छन्दबहादुर पहराई मगर
नेपाली काँग्रेस भन्न वित्तिकै प्रजातन्त्रको पर्यावाची हो भन्ने बुझिन्छ । तर कसरी भन्यो भने यसको जवाफ निकाल्न गहिरो चिन्तन मनन गर्नुपर्ने हुन्छ । सबै काँग्रेसीहरूले यो बुझ्न जरुरी छ कि नेपाली काँग्रेस भनेको आफैमा एउटा सामाजिक आन्दोलन हो । भौगलिक रुपमा आधुनिक नेपालको निर्माण जसरी पृथ्वीनारायण शाहले सुरुवात गरे त्यसैगरी सामाजिक रुपमा आधुनिक नेपालको निर्माण गराउने अवसर नेपाली काँग्रेस र महामानव बीपि कोइराला लगायतका नेताहरुलाई प्राप्त भयो । २००७ सालको क्रान्ति भन्दा अगाडि नेपाली समाजमा सामाजिक रुपमा सबैखाले विकृति र विभेद थियो । महिलाहरुले पढ्न लेख्न नपाउने, दलितहरु विद्यालय जान नपाउने र ब्रामणहरुले हलो जोत्न नहुने जोतेमा जनै फाल्नु पर्ने अवस्था थियो । लमजुङ जिल्लाको दुरा डाँडामा २००८ साउन ११ गतेका दिन करिब २८ जना उपाध्याय ब्रामणहरुले पण्डित तोयनाथ अधिकारीको अगुवाइमा हलो जोतेर हलो क्रान्ति गरेको इतिहास नेपाली काँग्रेसको इतिहासमा बिर्सन सकिदैन ।
नेपाली काँग्रेसको जन्म सामाजिक आन्दोलनको लागि नै भएको हो र यो आन्दोलन अविच्छिन्न चलिरहन्छ । नेपाली काँग्रेसको पहिचान भनेको सहभागीता र समावेसी हो किनकी समावेसी र सहभागिता बिना नेपाली काँग्रेसको पहिचान बन्न सक्दैन । नेपाली काँग्रेसको जन्मदाताहरुको जीवनी र भगवान गौतम बुद्धको जीवनी करिब करिब मेल खान्छ । सिद्धार्थ गौतम कपिलवस्तुको तिलौराकोट भन्ने ठाउँमा राजा शुद्धोधन र मायावतीको गर्भबाट बुढेसकालमा जन्मेका एक मात्र छोरा थिए । उनलाई सुख्खको कुनै कमी नहुँदा नहुँदै पनि भौतिक चिजले शान्ति दिन सकेन जसको कारण २९ बर्षको उमेरमा श्रीमती, छोरा र माता पितालाई त्यागेर जंगल गएका हुन । प्रशस्त धन सम्पत्तिले सन्तोष दिन सकेन । त्यसकारण आत्म शान्तिको लागि ज्ञानको खोजीमा दरबार छोडेर गए ।
त्यसैगरी बिपी कोइरालाका पिताजी धनी व्यापारी भइकन पनि कृष्णप्रसाद कोइरालाले भएको सुखसयल मोजमस्ती त्याग गरेर राणाको विरुद्धमा लाग्ने अठोट गरे । जसको कारण ज्यान जोगाउनका लागि भारततिर पसेका हुन । बडाकाजी रत्नमानसिंहका नाती गणेशमान सिंह जस्ता नेताहरुको जीवन सुखसयल र मोजमस्ती गरेर पनि आनन्दले बित्न सक्थ्यो तर गौतम बुद्धलाई जस्तै भौतिक सुख सुविधाले शान्ति दिन नसके जस्तै नेपाली काँग्रेसका नेताहरुलाई नेपाली जनताको अधिकारका लागि लडन पर्ने बाध्य भयो । कुनै पनि राजनैतिक दलहरुलाई चिन्न र जान्नका लागि त्यसको आदर्श के हो थाहा पाउनुपर्ने हुन्छ । नेपाली काँग्रेसको आदर्श राष्ट्रियता,लोकतन्त्र र समाजवाद हो । यसैबाट थाहा हुन्छ कि नेपाली काँग्रेसको