शहिद बहुमुखी क्याम्पस, भगवान रामचन्द्रले पाईला चालेको, पवित्र काली नदीले स्पर्श गरेको, प्राकृतिक छटाले भरिएको पूण्य एवं रमणीय रामपुरमा अवस्थित पूर्वी पाल्पाकै पहिलो क्याम्पस हो । २०४६ सालको राजनैतिक परिवर्तनसंगै पूर्वी पाल्पा र छिमेकी जिल्ला स्याङ्जा र तनहुँको दक्षिणी भेग, नवलपरासीको उत्तरी भागका विद्यार्थीहरुलाई उच्च शिक्षाको उज्यालो ज्योति छर्नका लागि क्याम्पस स्थापना भएको हो । २०४६ सालको जन आन्दोलनका क्रममा ज्यान आहुती दिनु भएको शहिद सूर्यप्रसाद घिमिरेको सम्झनासंगै हजारौं शहिदहरुको सम्मानमा तत्कालिन रामपुर गाउँ विकास समिति हाल रामपुर नगरपालिका वडा नं. ७ किसानबारीमा रामपुरको शानको रुपमा रामपुरका जनताले २०४८ सालमा क्याम्पस स्थापना गरेका थिए । स्थापना पश्चात विभिन्न आरोह अवरोह पार गर्दै सीमित स्रोत र साधनका बिच शिक्षाको माध्यमबाट सुशुचित गरी समय अनुसारको जनशक्ति उत्पादन गर्नमा क्याम्पसले अग्रणी भूमिका खेल्दै आएको छ । यसर्थ यही क्याम्पसको शैक्षिक विकास, समस्या, चुनौतीका विषयमा यहाँ चर्चा परीचर्चा गर्ने प्रयास गरिएको छ ।
क्याम्पस स्थापना कालदेखि आफ्नो लक्ष्यमा दृढ भएर अगाडि बढेको छ । राजनैतिक तथा व्यवस्था परिवर्तनका लागि आफ्नो ज्यान समर्पण गरेका हजारौं शहिदहरुको सम्मानमा स्थानीय जनताले पसिना चुहाएर स्थापना गरेको क्याम्पसले २९ औं वसन्त पार गरिसकेको छ । स्मरण रहोस् क्याम्पसबाटै उत्पादन भएका जनशक्तिले यस क्षेत्रको शैक्षिक क्षेत्रलाई धानिरहेको छ भन्दा फरक नपर्ला । तर विडम्बना पछि स्थापना भएका देशका अन्य क्याम्पसले छर्ल· मारिरहेको अवस्थामा हजारौं शैक्षिक जशक्ति उत्पादन गरेको शहिद क्याम्पस दलगत स्वार्थकै कारण राज्यको उपेक्षामा परेको छ । अझ पछिल्लो समय संघीयता कार्यान्वयन भएसंगै संघीय सरकारबाट थप उपेक्षामा परेको स्पष्ट देखिन्छ । संघीयता कार्यान्वयन संगै भएको निर्वाचनमा जनताले अहिले यस क्षेत्रका संघीय सांसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट, प्रदेश सांसदमा नेकपा बाट र रामपुर नगरपालिका प्रमुख (मेयर) मा नेपाली कांग्रेस पार्टीबाट चुनेर विकासको लागि पठाएको अवस्था हो ।
मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार भए पनि पछिल्लो समय क्याम्पसमा परेको चुनौति र समस्यामा स्थानीय सरकार यसको प्रत्यक्ष रुपमा सामना गरिरहेको छ, भने बेला बेलामा झिनो आश देखाएर पोलेको घाउमा मलम लगाउन र सान्त्वना दिन स्थानीय सरकारको पछि पछि प्रदेश सरकार आउने गरेको छ । तर संघीय सरकार र सरकारसँग पहुँचमा भएका सरोकारवालाहरुको उपस्थिति देख्न मुस्किल प्रायः छ । अहिले यस क्षेत्रको प्रतिनिधित्व गर्दै जानु भएका संघका जनप्रतिनिधीबाट त अझ राजनैतिक प्रतिशोधको आधारमा पूर्ण रुपमा उपेक्षामा परेको छ भन्दा कुनै आपत्ति नहोला ।
अहिले त झन् स्थानीय तहमा विचार फरक–फरक भएकै भरमा क्याम्पस झनै मारमा परेको छ । विशेष गरी निस्दी गाउँपालिका, पूर्र्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिका, हरिनास गाउँपालिका, तनहुँको घिरिङ गाउँपालिका, नवलपुरको बौदीकाली गाउँपालिकाका जनताको छोरा छोरीले शिक्षा हासिल गर्ने क्याम्पस स्थापना कालदेखि नै राजनितिको चपेटामा पर्दै आएको छ ।
