Shittalpati
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर

असोज १ गतदेखि निषेधाज्ञा हटेसँगै लामो दुरीका गाडी, आन्तरिक हवाई उडान, होटल, रेस्टुरेण्ट र सबै खाले बजार पसल खुलेका छन् । केही बाहेक उद्योग र व्यवसायका धेरै क्षेत्र खुला हुँदा असामान्य अवस्थामा पनि अर्थतन्त्र सामान्य अवस्थामा जाने आशा पलाएको छ । सधैँभरि बन्द गरेर सकिँदैन अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने निष्कर्षमा पुगेर नै सरकारले ६ महिनाको लकडाउन र निषेधाज्ञा खोलेको हो । कोरोना रोकथाम र नियन्त्रण लकडाउन र निषेधाज्ञाबाट मात्र असम्भव छ भन्ने तथ्य पुष्टि भएपछि सरकार अहिलेको निर्णयमा पुगेको हो । तर लामो दुरीका यातायातहरु सञ्चालनमा आए पनि तिनीहरुले स्वास्थ्य मापदण्ड भने पालना गरेको देखिदैन । यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल गरे पनि व्यवहारत कार्यान्वयन हुन सकेको छैन । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवत–जावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको हो ।

सवारी साधनमा भाडा मात्र बढीको रहेको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसक्नु दुःखद् हो । नेपालमा केही दिनदेखि प्रतिदिन औसतमा एक हजार दुई सय संक्रमित थपिँदै छन् । त्योभन्दा केही कम डिस्चार्ज हुने गरेका छन् । यही दरमा संक्रमित थपिने र डिस्चार्ज हुने क्रमले निरन्तरता पायो भने सक्रिय संक्रमितको संख्या २५ हजार पुग्न दशैँ कुर्नु पर्दैन । अनि लकडाउन गर्न २५ हजारको ‘टार्गेट’ पर्खेर बसेकाहरुले उपरखुट्टी लाएर सिफारिस ठोक्ने अनुमान गर्न अर्को दिन पर्खिनु पर्दैन । अब लकडाउन भयो भने दशैँ, तिहार र छठलगायतका चाडपर्वको हालत पनि यसअघिका चाडपर्व जस्तै हुने पक्का छ । तसर्थ सार्वजनिक यातायातले पालना गर्नु पर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था गरी तोकिएका स्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्नु गराउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update