Shittalpati
शिक्षक दिवस र गुणस्तरीय शिक्षा

आज विश्व शिक्षक दिवस हो । सन् २०२० को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको अक्टोबर ५ तारिखको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पूर्नकल्पनासंग समानान्तर राखिएको छ । अबका दिनहरुमा विद्यालय, कक्षाकोठाहरु अनि शिक्षकहरु स्वयं अनलाइन मार्फत घरघरमा आइरहनुपर्ने अवस्थाका साथसाथै समग्र शिक्षण अनि सिकाईका धरातलहरु नै रुपान्तरित भएको छ, विश्व शिक्षक दिवसले फेरिएको संरचना अनि शैक्षिक प्रभावलाई दिल खोलेर सम्बोधन गर्न सक्नुपर्छ । नेपालमा शिक्षकहरुको समस्या अन्य देशको भन्दा खासै भिन्न पाइँदैन । यतिबेला शिक्षक व्यवस्थापनमा देखिएका जल्दाबल्दा मुद्दाहरु निकै चोटिला छन् । अस्थायी शिक्षकको सदाबहार आन्दोलन छदैछ । योग्य शिक्षकको नियुक्तिमा प्रश्न उठ्ने गरेको छ । विभिन्न हैसियत र सेवासुविधा प्राप्त गर्ने दर्जनभन्दा बढी थरिका शिक्षकको अस्तव्यस्त व्यवस्थापन एकातिर देखिन्छ । शिक्षक तालिमको सान्दर्भिकतामा समीक्षा पनि हुन थालेको छ । त्यसो त, विषयगत तालिम प्राप्त शिक्षक उपलब्धता र चरम राजनीतिकरण अहिले देखिएका मुद्दा हुन् । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको शिक्षा सम्बन्धी मौलिक हक, सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारी घोषणालाई साकार पार्न गुणस्तरीय जीवनोपयोगी शिक्षाको सुनिश्चितता पहिलो शर्त हो । सर्वसुलभ गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विद्यार्थीको उपलब्धिलाई आफ्नो सफलता ठान्ने शिक्षक हुनुपर्छ । शिक्षकको योग्यता, क्षमता र दक्षता जाँच्ने कसी विद्यार्थी उपलब्धीस्तर नै हो । तर शैक्षिक, बौद्धिक वर्गलाई पञ्जामा राखेर जिउने आदतले देशमा शैक्षिक दमनको मनोवैज्ञानिक पीडा छ ।

निजामती कर्मचारीका अधिकृतले सरकारको गाडी चढेर हिँड्छन् तर समान स्तरका मावि शिक्षकलाई आफ्नै पसिनाबाट किनेको बाइकमा तेल हाल्नै गाह्रो हुन्छ । शिक्षकले आर्थिक भ्रष्टाचार गर्दैन, त्यसैले उसलाई हाम्रो समाजले सामान्य कर्मचारीमा तोल्छ । अब आफ्नै पेसामा बेखुसी बनेको शिक्षकले राम्रो शिक्षा प्रदान गर्न सक्दैन । बौद्धिक क्षमता भएकाले पनि नेताकै हजु¥याइँ गर्ने, नेताजीको चाकडीबाज बन्ने, नातावाद, कृपावादको चुक्लीमै रहँदा शैक्षिक गुणस्तर अभिवृद्धिका पक्षमा धब्बा छँदैछन् किनकि यहाँ शिक्षाले राजनीतिलाई होइन राजनीतिबाट शिक्षा परनिर्भर बनेको छ । शिक्षाले राजनीतिलाई लगाम लगाउनुको साटो हाम्रो मुलुकमा राजनीतिले शिक्षालाई कँज्याएका कारण दुर्गन्ध हट्न सकेको छैन । अब देशमा शिक्षालाई राजनीतिको स्वार्थी दागबाट टाढा राख्ने शैक्षणिक संयोजन हुनु आवश्यक छ । निजीकरणबाट सरकारीकरण तथा यहाँकै रैथाने ज्ञानलाई प्रविधिसँग जोड्ने शिक्षाको आधारलाई तयार गर्न सकेमात्र शिक्षक दिवसले सार्थकता पाउन सक्छ र शिक्षा गुणस्तरीय बन्न सक्छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update