यतिबेला हिन्दुहरुको महानपर्वहरु नेपालीको घर आँगनमा आउन लागेका छन् । कोरोना महामारीका बिच पनि देश तथा विदेशबाट घर फर्किने क्रम सुरु भएको छ । यतिबेला सहरबजारमा चाडपर्वको चहलपहल पनि सुरू भइसकेको छ । पछिल्लो समय लकडाउन खुल्ला भएसँगै मानिसहरु दसैँको किनमेलमा व्यस्त हुन थालेका छन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ । यही भीडभाडको मौका छोपेर आपराधिक घटनाहरु पनि बढ्ने गर्दछन् । विगतमा पनि नजिकिँदै गएको बडादशैँ, दीपावली र छठपर्वको समयमा अवाञ्छित एवं आपराधिक घटनाहरु हुने गरेको पाइन्छ । भिडभाडको मौका छोपेर लुटपाट हुने गर्दछ । लुटेराले धनमाल लुट्नेमात्र होइन, ज्यानैसमेत लिने गरेका विगतका दृष्टान्त छन् । हरेक वर्ष चाडबाडको समयमा लुटपाटका घटनाका साथै उपभोक्ता किनमेलमा ठगिने गर्दछन् । चाडबाडको मौका छोपेर कालो बजारी गर्ने व्यापारीहरु अझै सक्रिय छन् । प्रशासनले अनुगमन सक्रिय बनाउँदा उपभोक्तालाई केही राहत मिले पनि प्रभावकारी बन्न सकिरहेको छैन ।
सुपथ मूल्यका पसलहरु नगन्य हुँदा सबै क्षेत्रका मानिसको पहुँच पुग्न सकिरहेको छैन । चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा, आपूर्ति व्यवस्थापन, यातायात क्षेत्रलाई सरल र सुरक्षित बनाउने दायित्व राज्यको हो । यसका लागि राज्यका सम्पूर्ण निकायहरुले उपभोक्ताको हित प्रवद्र्धनतर्फ लाग्नुपर्छ । सरकारी निकायले समयमै सक्रियता नदेखाउने हो भने कोरोनाको बहानामा यात्रा गर्दा यात्रु ठगिनुपर्ने, सीमा क्षेत्र, जङ्गल तथा बढी व्यस्त हुने स्थानमा मानिस दिउँसै लुटिनुपर्ने, किनमेलका क्रममा ठगिनुपर्नेजस्ता अनेकन समस्या उत्पन्न हुनेछन् । तसर्थ सुरक्षा निकायले चाडपर्व व्यवस्थित बनाउन सक्दो प्रयत्न गर्नु पर्दछ । चाड पर्वको नाममा सीमा क्षेत्रबाट भिœयाउन सक्ने विस्फोटजन्य पदार्थ पटाका, सुतली बम, चक्रहरूलाई रोकथाम तथा नियन्त्रण गर्न, सीमावर्ती संगठित अपराध, लागुऔषध ओसार पसार, मरिच, केराउ जस्ता सरसमानको तस्करी हुन नदिनेतर्फ पनि विशेष ध्यान दिन जरुरी छ । चाड पर्वको मौका छोपी विभिन्न व्यक्ति तथा समूहले व्यापारी, उद्योगीसँग चन्दा माग्ने, फोनबाट धम्की दिने जस्ता अवाञ्छित कार्य गरी डर त्रासको वातावरण सिर्जना गर्न सक्ने भएकाले त्यस्ता गतिविधि निगरानी गरी कारवाहीको दायरामा ल्याउने कार्यमा स्थानीय प्रशासन चनाखो हुन जरुरी छ ।