Shittalpati
पाल्पामा दिगो पर्यटन विकासको अवधारणा

विश्वको आधुनिक पर्यटन विकासको इतिहासलाई फर्केर हेर्दा सन् १८४१ मा बेलायतका थोमस कुकले आधुनिक पर्यटन व्यवसायको श्रीगणेश गरेको मानिन्छ । बेलायतमा उनले स्थापना गरेको “थोमस कुक” विश्वकै पहिलो ट्राभल एजेन्सी हो । यसकारण थोमस कुकलाई आधुनिक पर्यटनको जन्मदाता मानिन्छ । २१ औं शताब्दीमा विश्वले पर्यटनलाई आर्थिक विकासको मूल पाटोको रुपमा लिएको छ । अहिले पर्यटनले विश्वकै सबैभन्दा ठूलो उद्योगको रुपमा मान्यता प्राप्त गरेको छ । नेपालको परिप्रेक्ष्यमा धार्मिक पर्यटन हिन्दुकुश क्षेत्रमा हिन्दु धर्मसंग सम्बन्धित पात्र तथा योगी तपश्वीका कारण थियो भनि मान्न सकिन्छ । त्यस्तै करिव २००० वर्ष पहिलेदेखि नेपालमा बौद्ध धर्मसँग सम्बन्धित धार्मिक पर्यटन शुरु भएको मानिन्छ । नेपालको आधुनिक पर्यटन विकासको इतिहासलाई नियाल्दा खासै लामो इतिहास रहेको भेटिदैन ।

इ.संं. १९५१ अघि सम्मको देशको राजनैतिक अवस्थाका कारण पनि नेपालको पर्यटनको इतिहास छोटो भएको हो भनिन्छ । त्यस बखत विदेशीलाई नेपाल प्रवेशमा सहजता थिएन् अर्थात् प्रवेश गर्न पाउने व्यवस्था थिएन । राजनैतिक परिवर्तनका साथ इ.सं. १९५३ मा सगरमाथामा पहिलो पटक मानव पाईला टेकेको सफलतासंगै नेपाल विश्व सामु पर्यटनको नयाँ गन्तव्यको रुपमा परिचित भयो । फलस्वरुप सन् १९५५ देखि विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि खुला गरियो । सन् १९५८मा फ्रेन्च जर्ज लेब्रकको प्रत्यक्ष निगरानीमा राष्ट्रिय योजना आयोगद्वारा पर्यटन विकासका लागि राष्ट्रिय पर्यटन विकास बोर्डको स्थापना गरियो र सोहि वर्ष तत्कालिन शाहि नेपाल वायु सेवा निगम स्थापना तथा सञ्चालनमा ल्याइयो जसले गर्दा नेपालको पर्यटन क्षेत्रले फस्टाउने वातावरण पायो । नेपालको प्रकृति, धार्मिक तथा सांस्कृतिक क्षेत्र पर्यटकलाई आकर्षित गर्ने खालको थियो नै त्यस माथि तत्कालिन अवस्थामा लागू पदार्थ सम्वन्धी नियम खुकुलोका कारण पनि पर्यटन वृद्धि भएको थियो भन्ने मत राख्नेहरु पनि छन् ।