पहिचान भनेको राष्ट्रियता बलियो बनाउने, लोकतन्त्र स्थापना गर्ने र समाजवादलाई कार्यान्वयन गर्ने दावित्व हो भन्ने कुरा कुनैपनि काँग्रेस अभिन्यताले बिर्सनु हुँदैन । हामीले कुनैपनि राजनैतिक दल माथि विश्वास र मतदान गर्नका लागि अन्य राजनैतिक दलसँग के फरक छ ? यसको उत्तर खोज्नुपर्ने हुन्छ । विद्यार्थीहरुलाई किताबमा पढाउँदा अभ्यास पुस्तकमा फरक छुट्याउ, वाक्यमा प्रयोग गर, जोडा मिलाउ, खाली ठाँउ भर जस्ता कुराहरु सिकाइन्छ । विद्यालयमा पढेका कुराहरु जीवनका हरेक क्षणमा काम लाग्छ भन्ने कुरा बिर्सनु हुँदैन । अब नेपाली काँग्रेस के हो भन्ने थाहा पाउन अन्य राजनैतिक दल सँग के फरक छ अर्थात् विशेष गरी नेकपा र नेपाली काँग्रेसमा के फरक छ ? यसै विषयमा केन्द्रीत रहेर यहाँ चर्चापरिर्चा गर्ने प्रयास गरिएको छ ।
इतिहासमा फरक :– इतिहास भन्नाले बितेका घटनाहरुको अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु हो । विगतलाई अध्यन नगरी वर्तमानको विश्लेषण र भविष्यको अनुमान गर्न सकिदैन । त्यसैले नेपालमा आजसम्मको परिवर्तनहरुलाई राजनैतिक रुपमा केलाएर हेर्नुपर्छ । क्रान्ति भनेको परिवर्तन हो भने नेपाल देशलाई आधुनिक नेपालमा प्रवेश गराउने काम नेपाली काँग्रेसले नै गरेको हो । आधुनिक भन्नाले पुरानो सोंच, परम्परागत शैलीको अन्त्य, यथास्थितिवादीबाट अग्रगामी बाटोतिर, अन्धविश्वासबाट प्रमाणित कुरामा लाग्ने भन्ने बुझिन्छ । काँग्रेस आफैमा सामाजिक जागरण आन्दोलन भएको हुँदा २००७ सालको क्रान्ति सामाजिक परिवर्तनको आन्दोलन थियो । नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसको स्थापना लगभग एकै समयमा भएको हो । २००६ सालमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतको कलकत्तामा नै भएको हो । १०४ वर्षे राणा शासन फालेर आधुनिक नेपालको सुरुवात गराउने कार्यमा नेपाली काँग्रेसको तुलनामा नेकपा नगन्य रुपमा नै छ । २००७ सालको क्रान्तिको नेतृत्व,२०१४ सालको भद्र अवज्ञा आन्दोलन गरी २०१५ सालको संसदीय आमनिर्वाचन गराउन राजा महेन्द्रलाई बाध्य गराउने काम, २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला भएका हुन् ।
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी कोइराला गणेशमान सिंह, खुमबहादुर खड्का, शैलजा आचार्य, रामबाबु प्रसाई, निलाम्बर पन्थी सहित स्वदेश फिर्ति नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ । २०३६ सालको जनमत संग्रहमा बहुदललाई जिताउने उद्देश्य नेपाली काँग्रेसको थियो भने नेकपा मालेले जनमत संग्रह धोका हो भन्दै निर्दलको प्रचार मात्रै गरेनन् बहुदलको आमसभामा ढुंगा हान्ने