आजैको दिन अर्थात् हरेक वर्षको अक्टुबर ४ मा अन्तर्राष्ट्रिय विश्व पशु दिवस मनाउँदै आइरहिएको छ । पशुका अधिकार र तिनीहरु प्रति गरिने मानवीय व्यवहार यस दिवसको मुख्य उद्देश्य रहेको छ । पशुपंक्षी सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ । जंगलमा पाइने र घरपालुवा जीव जन्तुहरु हाम्रा लागि विशिष्ट र अति महत्वपूर्ण हुन् । चाडपर्वका बेला होस् वा अन्य समयमा पशुपंक्षीहरुको आफ्नै महत्व रहेको हुन्छ । यिनीहरुको महत्व आफैमा विशिष्ट छ । कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाडहरुले त जनावरको बिश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषित गरिदिएको छ । हामी मध्ये हरेक मानिसले जनावरहरुको संसारलाई केही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्रि हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ । जनावरलाई खाना, बस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल मित्र र समान प्राणीका रुपमा बुझ्न जरुरी छ ।
मानिसले पशुपंक्षीलाई खानादेखि औषधीसम्म प्रयोग गर्दै आएको छ । सांस्कृतिक,पर्यटन,जैविक विविधता,व्यपार लगायतका क्षेत्रसँग पशुपंक्षी जोडिएका छन् । पशु दिवसमा जनावरसंगको मानविय दायित्व र समबन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मीहरु एकै थलोमा भेला हुने गरेका छन् । यो आफैमा सकारात्मक पक्ष हो । सनातन समाज मात्र विश्वमा यस्तो समुदाय हो जहाँ जनावरहरुलाई भगवानको स्थान दिइएको छ । भैरवको बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसो लगायत सबै भगवानका बाहनहरु जनावरका रुपमा पुज्य छन् । विश्वका विभिन्न देशहरुले विभिन्न तरिकाबाट यो दिवस मनाउदै आइरहेका छन् जसमा धर्म, विश्वास वा राजनितिक विचारधाराहरु पनि पर्दछन । यो दिवस विभिन्न स्कुल, संघ संस्था, संगठित समूह, क्लव र व्यक्तिहरु जो पशु संग सम्बन्धित छन् उनीहरुले विशेष तरिकाबाट मनाउदै आएका छन् । जनावर प्रति गरिने क्रुर व्यवहारलाई समाप्त पारी पशु सम्बन्धी कल्याणकारी कामलाई बढवा दिने र पशुको सुधारात्मक स्थितिलाई बढाउनु यो दिवसले मुख्य सन्देश रहेको छ । यसर्थ हाम्रो पृथ्वी माताको इको पद्दति कायम राख्दै सबै प्राणीको संरक्षण गर्न, पशुबलिको बर्वरता हटाउन सके मात्र यो दिवसले साथर्कता पाउन सक्छ ।