त्यसताका विशेषत काठमाडौं, पोखरा तथा नेपालका हिमाली क्षेत्रको भ्रमणका लागि पर्यटकहरु नेपालमा आकर्षित हुने गर्दथे । पर्यटक आगमनको संख्या वृद्धिसंगै पर्यटन क्षेत्रको व्यावसायिक गन्तव्यमा पनि वृद्धि हुदैँ गयो । नेपालको पर्यटनले राजनैतिक तथा प्राकृतिक विपत्तीका आरोह अवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको हो । पछिल्लो समयमा नेपाल आउने पर्यटकमा धार्मिक पर्यटकहरुको उल्लेख्य मात्रामा वृद्धि भएको छ । यातायातको पहुंच, बसोबासको प्रबन्ध, मनोरञ्जन र प्राकृतिक दृश्य आदि जस्ता विषय पर्यटनका अत्यावश्यक पूर्वाधारको रुपमा लिने गरिएको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा करिव ४% ओगटेको नेपालको पर्यटन उद्योग पछिल्लो समय गाउँ गाउँमा पनि यसको आवश्यकताको महशुस भएको पाइन्छ । यसको पुष्टि हरेक राजनीतिक दलका चुनावी घोषणा पत्र तथा जनस्तरबाट पर्यटन विकासको माग भएबाट पनि बुझ्न सकिन्छ । नेपालका पर्यटकीय क्षेत्र मध्ये पाल्पा पनि एक हो । यसर्थ पाल्पाको पर्यटन र यसका सम्भावनाका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ । पाल्पामा पनि पर्याप्त पर्यटनका संभावना रहेको छ । यहाँका संभावनामा धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक र पुरातात्विक क्षेत्रहरु पर्यटनको संभावना रहेका गन्तव्यहरु हुन् । यहाँको प्राकृतिक तथा भौगोलिक अवस्थाका कारण खेल, शिक्षा, स्वास्थ्य जस्ता पर्यटनको गन्तव्यको पनि प्रचुर संभावना रहेको छ । साँच्चै नै भन्ने हो भने यति धेरै विविधता सहितको विशेषता रहेको स्थान विरलै मात्र हुन्छन् । यति धेरै संभावना रहेता पनि पाल्पाले पर्यटनको माध्यमबाट फाइदा लिन भने सकेको छैन । प्रश्न उठछ, किन त पाल्पाले पर्यटनबाट जिल्लाको आर्थिक वृद्धिदर उठाउन सकिरहेको छैन ? किन पाल्पामा पर्यटन विकासको विश्वाशिलो आभाष हुन सकेको छैन ? पर्यटन विकासका लागि सबैको अपेक्षा र चासो रहेता पनि किन यसले गति लिन सकेको छैन ? यी पाल्पाको पर्यटनमा उब्जिने गंभीर प्रश्नहरु हुन् जसलाई गंभीरताका साथ मनन् गरी ठोस योजनाका साथ अघि बढनु पर्ने आवश्यकता औैल्याइएको छ । यो जन चाहना पनि हो । पाल्पाको पर्यटन विकासका आधारभूत आवश्यकताहरु र उपलब्धता अनि सबलतालाई कशिमा राखेर हेरिनु पर्दछ । पर्यटन विकासका लागि सुविधायुक्त यातायातको व्यवस्था (यातायात साधन तथा बाटो), स्तरीय बसाईको प्रवन्ध (स्तरीय होटेल, होमस्टे, लज), पर्यटकको इच्छा बमोजिमको खानाको व्यवस्था, पर्यटकलाई गरिने असल आतिथ्यता तथा सरल एवं असल जानकार पथप्रदर्शक जस्ता आधारमा मात्र दिगो पर्यटन खडा भएको हुन्छ ।

दिगो पर्यटन विकासका लागि बृहत र क्रमिक योजना नितान्त आवश्यक छ । सर्वप्रथम पर्यटन विकासका लागि आवश्यकता तथा चाहना महशुस हुनु नितान्त आवश्यकता छ । यस कोणवाट हेर्दा सम्पूर्ण जिल्लावासिको चाहाना पनि रहेको देखिन्छ । पर्यटन विकासका लागि सम्पूर्ण सरोकारवालाहरु संकल्पित र प्रतिवद्ध अभियानकर्ता समूह हुन जरुरी छ । अभियानकर्ताहरुद्वारा सम्ंभावित सरोकारवालाहरुलाई पर्यटन सम्बन्धी चेतना शिविरको माध्यमबाट पर्यटन विकासका विभिन्न पाटाहरुको बारेमा जानकारी गराउन जरुरी छ । सोही पर्यटन चेतना शिविरको माध्यमबाट जिल्लास्तरीय पर्यटन विकास समिति गठन गर्ने र सो समितिमा सबै पालिकाहरुको अनिवार्य सहभागिता, जिल्लाका सरोकारवालाहरु र जिल्लाका पर्यटन विज्ञहरुको सहभागिता हुन जरुरी छ । व्यक्तिका सामाजिक ओजबाट पर रही समितिका पदाधिकारी छनौट गरिनु पर्दछ । छनौट भएका पदाधिकारीले पर्यटन विकासका लागि पर्यटन विकासका हरेक क्षेत्रमा योगदान दिन सक्छ कि सक्दैन भन्ने कुरा बुभ्mन अति आवश्यक रहन्छ । त्यसरी गठन भएको पर्यटन विकास समितिद्वारा पर्यटन विकास र प्रवद्र्धन सम्वन्धी निति, नियम तथा कार्यक्रम निर्माण गर्नु पर्दछ । कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यालय स्थापना गरी आवश्यक सक्षम कर्मचारीहरुको व्यवस्थाका साथ जिल्लामा पर्यटन विकास कार्यक्रमका लागि बजेट व्यवस्था गरिनु पर्दछ । त्यसरी गठन भएका पर्यटन विकास समिति र नियुक्त भएका कर्मचारीबाट जिल्लाका पर्यटन योग्य प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाको पहिचान गरी संभावित गन्तव्यहरुको निर्धारण गरिनु पर्दछ ।

