पुष्कर अथक रेग्मी
‘एकदिनको कुरो हो काठको घरको माथिल्लो तलामा बसेर कोठाको झ्यालबाट बाहिर हेरिरहेको थिए । आँगनमा परेवा चारो चरिरहेका थिए । तिनीहरु घरी भुर्र उड्थे, घरी गोठको छानामाथि गएर बस्थे, घरी चारो टिप्न भुईमा झर्थे । यही परेवालाई देखेर शुरु भयो कवि बन्ने यात्रा । दश वर्षकी थिएँ होला, परेवाको कविता लेखेर सुनाए सबैलाई ।’
दश वर्षकै उमेर देखि कविता लेख्दै र सुनाउँदै आएकी कवि शुभलक्ष्मी लम्साल इटहरी सुनसरी निवासी माता पदमा लम्साल र पिता सतिशचन्द्र शर्माकी सुपुत्री हुन् । एम.ए नेपाली उत्तीर्ण गरेकी शुभ मोतिराम राष्ट्रिय साहित्य प्रतिष्ठानकी उपाध्यक्ष रहेकी छिन् । South Asian Literature Festival (2017) नयाँ दिल्लीमा समेत सहभागी रहेकी शुभले वाणी नव प्रतिभा सम्मान (२०६६), भानुभक्त आचार्य दिशतवार्षिकी समारोह समितिबाट प्रशस्तीपत्र र स्वर्णपदक (२०७१), डा.नरेन्द्र चापागाई युवा प्रतिभा पुरस्कार (२०७३), झोराहट साहित्य सम्मान (२०७५) लगायतका पुरस्कार एवं सम्मानहरु प्राप्त गरिसकेकी छिन् । संयुक्त गजल संग्रह पूर्वाञ्चलका नारी (२०६७) र एकल कविता संग्रह प्रकम्पित उज्यालो (२०७२) उनका प्रकाशित कृतिहरु हुन् ।
जिल्ला विकास समिति मोरङबाट लेखनवृत्ति (२०७०/०७१) प्रदत्त कृतिको रुपमा प्रकाशित कवि शुभलक्ष्मी लम्सालद्वारा लिखित कविता संग्रह प्रकम्पित उज्यालो भित्र चालीस वटा कविताहरु संग्रहित रहेका छन् । कविता संग्रह संसार बदल्ने असल मनहरुलाई समर्पण गरिएको छ । मेथ्यु आर्नल्ड भन्छन्, ‘‘कविता जीवनको समालोचना हो’’ जीवनका उतारचढावहरुलाई कविता बनाएर हिडेकी शुभलक्ष्मी नेपाली वाङमयको क्षेत्रमा एक भर्भराउँदी नारी कवयित्री हुन् । उनी एक यात्री हुन् । सुमन पोखरेल संग्रहका लागि शुभकामना लेख्दै भन्छन्, ‘‘शुभलक्ष्मी लम्सालका धेरै कविता निश्चित यात्रा तय गरेर सङ्लीसकेका नदी जस्ता लाग्छन् । उनका विभिन्न कविताले उनलाई एक सर्जकका साथसाथै कलाकारको रुपमा स्पष्टसँगले देखाएका छन् ।’’
कविता संग्रहभित्र हाँस्न र बाँच्नका लागि कारण, ‘चरा र केटाकेटी’ शीर्षकको कवितामा खोजिएको छ । ‘समर्पित तिमीप्रति’ कविता केवल तिमीमै तिमीमा सम्प्रेषित रहेको छ । ‘तस्विर’ कविताले झलझली आँखामा कसैको याद दिलाइरहेको छ । ‘बहुला बस्तीमा म’ शीर्षकको कविताले सामाजिक बहुलाहरुप्रति तिखो व्यंग्य प्रहार गरेको छ । ‘छोरी र देश’ कविताले सशक्तीकरणको आवाज बुलन्द गरेको छ । ‘छोडी जानेलाई’ कविताले छाया बनेर झनै पछ्याइरहने यथार्थतालाई स्वीकार गरेको छ । ‘फूल मन पर्दैन’ कविताले हर कोमलपनलाई कठोर हुन सिकाएको छ । ‘झरीपछिको माटो’, कविताभित्र माया ममता यौवन रहर र मातृवात्सल्यता खोजिएको छ ।
