आज अक्टुबर २, अर्थात् विश्व अहिंसा दिवस । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गएका छन् । हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गर्ने गिरोहहरु संसारका हरेक ठाउँहरुमा सक्रिय छन् । अर्कोतर्फ हिंसाका विरुद्ध बोल्न, लेख्न अनि अभिव्यक्त गर्न सक्ने आवाजहरुको कमीका कारण सिर्जना भएको मौनताले गर्दा पनि हिंसात्मक मानसिकताका जमातहरूको मनोबल बढाउन सहयोग गरेको छ । मानव समाजको सुरुवात देखिनै द्वन्द्व भइरहेको छ । विभिन्न नाममा र विभिन्न परिवेशका समाजहरू बिचको वैचारिक असहमतीबाट द्वन्द्वको सिर्जना हुनु सामान्य हो । तथापि उक्त द्वन्द्वको उचित व्यवस्थापन गर्न नसक्दा यहाँ हिंसा बढ्दै गइरहेको छ । अहिंसा दिवसको औचित्य त्यतिबेला अझ गज्जब हुन्छ जतिबेला हामीले अब आउने पुस्तालाई द्वन्द्व अनि असहमतीलाई शान्ती पूर्वक समाधान गर्ने तवरहरु सिकाउन सक्दछौ, मुस्कान र सदाचारको महत्व सिकाउन सक्दछौ अनि बदला र विद्रोहलाई धेरैपर धकेलेर मानवताको अर्थ हरेक मन मनमा स्थापित गर्न संभव हुन्छौ । नेपालमा राजनीतिक स्थायित्व पश्चात् आशाको मुना पलाउन लागिरहेका बेला पुनः हिंसात्मक गतिविधि बढ्न थालेका छन् । लामो सशस्त्र युद्व भोगेका नेपालीलाई देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी तथा हत्याका घटना सार्वजनिक हुँदै गर्दा त्रास बढाएको छ ।
मुलुकमा विभिन्न आन्दोलन पश्चात् राजनीतिक परिवर्तन भई नयाँ संविधान कार्यान्वयनको चरणमै रहेका बेला मुलुकलाई हिंसातर्फ धकेल्ने कार्य हुनु निन्दनीय छ । हत्या, हिंसाको राजनीति कति भयावह हुन्छ भन्ने दृष्टान्त दस वर्षे सशस्त्र माओवादी द्वन्द्वलाई हेर्दा नै पर्याप्त हुन्छ । आज नेपाली जनताले द्वन्द्वकालको स्मरण पनि गर्न चाहँदैनन् । नेपाली समाजको विकासको गति अवरूद्ध हुनुका साथै १७ हजारभन्दा बढी निहत्या नागरिकले अनाहकमा जीवन उत्सर्ग गर्नुप¥यो । अझै पनि समाजमा द्वन्द्वका अवशेषहरु मेटिइसकेका छैनन् । हजारौँ जनता अंगभंग भएर बाँच्नुपरेको छ । सयौँ पीडितहरुमा न्याय र परिपूर्ण हुन सकेको छैन । अहिंसा उज्यालो र हिंसा अँध्यारोको प्रतिबिम्ब हो । हिंसा अज्ञानताको प्रतिक हो भने अहिंसा ज्ञानको प्रतिक हो । हिंसामा संलग्न मान्छे अन्धकारको यात्री झैँ हुन्छ । जसको कुनै गन्तव्य हुँदैन । किनकि हिंसाले कुनै गन्तव्यमा पु¥याउँदैन । त्यसैले आफूमा हिंसा हटाऊँ, समाजमा हिंसा हटाऊँ, देशमा हिंसा हटाऊँ, विश्वबाटै हिंसा हटाऊँ र हिंसारहित विश्वको निर्माण गरौँ ।