Shittalpati
हुलाक दिवस र यसको प्रयोग

आज विश्व हुलाक दिवस हो । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महशुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो । विश्व हुलाक दिवस मनाईरहँदा प्रविधिको विकाससंगै हुलाक सेवामा चिठी पठाउने र प्राप्त गर्नेहरुको भने अहिले कमी छ । बढ्दो आधुनिक प्रविधिहरुको प्रयोगले गर्दा नेपालमा हुलाक सेवा अन्य मूलुकको तुलनामा अघि बढ्न सकेको छैन ।

धेरैजसो मुलुकहरुले आफ्नो हुलाक सेवालाई आधुनिकीरण गरी जनतालाई छिटो र छरितो हुलाक सेवा प्रदान गरिरहेका छन् । तर कमजोर सरकारी संयन्त्रका कारण हुलाक सेवाप्रति आमजनताको विश्वास घटेर गएको छ । प्रविधि र समयको माग अनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकतानुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो । अहिले हुलाकको काम सरकारी कागजातहरु ओसारपसार गर्ने र केही कुरियर सेवा दिनुमा सीमित बनेको छ । चिठी पत्र आदान प्रदान गर्न भने त्यति हुलाकको प्रयोग गरिएको छैन तर अन्य सरकारी कगाजातहरु भने अझै हुलाकमार्फत नै हुने गर्दछ । इमेल इन्टरनेट र मोबाइल सेवाको कारण हुलाकमार्फत चिठीपत्र पठाउने चलन घटेपनि सरसामान पठाउने क्रम भने कायमै छ । नेपाल सरकारले हुलाक सेवालाई समयानुसार परिस्कृत गर्न नसक्दा हुलाकबाट प्रदान गरिने सेवा थप चुनौतिपूर्ण बन्दै गएको छ । यसर्थ नेपालको हुलाक सेवालाई चुनौतिको रुपमा नलिई समय सापेक्ष परिवर्तन गर्न सके हुलाकको औचित्य बढ्ने छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update