काम समेत गरे । २०४२ सालको पञ्चायतको विरुद्धमा सत्याग्रह, २०४६ सालमा नेपाली काँग्रेसको नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायत फाल्ने जनान्दोलन, माओवादीलाई वार्ता गरी जंगलबाट शहर र सदनमा ल्याउने काम पनि नेपाली काँग्रेसले नै गरेको हो । २०६२/६३ सालको जनआन्दोलनको अगुवाई, २५० वर्षको जहानिय शाह वंशको अन्त्य र २०७२ साल असोज ३ गते नेपाली काँग्रेसको तत्कालिन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको अगुवाइमा नेपालको संविधान जारी गर्ने काम पनि नेपाली काँग्रसको नेतृत्वमा भएको ऐतिहासिक प्रमाण छन् । नेपालका कम्युनिष्टले जतिसुकै परिवर्तनका सस्ता र चिप्ला कुरा गरे पनि इतिहासमा नेपाली काँग्रेसले गरेको कामहरु अन्य दलहरु विशेष गरी नेकपा भन्दा उच्च र फरक देखिन्छ ।
नारामा फरक : सामान्य रुपमा नेपाली जनताले बुझ्ने नारा भनेको नेपाली काँग्रेसले भन्ने जयनेपाल र नेपालका कम्युनिष्टले भन्ने लालसलाम हो । कम्युनिष्टले भन्ने लालसलाम शब्द विदेशी शब्द हो । लाल भनेको रातो वा क्रान्ति बुझाउने उर्दु शब्द र सलाम भनेको अभिवादन वा नमस्कार बुझाउने हिन्दी शब्द हो । लालसलाम शब्द नेपालका कम्युनिष्टहरुले मात्रै प्रयोग नगरेर भारत, पाकिस्तान, बंगलादेश, अफ्गानिस्तान लगायतका कम्युनिष्ट पार्टीले प्रयोग गर्दछन् । यो लालसलाम भन्ने शब्दमा नेपालको राष्ट्रियता झल्काउने तागत देखिन्न । नेपाली काँग्रेसले भन्ने गरेको जयनेपाल भन्ने शब्दमा राष्ट्रियता झल्कन्छ भने देशको माटोप्रति स्वाभिमान देखाउछ । वि.स.१९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई गलामा फांसी लगाउने बेलामा तेरो अन्तिम इच्छा के छ ? भन्दा जयनेपाल भनेर मरेका हुन । नेपाल प्रहरीमा प्रयोग गरिने जयनेपाल पनि २००७ सालमा नेपाली काँग्रेसद्वारा गठित मुक्ति सेनाको नारा जयनेपाल नै थियो । राणा शासन समाप्त भए पछि मुक्ति सेनालाई नेपाल प्रहरीसँग विलय बनाई प्रहरी भित्र पनि जयनेपाल नारा चलेको हो ।
झण्डामा फरक :– नेपाली काँग्रेसको चार तारे झण्डा भन्ने बित्तिकै यसको पहिचान आफ्नै प्रकारले बनेको छ । नेकपाको हँसिया हथौडीवाला झण्डा यसको पनि आफ्नै पहिचान बनिसकेको छ । नेकपाको रातो भागमा हँसिया र हथौडी झण्डाले क्रान्ति र मुक्तिको संकेत गर्दछ । तर नेपालका नेकपाहरुले फहराउने हँसिया र हथौडीवाला झण्डा नेपालका कम्युनिष्टले मात्र प्रयोग नगरेर विभिन्न देशका कम्युनिष्टहरुले पनि प्रयोग गर्दछन् । यसर्थ हामी यो पनि भन्न सक्छौ कि यो नेकपाको झण्डा नेपालको आफ्नै भूमिमा निर्माण नभई विदेशबाट लिइएको हो र अनुसरण पनि गरिएको हो । संसार भरिका