सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी आज विश्वकर्मा दिवस मनाइँदैछ । विषेशगरी वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । आजको दिनमा आफुसंग भएको फलामे औजार र कलकारखानाहरुको बिहानै उठेर नुहाई धुवाई गरी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रङ्गीबिरङ्गी बनाई पुजाआजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको मानिन्छ ।
यस दिन कलकारखानामा रङ्गीचङ्गी पार्नुका साथै विशेष पूजा गर्ने गरिन्छ । फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनविश्वास रहेको छ । धार्मिक रुपमा फलामलाई लामोसम्म टिक्ने भनिएता पनि वैज्ञानिक रुपमा भने यसको त्यत्ति प्रभावकारिता देखिदैनन् । लामो समय भएका फलामबाट निर्मित सवारी साधनहरु भने मानवीय रुपमा त्यत्ति लाभदायिक देखिदैनन् । सवारी साधनका इञ्जिनहरु पुराना हुँदै जाँदा फलाम खिइदै जान्छ जसका कारण सवारी दुर्घटना हुनुको साथै वातावरण समेत प्रदुषित हुने गर्दछ । तर मानिसले फलामको आयु लामो समयसम्म रहोस् भन्ने कामना गर्दछन् । हरेक वर्ष फलामको पूजा गर्ने प्रचलनलाई धार्मिक आस्थासँग जोडेर हेर्ने गरिन्छ । विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् । यस दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । भारतीय संस्कृति अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्वम दिवसका रूपमा मनाउने गरिन्छ । यो उत्पादन वृद्धि र राष्ट्रिय समृद्विका लागि एक संकल्प दिवस पनि हो । विश्वकर्मा पूजाका रूपमा सरकारी, गैर सरकारी इञ्जिनियरिङ्ग संस्थामा धेरै नै हर्षलासका साथ मनाइने गरिन्छ । यस वर्ष भने कोभिड १९ का कारण विश्वकर्मा पुजा पनि त्यत्ति हर्षउल्लास नहुने देखिएको छ ।