क्याम्पसको सेवा क्षेत्र भित्रका जनताका कोही काँग्रेस होलान त कोही कम्युनिष्ट आखिर जुन विचारमा लागे पनि आखिर आफ्ना छोरा छोरी पढ्ने उच्च शिक्षा हासिल गर्न जाने क्याम्पस नै शहिद बहुमुखी क्याम्पस होनी ? पाल्पाको ग्रामीण भेग विशेष गरी निस्दी र पूर्वखोलाका गरिब जनताका छोराछोरीले आफ्नो उच्च शिक्षा हासिल गर्ने थलो रुपमा यो क्याम्पस रहेको छ । रामपुर नगरपालिका भित्रका धेरै जनताका छोराछोरी ठूला–ठूला शहर काठमाण्डौँ, पोखरा, चितवन, बुटवल र तानसेन गएर अध्ययन गर्ने गर्दछन् भने गरिब तथा निम्न वर्गीय जनताको छोराछोरी मात्र यस क्याम्पसमा अध्ययन गर्ने गर्दछन् ।
अझ भनौ पछिल्लो समय विशेष गरी पुरुष भन्दा महिलाले बढी अध्ययन गर्ने क्याम्पसलाई अहिलेको परिस्थितिमा अगाडि बढाउन आर्थिक, भौतिक पाटो सुधारको आवश्यक देखिन्छ । अर्ध सरकारी हाम्रो क्याम्पसको भौतिक तथा सुधारका लागि स्थानीय तहको सिमित स्रोतबाट केही प्रयासहरु हुँदै आएको छ । प्रदेशले पनि बेलाबेलामा सहयोग नभएको होईन, तर आवश्यकता धेरै हुँदा स्थानीय र प्रदेश सरकारबाट प्राप्त सहयोगले मात्र परिपूर्ति गर्न मुस्किल हुने रहेछ । यसमा संघीय सरकार र संघमा जानु भएको जनप्रतिनिधीको भूमिका महत्वपूर्ण हुने रहेछ । तर अवस्था निकै फरक छ । रामपुरमा काँग्रेस नेतृत्वको स्थानीय सरकार भएसंगै सांसद विकास कोषबाट पर्ने रकम नै निकै कम पर्ने गर्दछ । केन्द्रको अन्य बजेट त परोस् पनि कसरी ? त्यस माथि शिक्षाको मन्दिर क्याम्पसलाई बजेट पर्ने त कुरै भएन नि ? यसै सन्दर्भमा यस क्षेत्रका संघीय सांसद ज्यू लाई मेरो आग्रह, यस पटकको सांसद विकास कोषको केही रकम राजनीति पूर्वाग्रह भन्दा माथी उठेर गाउँका गरिब जनताका गरिबी विद्यार्थीले पढ्ने क्याम्पस हो भनेर सम्झेर रकम छुट्टाउने की ? क्याम्पस अहिले (Quality Assurance Accessibility -QAA) मा अगाडि बढेको अवस्थामा छ । भविष्यमा क्याम्पसलाई अगाडि बढाउन र क्याम्पसलाई गण्डकी बेशी कै ठूलो क्यापस बनाउन र नमुना क्याम्पस बनाउनमा माननीय ज्यूको ठूलो महत्वपूर्ण सहयोग रहने छ भन्ने आशावादी छु ।
पक्कै पनि माननीय ज्यूले यस कुरालाई मनन् गरी म लगाएत यस क्षेत्रका जनतालाई गाँस, बाँस, कपास, शिक्षा र दिक्षा दिने कुरामा कहिले पनि पछि हट्नु हुने छैन जस्तो मलाई लाग्छ । अहिलेसम्म नगर्नु भएको कामको निकै उच्च मुल्यांकन हुने छ माननीय ज्यू । बर्सेनी सांसद विकास कोषको रकमबाट धेरै जसो रकम मोटरबाटो, आमा समूहका भवन र खानेपानीमा खर्च हुने गरेको छ । यस पटकको रकम शिक्षा क्षेत्रमा पनि लगाएर हेर्नु भयो भने माननीय ज्यू ति कलिला बाबुनानीहरु सदा तपाईको ऋणी हुने छन् । निभ्न लागेको दियोमा थोरै भए पनि तेल थपिदिएर सहयोग गरिदिनुहुन्छ कि भन्ने मेरो सानो अनुरोध साथै क्याम्पस प्रति यहाँको सहयोगको अपेक्षा गर्दछु । विद्यार्थीका बाबुआमा काँग्रेस होलान्, कम्युनिष्ट होलान् । विद्यार्थीका पनि विचार फरक होलान् तर उनीहरु शिक्षित भए भने दक्ष बने भने यो समाज र यो राष्ट्रको कर्णधार त हुन् नी होईन र ? मुलुकको व्यवस्था परिवर्तनका लागि बलीदानी दिएका हजारौं शहिदको सम्मानमा स्थापित शहिद बहुमुखी क्याम्पसमा तीर पनि नजर लाउने की माननीय ज्यू ? (लेखक शहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पाका स्ववियु सभापति समेत हुन् ।)