Shittalpati
मानसिक स्वास्थ्यका बिरामीलाई सम्मान गरौं

विश्व मानसिक स्वास्थ्य संघले हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाउने गर्छ । हरेक वर्ष फरक/फरक नारा तय गरेर मनाइने दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आबद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ । मानसिक स्वास्थ्यविना स्वास्थ्य मानिसको कल्पना गर्न सकिन्न । मानसिक स्वास्थ्यले व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँछ, जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न, जीवनका तनावपूर्ण अवस्थासँग सामना गर्न तथा उत्पादनशील र लाभदायी तरिकाले काम गरेर समुदायमा केही योगदान गर्न सक्षम हुन्छ । मानसिक रूपमा स्वस्थ्य व्यक्तिले समय तथा वातावरण अनुसार अगाडि बढ्न सक्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने गुण भएको, अर्थपूर्ण रूपले जीवनयापन गर्न सक्ने क्षमता भएको, अरू व्यक्तिसँग अर्थपूर्ण सम्बन्ध जोडी सो सम्बन्धलाई निरन्तरता दिन सक्ने र कुनै प्रकारको मानसिक बिरामीको खास लक्षण नभएको हुन्छ । नेपालमा मानसिक स्वास्थ्य जनचेतनाको कमी, लाञ्छना र विभेदको कारण सीमान्तकृत र हेयको विषय बनेको छ । यो सामाजिक बहिष्कार र कलङ्कसँग जोडिएको विषय हो, जसले मानव अधिकारका आधारभूत भनाइजस्तै स्वास्थ्यप्रतिको अधिकार, आत्मसम्मानको अधिकार र सामाजिक कार्यमा हुने सहभागिताको अधिकारलाई समेत मिचेको अवस्था छ । शारीरिक स्वास्थतासंँगै मानसिक स्वास्थ्यलाई हेरिने, गरिने, बुझिने दृष्टिकोणमा भेदभाव हुनुहुँदैन । 

अझै पनि नेपालमा जनमानसमा मानसिक स्वास्थ्यप्रतिको मिथ्या र गलत धारणाहरू विद्यमान छन् । मानसिक रोग भन्ने बित्तिकै पागलपन भनेर कडा मानसिक रोगलाई मात्र ठान्ने प्रवृत्ति व्याप्त छ । हाम्रा गाउँघरको समाजमा मानसिक रोग भूतप्रेत वा दैवीशक्तिको कारण हुन्छ भन्ने विश्वास छ । राज्यका नीति निर्माताहरूमा पनि मानसिक स्वास्थ्यप्रतिको दृष्टिकोण र प्रतिबद्धतामा ठूलो परिवर्तनको आवश्यकता देखिन्छ । मानसिक स्वास्थ्यलाई सम्मान गर्नु भनेको विद्यमान मानसिक स्वास्थ्यप्रति रहेको नकारात्मक धारणामा परिवर्तन ल्याई पीडित बिरामीलाई बिना भेदभाव, सर्वसुलभ रूपमा अस्पतालसम्ममा पुर्‍याउनु नै तिनको सम्मान हो । हाम्रो समाजमा रहेका मानसिक स्वास्थ्यका रोगीहरू र उनीहरूको परिवारहरूलाई सेवा प्रदान गर्ने राज्यका विभिन्न निकायहरूदेखि समाजमा रहेका हामी जोसुकैले पनि सम्मान प्रदान गर्नु अहिलेको आवश्यकता हो । तसर्थ सबैले मानसिक स्वास्थ्यका विरामीहरुलाई सम्मान गरौं, उनीहरुलाई पनि अन्य बिरामी सरह बाच्न सक्ने वातावरण सिर्जना गरौं ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update