कोरोना भाइरसका कारण ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र र सेवा खुल्न थालेका छन् । सडक बजारमा चहलपहल बढेको छ । कोरोनाको जोखिम कम नभए पनि जनजीवन र आर्थिक गतिविधि सामान्य बनाउन भन्दै सरकारले बिहीबारदेखि बजार, पसल, सार्वजनिक गाडी खुलाएको छ । विद्यालय, मनोरञ्जनस्थल, धार्मिक र सांस्कृतिक गतिविधि, भोजभतेर र जमघटबाहेक धेरै क्षेत्र खुला भएका छन् । यसबाट संक्रमण झनै बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने भएको छ । निषेधाज्ञा गर्नुअघिको अवस्था भन्दा अहिले कोरोना संक्रमण दोब्बर बढेको छ । अब व्यक्ति–व्यक्ति र परिवार तथा समुदायले संक्रमणबाट थपिने जोखिम कम गर्न थप सतर्कता अपनाउन जरुरी छ । स्वास्थ्यसम्बन्धी मापदण्ड कडाइका साथ पालन गर्ने, अत्यावश्यक अवस्थामा बाहेक आउ–जाउ नगर्ने र घरबाहिर ननिस्किने उपाय नै रोग फैलन नदिने मुख्य विधि हो । आरम्भमा जे–जति राहत बाँडियो, त्यसपछि राज्यले आफूसँग यस्तो राहतका लागि स्रोत परिचालन गर्ने क्षमता नभएको भन्दै हात ठड्याएको अवस्था छ । यति नै बेला देशका धेरै जिल्लाहरुले संक्रमणको उच्च दरको सामना गरिरहेका छन् ।
यो लकडाउन खुलेको एक–दुई दिनको परिणाम मात्र हो, अब थप व्यवसाय खुलेसँगै देशभरका जनताको आउ–जाउ हुने र एक ठाउँको संक्रमण अन्य क्षेत्रसम्म विस्तार हुने पक्का छ, जसले झन जोखिम बढाउने निश्चित छ । जोखिम कम नभए पनि धेरै क्षेत्र खुला भएपछि व्यक्ति आफैंले कोरोनाबाट बच्ने उपाय खोज्नुपर्ने विज्ञको सुझाव छ । धेरै मानिसमा घर बाहिर निस्केको बेलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैले सकेसम्म घर बाहिर ननिस्कनु नै संक्रमणबाट बच्ने राम्रो उपाय हो । बाहिर निस्कँदा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । सकेसम्म भिडभाडमा जानु हुँदैन । बाहिर निस्कँदा पनि सबैलाई शंकाको भावले हेर्दा व्यक्तिगत दूरी लगायतका सावधानी अपनाइने हुँदा कोरोना सक्रमणबाट जोगिन सकिन्छ । तसर्थ हिजोका दिनहरु भन्दा आज र भोलीका दिनहरु झन जोखिम हुँदै गएकाले यस तर्फ थप सतर्क बन्न जरुरी छ ।