कोरोना कहरका कारण सबैभन्दा धेरै क्षति पर्यटन क्षेत्रमा छ । पर्यटन व्यवसायी र मजदुर गरेर लाखौँको रोजगारी गुमेको छ । होटल व्यवसायी, हवाई उडान, ट्राभल एजेन्सी, यातायात व्यवसायी लगायत क्षेत्र बढी मारमा छन् । अहिले विश्व नै कोरोना महामारीमा छ । नेपाल सरकारका योजना पनि स्वास्थ्य केन्द्रित छन् र हुनुपर्छ । सरकारले २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्यका साथ २०२० लाई भ्रमण वर्ष घोषण गरेको केही महिनामा नै कोरोना संकट झेल्नुप¥यो । अहिले सबै पर्यटनकर्मी पर्ख र हेरको अवस्थामा छन् । कोरोना कहरमा सबैभन्दा धर्मर क्षेत्र पर्यटन नै हो । अहिले मानव जीवन कसरी बचाउने भन्ने सन्दर्भ एकातिर छ भने पर्यटन क्षेत्रलाई कसरी टिकाउने भन्ने चिन्ता अर्कातर्फ छ । भरपर्दो सेवाजन्य उद्योगका रूपमा विगत लामो समयदेखि पर्यटन क्षेत्रले छाप छोड्न सकेको छ । विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाका हिसाबले पर्यटन क्षेत्रको योगदान उल्लेख्य छ । कोभिडका कारण सहरदेखि दूरदराजका बस्तीसम्म पर्यटन र पर्यटकीय वातावरण विस्तार हुन सकेको छैन ।
कोरोना महामारीको पहिलो चरणको चपेटामा परेका पश्चिम युरोपका मुलुकले विस्तारै पर्यटन क्षेत्रमा पुनरागनको संकेत दिएका छन् । इटली, फ्रान्स, स्पेन लगायत मुलुकमा बिस्तारै पर्यटकको आगमन र पर्यटकीय गतिविधि सञ्चालनमा आएका छन् । अवश्य पनि यो केही सुखद् पक्ष हुन सक्छ । नेपालमा झण्डै चार महिनाभन्दा बढीको बन्दाबन्दी, आर्थिक क्रियाकलापको शिथिलता, व्यावसायिक चहलपहलको न्यून चलायमानका बीच आर्थिक तथा व्यावसायिक क्षेत्रका विसंगति र समस्यामा केही सुधारका संकेत देखिन थालेको आभास हुन्छ । तर मुलुकको आर्थिक क्रियाकलापमा उत्साहजनक पुनरागमन हुन अझै केही महिना कुर्नुपर्छ । होटल तथा पर्यटन सेवा क्षेत्रको अर्बौं लगानी जोखिममा रहेको अवस्थामा सरकारको केही महिना अघिको बजेटमा राहतका कार्यक्रम भएपनि कार्यान्वयनमा जागरुकता आउन सकेको छैन । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुन आवश्यक छ । यसर्थ पर्यटन क्षेत्रको पुनरुत्थान र पुनरागमनका ठोस तथा प्रभावकारी कार्यक्रम र प्याकेजको सान्दर्भिकतालाई आत्मसात गरी आगामी वर्ष २०२१ लाई गतिशील पर्यटकीय वर्षका रूपमा रूपान्तरण गर्ने दिशामा सरकार अघि बढ्न जरुरी छ ।