कम्युनिष्टहरुले प्रयोग गर्ने झण्डालाई हामी यो पनि भन्न सक्छौ कि झण्डा बिदेशी तर डन्डा स्वदेशी हो । बाहिरबाट नक्कल गरिएको झण्डाले राष्ट्रियताको पहिचान दिन सक्दैन । नेपाली काँग्रेसले फहराउने चारतारे नेपाल कै झण्डा हो र नेपाल कै डन्डा हो । नेपाली काँग्रेसले झण्डाको निर्माण गरी नेपाली काँग्रेसको स्थापना भएको दिन २००६ साल चैत्र २७ गते सार्वजनिक गरिएको हो । तिन तहमा निर्माण गरिएको झण्डाको र· माथि रातो, बिचमा सेतो र तल रातो छ । बिचको भागमा चारवटा ताराहरु छन् । रातो भागले अन्यायको विरुद्धमा राजनैतिक क्रान्ति गर्ने अर्थात् लोकतन्त्रको स्थापना गर्ने, बिचको सेतो भागले शान्ति र अहिंसा स्थापना गर्ने र तलको रातो भागले पुन निर्माण र रोजगारको लागि आर्थिक क्रान्ति गर्ने संकेत गरेको छ । चार वटा ताराहरु मध्य पहिलो ताराको अर्थ राजनैतिक स्वतन्त्रता, दोस्रो ताराको अर्थ आर्थिक स्वतन्त्रता,तेस्रो ताराको अर्थ धार्मिक स्वतन्त्रता र चौंठो ताराको अर्थ वाक स्वतन्त्रता र भयबाट मुक्त हो । नेपाली काँग्रेसले फहराउने चारतारे झण्डा नेपालको नेपाली काँग्रेस पार्टी बाहेक कसैले पनि प्रयोग गरेको पनि छैन र प्रयोग गर्न पनि पाउदैन । यो झण्डाले राष्ट्रियता लोकतन्त्र र समाजवादको प्रतिनिधित्व गर्दछ । यस मानेमा नेकपाको झण्डा भन्दा नेपाली काँग्रेसको झण्डा अब्बल र फरक छ ।
नेतामा फरक :– नेकपाले बढी मात्रामा श्रद्धा राख्ने र भक्तिभाव गाइराख्ने नेताहरु विदेशी छन् । चाइनाको माओत्सेतुङ, रसियाको लेनिन, जर्मनमा जन्मेर बेलायतमा हुर्के बढेका कार्ल मार्कस र एंगेल्स सबै नेपाल भन्दा बाहिरका हुन् । नेपालको मदन भण्डारी र पुष्पलाल भन्दा ज्यादा विश्वास गर्ने र जतिबेला पनि फोटो पुज्ने नेताहरु माओ,मार्कस र लेनिन हुन् । तर नेपाली काँग्रेसले श्रद्धा र भक्तिभाव गर्ने नेताहरु आफ्नै देशमा जन्मेर हुर्के बढेका बिपी कोइराला, सूवर्ण शम्सेर, गणेशमान, गरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, सुसिल कोइराला हुन् । मओवाद, लेनिनवाद र मार्कसवाद बिदेशीवाद हो भने वीपीवाद आफ्नै स्वदेशीवाद हो । नेकपा र नेपाली काँग्रेसमा यिनै नेताहरुलाई मान्ने तरिकामा फरक छ ।
नीतिमा फरकः– नेपाली काँग्रेसको नीति विचार नेकपाको भन्दा कालजयी छ अर्थात् अजर अमर छ । नेकपाको सिद्धान्त संसार भरी लोपोन्मूख छ । मार्कसले प्रतिपादन गरेको समाजवाद काल्पनिक भैसकेको छ । अब मानिसहरु कसैको पनि सर्वसत्तावाद एकदलीय व्यवस्था स्वीकार गर्न सक्दैनन् किनकी हरेक मान्छे जन्मेर स्वतन्त्र पूर्वक बाच्ने अधिकार खोज्दछ । नेपालका कम्युनिष्टहरु विशेष गरी नेकपा सुधारिएको