भारतमा बनेको उच्च चापीय क्षेत्र एक्कासी बिलाएका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ । यसपालीको मनसुन सकिने समय सेप्टेम्बर २३ मा हो, तर मंगलबारदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ । यसले अझै केही दिन मनसुन लम्बिने पक्का भएको छ । मनसुन अक्टोबरसम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन् । अविरल वर्षका कारण ठाउँ–ठाउँमा अतिवृष्टि भएको छ । वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्याङ्कन गर्दा २ सय ४० प्रतिशत पानी परेकाले बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । प्राप्त विवरण अनुसार बाढी पहिरोबाट वैशाख यता ३ सय ७५ को मृत्यु, १ सय बेपत्ता र ४ सय २० घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २ सय ७२ को मृत्यु र ७४ बेपत्ता भए । अधिकांश घटना जेठ ३० गते मनसुन सक्रिय भएपछि घटेको छ ।
नसोचेको क्षेत्रमा अपत्यारिला घटना भएका छन् । बाढीपहिरो र डुबानको कहर नेपाली समाजमा बारम्बार दोहोरिरहने नियति जस्तै बन्न पुगेको छ । प्राकृतिक प्रकोपलाई कसैले चाहेर रोक्न सकिँदैन । पटक–पटक पहिरोको चपेटामा परेको गुल्मी जिल्ला पुनःमंगलबार पहिरोका कारण दुई जनाले ज्यान गुमाउनु प¥यो । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । यसअघि ईस्माकै मल्दीमा पहिरोले १८ महिने बच्चा सहित दुई जनाको ज्यान लिएको थियो भने रुरुक्षेत्र गाउँपालिका–५ आँटीपाटा भोटे गाउँमा एकै घरका चार जनाले ज्यान गुमाएका थिए । नयाँ आर्थिक वर्ष यता गुल्मीमा पटक–पटक पहिरोले थुप्रै जनधनको क्षति गरेको छ । २०७२ सालको भूकम्प पश्चात् जिल्लाको भौगोलिक बनोट अत्यन्त कमजोर रहेको अनुमान गर्न सकिन्छ । यस वर्षमात्रै दर्जनौँ पटक पहिरोले वितण्डा मच्चाउँदा धेरै मानिसको ज्यान गयो । गुल्मी पहिरोको प्रकोपबाट बढी प्रताडित बने पनि देशभरिकै पहाडी क्षेत्रको भौगोलिक अवस्थिति उस्तै जोखिमपूर्ण रहेको छ । प्राकृतिक प्रकोप कुनै संकेत दिएर नआउने भएकाले यसको कुनै समय, याम वा ऋतु भन्ने हुँदैन । यसको स्वरुपमात्र परिवर्तन हुने हो । क्षति र पीडाको मापन त एकै प्रकारको हुने गर्छ । प्रायः हिउँदको महिनामा आगलागीको प्रकोपले जनधनको विनास गर्छ भने वर्षायाममा बाढीपहिरो, डुबानजस्ता समस्याले क्षति पुर्याउँछ । जुनसुकै समयमा पनि विभिन्न कहर नेपाली समाजले भोग्नु परेको छ । कुनै पनि प्रकोपबाट हुने दुर्घटना मानवीय नियन्त्रणमा नभए पनि पूर्वसावधानी र सचेतना अपनाउने हो भने जनधनको क्षति न्यूनीकरण गर्न भने अवश्य सकिन्छ ।