यसरी गठित समितिले जिल्लामा रहेका धार्मिक पर्यटन (मठ मन्दिर, पवित्र स्थल इत्यादी), सांस्कृतिक पर्यटन (चाडपर्व, जात्रा तथा जात जातीका विभिन्न रितिरिवजमा गरिने क्रियाकलाप), ऐतिहासिक पर्यटन (प्राचिन दरवार, किला, काष्ठकलाका प्राचिन मन्दिर, जाती विशेषका प्राचिन शैलिका घरहरु), प्राकृतिक पर्यटन (प्राकृतिक रुपमा रहेका डाडां, पाखा, गुफा, वन जंगल, जंगली जीवजन्तु), खेल पर्यटन ( जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना), स्वास्थ्य पर्यटन (सुविधा सम्पन्न अत्याधुनिक प्रविधि सहितको एलोपेथिक, आयुर्वेदिक, प्राकृतिक तथा होमियोपेथि अस्पताल), शिक्षा पर्यटन (गुणस्तरीय विद्यालय तथा विश्व विद्यालय स्तरीय शिक्षाको विकास जसमा बाहिराका आवासिय विद्यार्थीहरुलाई लक्षित), साहित्य पर्यटन ( जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको साहित्यिक कार्यक्रमको आयोजना), मानव निर्मित पर्यटकीय गन्तव्य (भव्य संरचनाका स्थल, बन्जी जम्प, जिप फ्लाइ इत्यादी) जस्ता गन्तव्यको अल्पकालिन तथा दिर्घकालिन कार्ययोजना सहित वर्गिकरण गर्नेछ ।

वर्गिकृत तथा पहिचान भएका गन्तव्यको विकास, संरक्षण तथा व्यवस्थापनका लागि छुट्टा–छुट्टै उप समिति स्थापना गरी पहिचान भएका गन्तव्यको स्थानीयस्तरमै व्यवस्थापनको जिम्मा दिनु पर्दछ । त्यस्ता उप समितिहरुलाई गन्तव्यको विकास एवं संरक्षणका लागि प्राविधिक तथा आर्थिक सहयोग जुटाउने कार्य जिल्ला स्तरीय समितिले गर्ने छ । पहिचान भएका पर्यटन योग्य प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाको गन्तव्य विकासका लागि विभिन्न निकायमा प्रसार–प्रचार र प्रवद्र्धनका लागि पहल गरिनु पर्दछ । उप समितिहरुका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि उपसमितिका पदाधिकारीहरुलाई तालिम तथा गोष्ठिको आयोजना तथा पर्यटन चेतान कार्यक्रम सञ्चालन गरिनु पर्दछ ।

पर्यटन विकासमा पर्याप्त सकरात्मक पक्ष रहेता पनि केही नकरात्मक पक्षहरुको पनि अध्ययन र सचेतता आवश्यक रहेको हुन्छ । पर्यटनको विकासबाट हुन सक्ने नकरात्मक पक्षहरुको जोखिम पहिचान तथा न्यूनिकरणका लागि पनि समितिहरु चनाखो हुनु पर्दछ ।

जिल्लाका सम्पूर्ण पालिकाहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा पर्यटन विकासका लागि वर्षाैदेखि लाखौँ करोडौं रुपैंया खर्च गरिदै आएको छ । सो क्षेत्रमा हालसम्मको लगानी अनुपातमा प्रतिफल प्राप्त गर्न नसकिएको तितो सत्य स्वीकार गरिनु पर्दछ र गहन समिक्षा गरिनु आवश्यक छ । पर्यटन विकासका लागि पार्टीका घोषणा पत्रमा लेखिदैमा, मिठा भाषण र स्वप्नील बयान गर्दैमा, जन चाहना, गन्तव्य पहिचान तथा निर्माण हुँदैमा मात्र पर्यटन विकास हुँदैन । यो सजिलो पनि छैन तर असम्ंभव पनि छैन । यसलाइ हामी पर्यटन विकासका निम्ती विकासका क्रमिकतालाई हामी कसरी अपनाउन सक्छौ भन्ने कुरामा यो निहित छ । यदि हामीले पर्यटन विकासका लागि उल्लेखित क्रमिकता अक्षांरस पालना गर्‍यौ भने मात्र पनि पाल्पामा एकिकृत दिगो पर्यटन विकासको प्रवल संभावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update