कम्युनिष्ट हो । पहिला साम्यवादको लक्ष्य बोकेर हिडेको कम्युनिष्ट बिस्तारै जनवाद, नौलोजनवादबाट बहुदलीय जनवादसम्म आइपुगेको छ । कम्युनिष्टको अस्तित्वबाट बाहिर आइसकेर पनि अझै कम्युनिष्ट उच्चारण गर्न छोडेको छैन । नेपाली काँग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवाद आज संसार भरी अनुसरण भैरहेको छ । नेपाली काँग्रेस पूर्णरुपमा लोकतन्त्र प्रति प्रतिवद्धता राख्दछ । बिपी कोइराला भन्नु हुन्थ्यो कि समाजवादमा प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ र साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्छ अर्थात् समाजवाद प्रजातन्त्र.साम्यवाद हुन्छ भने साम्यवादं प्रजातन्त्र. समाजवाद हुन्छ । नेपाली काँग्रेसको विचार भनेको वाक स्वतन्त्रता,प्रेस स्वतन्त्रता र शान्ति र अहिंसा हो ।
निचोड :– नेपाली काँग्रेस नेपालको अन्य राजनैतिक दलहरु भन्दा विचारको हिसाबले,नारा र नीतिको हिसाबले मात्र नभएर इतिहास एवं संघर्षलाई अध्ययन गर्दा धेरै उच्च देखिन्छ । किनकी नेपालका मधेशवादी पार्टीले क्षेत्रीय नारा लगाउछन् भने केही जातको आधारमा खोलिएका पार्टीले साम्प्रदायिक नारा लगाउछन् । राप्रपा जस्ता पार्टीले राजाको वकालतदेखि एकल धर्मको वकालत गर्छन् भने कम्युनिष्ट विचार बोकेका दलहरु पनि झण्डा एकै किसिमको भए पनि नारा र नीति फरक फरक लगाउछन् र लोकतन्त्र प्रति पूर्ण बफादार देखिन्न । अत्यन्तै जनतालाई दिग्भ्रमित पार्ने कुरा गर्छन् । नेपाली काँग्रेसको विचारले मात्रै हिमाल,पहाडर तराईलाई समेट्न सक्छ । नेपाली काँग्रेसको सबै कुरा राम्रो हुँदा हुँदै पनि किन जनताको मन जित्न सकेको छैन ? भन्ने यक्ष प्रश्न पनि छ । नेपाली कांग्रेस आफैमा सामाजिक आन्दोलन भएको हुँदा सबै जिम्वेवार काँग्रेसीहरु सामाजिक परिवर्तनका अभियन्ता हौं भन्ने कुरा बिर्सेको देखिन्छ । सिद्दान्त जतिसुकै राम्रो भए पनि व्यबहार राम्रो भएन भने नेपाली काँग्रेस जनताको नजरमा ठिक देखिन सक्दैन । नेपाली काँग्रेस आफैमा लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्र भनेको आफैमा समावेसी र सहभागिता हो भन्ने कुरा काँग्रेसीहरूले बिर्सनु हुँदैन । नेपाली काँग्रेसका नेताहरु व्यक्तिगत स्वार्थको कारण नेपाली काँग्रेसको विचारलाई आफ्नो अनुकुल बंग्याएर ब्याख्या गर्न सक्छन् तर नेपाली काँग्रेसको विचार सोझो नै छ कालजायी नै हुने छ । नेपाली काँग्रेसको विचार ठिक छ भन्ने सावित गर्नका लागि काँग्रेसीहरुले व्यवहार सुधार्नु आवश्यक मात्रै होइन अनिवार्य छ । (लेखक नेपाली काँग्रेसका केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत हुन् ।)