आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात् २५ लाख बढी जेष्ठ नागरिकहरु रहेका छन् । प्रत्येक १० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा वृद्धि देखिएको छ । यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ । नेपाली समाजमा अझै पनि जेष्ठ नागरिकहरु अपहेलित हुनु पर्ने अवस्था छ । उनीहरु आफ्नै छोराछोरीहरुबाटै अपहेलित हुनुपर्ने अवस्था आउनु दुखद् हो । मानिस बूढो हुनु अपराध होइन, एक दिन सबै बूढो अवश्य हुन्छ, यो धुव्र सत्य कुरा हो । हाम्रो देशमा जेष्ठ नागरिकप्रति परिवार, समाज र राज्यको भूमिका कमजोर छ ।
देशमा वृद्ध÷वृद्धामैत्री कानुनको अभाव छ । उनीहरुले राज्यमा सम्मानजनक बाँच्न पाएका छैनन् । कुनै न कुनै किसिमबाट अपहेलना र तिरस्कृत हुनुपरेको छ । जेष्ठ नागरिकका लागि न त सरकारले कुनै ठोस नीति र कार्यक्रम बनाउन सकेको छ न त उनीहरुको आधारभूत आवश्यकतालाई कतैबाट सम्बोधन गर्न सकेको छ । जेष्ठ नागरिक सम्बन्धी नेपालको कानुनले जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नुपर्ने कर्तव्य परिवारको सदस्य, नातेदार वा हकवालालाई तोकेको छ । जबकि नेपालको कानुनले बुबा आमाको सम्पत्ति माथि छोराछोरीको हक लाग्ने संंवैधानिक ग्यारेन्टी गरेको छ । तर तिनलाई उचित्त स्याहार गरेर पाल्नु पर्ने बाध्यकारी व्यवस्था उल्लेख गरेको पाईदैन । आर्थिक दृष्टिकोणले निष्क्रिय जेष्ठ नागरिकलाई घरपरिवार र समाजले पनि बोझ कै रूपमा हेर्ने परम्परा अझै हट्न सकेको छैन । जेष्ठ नागरिकले घरकुरुवा अथवा बालबालिकालाई हेरचाह गर्ने कार्यमा गरेको योगदानलाई गणना नै गर्ने गरिएको छैन । सामाजिक सुरक्षाको लागि हरेक वर्ष आर्थिक भार बढ्दै गएकाले सम्भवतः राज्यले पनि जेष्ठ नागरिकहरूलाई बोझ कै रूपमा हेरेको हुनुपर्छ । तर जेष्ठ नागरिकलाई बोझ नभई वरदानको रूपमा स्विकार्नुपर्ने यथार्थ मनन् गर्न सकियो भने मात्र जेष्ठ नागरिक दिवस मनाउनुको साथर्कता रहन सक्छ ।