्ति बिचको मिलन विन्दु खोज्दै र मुलुकको राजनीतिक निकासका लागि सहज वातावरण बनाउने उद्देश्य राखेर स्वदेश फर्केको भएतापनि उहाँहरुलाई विमानस्थल बाटै पक्राउ गरी राजनीति निकासको ढोका बन्द गर्ने दुस्प्रयास भएकै हो । यधपी नेपाली काँग्रेसका नेताहरुको स्वदेश आगमन र मेलमिलाप नीतिले देशका कुनाकाप्चा सम्म लोकतन्त्रका पक्षमा जागरण छाउँदै गएको र त्यसबिच तत्कालिन राजा जनमत संग्रह घोषणा गर्न बाध्य भए ।
जनमत संग्रह प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलन अगाडी बढाउन पहिलो सिढी बन्न पुग्यो । अन्ततः नेपालको राजनीतिमा शान्तिपूर्ण आन्दोलननै लोकतान्त्रिक संघर्षको मूल नीति बन्न पुग्यो । दक्षिणपन्थी र वामपन्थी शक्ति पनि शान्तिपूर्ण आन्दोलनको मार्गमा हिड्न सहमत भए र लोकतान्त्रिक आन्दोलनले नयां कोर्ष लियो । नेपाली कांग्रेसको नेतृत्वमा शान्तिपूर्ण रुपमा भएको २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन सफल भई नेपालको सार्वभौम र राजकिय शक्ति नेपाली जनतामा निहित गराउन सफल भयो । यो सात दशक लामो लोकतान्त्रिक संघर्षकै उच्चतम सफलता हो । तसर्थ राष्ट्रिय एकता तथा मेलमिलाप नीति लोकतान्त्रिक संघर्षका निम्ति सही मार्गदर्शक सिद्ध भएको छ ।
पछिल्ला दिनमा क्षेत्रीय, अन्तर्राष्ट्रिय शक्तिहरुको नेपाल प्रति बढ्दो चासो, दृष्टिकोण र व्यवहार, छिमेकी मित्र राष्ट्रहरु संगका समस्याका सन्दर्भमा नेपाली जनता र राष्ट्रवादी शक्तिहरु चिन्तित देखिनु जायज छ । नेपालको राष्ट्रिय अखण्डता र अस्तित्व जोगाउन, राष्ट्रिय स्वार्थको रक्षार्थ तथा जनताको हितका निम्ति राष्ट्रवादी शक्ति वीच राष्ट्रिय एकता बलियो हुन अपरिहार्य छ । यही एकताको वल र जगमा नै जुनसुकै शक्तिले उत्पन्न गर्ने समस्या र अवरोधको सामना गर्न नेपाल सक्षम हुनेछ । तसर्थ राष्ट्रिय एकता र मेलामिलाप दिवसका अवसरमा मुलुकको अखण्डताको रक्षा र जनताको लोकतान्त्रिक अधिकार संस्थागत गर्न राष्ट्रवादी शक्ति एकजुट हुने प्रण गरौ, यसैमा नेपाल र नेपाली जनताको भलो हुनेछ । जय नेपाल ¤
(लेखक नेपाली काँग्रेस क्षेत्र नम्बर २ प्रदेश (ख) पाल्पाका प्रदेश सांसदका उम्मेदवार समेत हुन् ।)