जस्तो लेखिएको छ त्यस्तै भोग्नुपर्ने र हुने हुनामी टारेर नटर्ने कटु सत्य ‘जीवनको लेखामा’ प्रस्तुत गरिएको छ । ‘कुहिराको घर’ कविता ले भगवान र परीहरु मिथक रहेको कुरा प्रष्ट्याएका छन् । हार्दाहार्दै पनि जितेको मान्छेको मर्म ‘कलाकार’ कवितामा पाइन्छ । ‘मेरी आमा’, ‘निर्वेध’ र ‘कर्तव्य’ कविताले आमालाई सर्वश्र्व मानेको छ । ‘मृत्यु’ कवितामा हामी जन्मदा मृत्यु मुस्कुराईरहेको हुन्छ भनी भावपूर्ण प्रस्तुती रहेको छ । ‘दशै’ले संस्कृति संरक्षण गर्दै विजयोत्सवको उद्घोष गरेको छ । शंखनाध गरी युद्व छेडिए जस्तै ‘शब्दनाद’ कविताले विध्वंसहरु शब्दबाट नै शुरुवात भइदिन्छन् भन्ने तर्क उजागार गरेको छ । ‘धनकुटा’ कवितामा लुटुपुटु गरी लैबरी खेलिएको छ । ‘सोध’ कवितामा थरिथरिका पीडाहरुको अनुत्तरित प्रश्नहरुका उत्तर खोजिएका छन् । ‘तिर्खा’ कविताले मान्छे एक्लो रहन सक्दैन, अरुको साथ चाहन्छ र केही न केही गरिनै रहन्छ भन्ने सत्य सन्देश दिएको छ । ‘उज्यालो समय’, ‘गन्तव्य’ र ‘उषा रमाउँछ’ कवितामा शान्ति र सम्भावनाको खोजी गरिएको छ । ‘आशौच बारेको रात’ कवितामा जिन्दगी नाटक हो । दुःख र पीडादायी दिनरातहरु कहिल्यै नआओस् भनी प्रार्थना गरिएको छ । ‘बालक र जनता’ कविताले राजनैतिक व्यंग्य प्रहार गरेको छ । ‘चित्रसँग ठोक्किदा’ कविताले हृदयभित्रको चित्र सदैव अमिट र अमर रहने भाव व्यक्त गरेको छ ।
‘देश खोजी रहेछु’ र ‘जन्मभूमिलाई सम्झेर’ शीर्षकका कविता राष्ट्रप्रेमले ओतप्रोत रहेका छन् । मान्छे सुध्रिन नसकेको भनी व्यंग्य वाण ‘ढुङ्गे युग’ कविता मार्फत प्रहार गरिएको छ जून पनि मान्छे जस्तै पीडित छ भन्ने कथन ‘जून र मान्छे’ कवितामा छिपेको छ । ‘कैदी बालिका’, ‘सहर किनाराको बस्ती बालक’ र ‘क्यान्टोनमेण्टबाट स्वतन्त्र यात्रा’ कविता मार्फत स्वतन्त्रता खोजीएको छ । ‘म बहुला’ कवितामा मानवीयता माथि व्यंग्य प्रहार गरिएको छ । चुपचाप आँसु पिउने आदत बस्दो रहेछ भन्ने कटु सत्य ‘मौन आँसु’ कवितामा छिपेको छ । ‘ऊ मौनालिसा’ कविताले मुस्कुराउन सिकाएको छ । ‘यथार्थ फूल’ कवितामा गमलामा सजिएको निर्जीव फूललाई बिम्ब बनाई जीवन पीडाको विकल्प खोजएको छ । ‘स्वर्ण घर’ कविता मार्फत स्त्रीपुरुष कहिल्यै नछुट्टियौ र आफ्नो घरका साथै यो देशलाई सदा समृद्धशाली बनाऔँ भन्ने कामना गरिएको छ । ‘सानीलाई चिठी’ कविता मार्फत अनुशासन, आचारसंहिता र नैतिकता पालना गर्न गराउन सिकाइएको छ । ‘युग बोल्नुपर्छ’ कवितामा आमा राष्ट्र र राष्ट्रियतालाई उच्चासनमा राख्रिएको छ । जीवनको पर्याय नै कविता हो भन्ने कथ्य ‘कवितामा जीवन’ कविताभित्र रहेका छ । ‘नचाहेको युद्व’ले शान्ति खोजिरहेको छ । ‘चक्रव्युहमाथि मेरो विजय’ शीर्षकको कविताले हर मानिसलाई एक्लै संघर्ष गरेर विजयको शिरफूल लगाउन उत्प्रेरित गरेको छ । संग्रहभित्रको अन्तिम कविता आदिकवित भानुभक्त आचार्यप्रति समर्पित रहेको छ ।
‘‘मनमा अजस्र तरङ्ग र ज्वारभाटाबाट जुन तोड उत्पन्न हुन्छ, त्यसैको उच्च कला सहितको अभिवयक्ति नै वास्तवमा मलाई कविता जस्तो लाग्छ । जुन कवि शुभलक्ष्मी लम्सालका कविताहरुमा मैले अनुभूति गरे ।’’ भनी विष्णु विभु घिमिरेले लेखेका छन् । यसैगरी प्रा.डा. टड्ढ न्यौपाने लेख्छन्, ‘‘उनका कविताहरुमा सुन्दर तत्सम शब्दहरुको आकर्षण छ । लाग्छ यस पुस्ता समूहमा शुभ लक्ष्मीको उपस्थिति, शुभ सुन्दर छ ।’’
यसैगरी ज्योति जंगल लेख्छन्, ‘‘कविताको बोलीमा कविको हिम्मत हुन्छ । शुभलक्ष्मी शक्तिशाली हिम्मत बोकेर उभिन्छिन् कवितामा । कविले फूल मन पर्दैन भनेको सुन्दा अचम्म लाग्छ तर दृष्टिकोण नयाँ मिल्छ ।’’ जीवन रेलगाडी होइन पटरीमा दुगुरिइरहने, जीवन त सरिता हो । यसर्थ कवि शुभलक्ष्मीका कविताहरुमा नवीनतम शोध खोज र सोच पाइएका छन् । फूल मन पर्दैन तर पनि आँधिको आत्मसमर्पण मन पर्छ । जीवन मन पर्दैन र पनि मृत्यु मुस्कुराएको मन पर्छ । प्यास मेट्न नपाएतापनि लागिरहने तिर्खा मनपर्छ । कवितामा जीवन खोजेको मन पर्छ । ‘फूल मन पर्दैन’ ‘झरीपछिको माटो’ ‘मृत्यु’ ‘तिर्खा’ ‘जून र मान्छे’ ‘मौन आँसु’ ‘ऊ मोनालिसा’ ‘कवितामा जीवन’ ‘कर्तव्य’ शीर्षकका कविताहरु यस संग्रहभित्रका उत्कृष्ट सिर्जनाहरु हुन् ।
प्रत्येक कविताको सिर्जना मिति राखिएको भए समय परिस्थति अवस्था अझ यादगार रहन्थ्यो । ‘उज्यालो समय’ शीर्षकको कवितालाई ‘प्रकम्पित उज्यालो’ शीर्षकमा रुपान्तरित गरी लेखिएको भए अझ सुनमा सुगन्ध हुने थियो र कविताले कृतिको शीर्षकलाई सम्बोधन गर्ने थियो । लक्षणा र व्यञ्जना शब्दशक्तिको प्रयोग गर्नु, विद्रोहात्मक स्नेह प्रदान गर्नु, अपूर्णता भित्रनै पूर्णताको खोजी गर्नु, उच्च कलात्मक अभिव्यक्ति दिनु र वौद्धिक पाठकका लागि लेख्नु, शुभलक्ष्मी श्रेष्ठका वैशिष्ट्य गुणहरु रहेका छन् । प्रत्येक कवितामा अदृश्य शक्ति र ऊर्जा लुकेका छन् । अधिकांश कविता उसैको लागि लेखिएका छन् । जसले कवि ज्यूलाई जिवन्त रहन सिकाएको छ । कवितामा जीवन छ । कृति पठनीय, उदाहरणीय र संग्रहणीय रहेको छ । संवेदनशील नारीको भावुकता जिन्दावाद ¤ कवि शुभलक्ष्मी लम्साल निरौलालाई साधुवाद !