तानसेनमा नजन्मेका अनि तानसेनका जनप्रतिनिधिलाई भोट नहालेका मकवानपुरे हिरण्यलाललाई किन १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको तानसेन नगरपालिकाले स्थापना गरेको पुष्पलाल स्मृति राष्ट्रिय पुरस्कार २०७६ (पहिलो पटक) प्रदान गर्ने निर्णय गरियो ? तानसेन पाल्पा सेरोफेरोमा केहीका मनमा यो सवालले २०७६ माघ तेस्रो साता खसखस गरायो । हुन त एकहदसम्म कुरो ठिकै हो, क्षेत्रियताको चश्माले हेर्दा । तर न त पुष्पलालको व्यक्तित्व काठमाडांैं खाल्डोमा सीमित रÞयो नत हिरण्यलालको योगदान मकवानपुरमा खुम्चियो । लोकतन्त्रका मुर्धन्य व्यक्तित्व पुष्पलालको योगदान जगजाहेर छ अनि पुष्पलालको योगदानलाई पत्रकारिता र लेखनका माध्यमबाट नेपालीमनमा बिस्तार गर्ने हिरण्यलाललाई पनि बहुआयामिक व्यक्तित्वको रुपमा परिचित गराउँदा न्यायोचित ठहर्ला । कसैको दयामाया वा निगाहाका कारण हिरण्यलाल पुरस्कृत भएका होइनन् ।
कोरोना संत्रासका वावजूद तानसेन नगरपालिकाले स्थापना गरेको पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ पहिलोपटक पुष्पलालका समकालीन बरिष्ठ पत्रकार, लेखक तथा परराष्ट्रवीद् हिरण्यलाल श्रेष्ठलाई असोज ७ गते राष्ट्रपति भवन शित्तल निवासमा भव्य समारोहबीच सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नु भयो । उक्त दिन कोषका संरक्षक वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ समेत प्रेस काउन्सिल नेपालले स्थापना गरेको १ लाख ५० हजार रुपैयाँ राशिको गोपालदास पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु हामी तानसेनवासी तथा समस्त पाल्पालीका लागि गर्वयोग्य कुरा हो । पुरस्कार व्यवस्थापनका लागि स्थापना भएको स्वायत्त संस्था पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष–२०७५ को २०७६ माघ १८ मा सम्पन्न प्रथम साधारणसभाको सर्वसम्मत निर्णय अनुसार नै पुरस्कार प्रदान गरिएको हो । पुष्पलाल स्मृति दिवसमा तानसेनमा पुरस्कार प्रदान गर्ने भनिएकोमा कोरोना संत्रासका कारण २०७७ असारमा कार्यक्रम आयोजना गर्न सकिएको थिएन ढिलै भएपनि सम्माननीय राष्ट्रपतिज्यूको सद्भावका कारण यस पटक पुरस्कार प्रदान गर्न सकियो ।
२०७६ माघ १८ मा कोषका संयोजक वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको सभापतित्व तथा संरक्षक एवम् तानसेन नगर प्रमुख अशोककुमार शाहीको आतिथ्यतामा सम्पन्न प्रथम साधारण सभामा स्वागत मन्तव्य कोषका सहसंयोजक तथा प्रेस काउन्सिल नेपालका तत्कालीन कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राख्नु भएको थियो । कोषका सदस्य सचिव गोविन्द भट्टराईको सञ्चालन तथा कोषका सदस्य एवम् नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालको माइन्यूट लेखनमा सभा चलेको थियो । सभामा वरिष्ठ पत्रकार एवं व्यक्तित्व सिफारिस समितिका संयोजक दिल साहनीले सिफारिस गरिएका व्यक्तित्वहरु क्रमशः हिरण्यलाल श्रेष्ठ, भैरव रिसाल र अर्जुन ज्ञवालीको नाम सिफारिस गर्नुको औचित्यबारे प्रकाश पार्नु भएको थियो । सभामा संयोजक, सहसंयोजक, सिफारिस समितिका सदस्य बरिष्ठ पत्रकार मेघराज शर्मा तथा अन्य सदस्यहरुले सिफारिस ब्यक्तित्वहरुको बारेमा आ–आफ्नो राय प्रकट गर्नुभएको थियो । हिरण्यलाल श्रेष्ठलाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्रदान गर्नु पर्दछ भन्ने सर्वसम्मत निर्णय भएको थियो । व्यक्तित्व सिफारिस समितिले वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र अर्जुन ज्ञवालीको नाम समेत सिफारिस गरेकोमा यसपटक हिरण्यलाललाई दिनुपर्दछ भनेर सर्वसम्मत निर्णय भएको थियो ।
नेपालको पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको माध्यमबाट राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र लोकतन्त्रको संस्थागत विकासको निम्ति पत्रकारिता तथा लेखन क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएका एकजना वरिष्ठ पत्रकारलाई हरेकवर्ष पुष्पलालको जन्म जयन्तीको अवसरमा असार १४ गते उक्त पुरस्कार प्रदान गरिने निर्णयसहित कोष क्रियाशील रहेको छ । कोषमा पत्रकारिता र लेखनसँग जोडिएका विभिन्न क्षेत्रमा स्थापित पत्रकार तथा लेखकहरुको समावेशी सहभागिता रहेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा तथा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि तानसेन नगरकार्यपालिकाको गठन आदेश २०७५ बाट पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष २०७५ सञ्चालक समिति गठन भएको हो । राष्ट्रिय स्तरको समिति हुनाले नगरकार्यपालिकाले पाल्पा बाहिरबाट पनि समितिमा निश्चित व्यक्तित्वहरुको सहभागिता गराएको पाइन्छ । भविष्यमा वरिष्ठ व्यक्तित्वहरुको
थप सहभागिताका लागि कोषले पहल गर्ने नै छ ।
२०७७ असोज ६ गते राष्ट्रपति निवासमा आयोजित पुरस्कार वितरण विशेष समारोहमा कोषका संयोजक तथा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, सहसंयोजक तथा प्रेस काउन्सिल नेपालका तत्कालीन कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र सदस्य सचिव गोविन्द भट्टराई लगायतको उपस्थिति रहेको थियो । कोरोना परीक्षणका लागि स्वाव दिएर रिपोर्टको पर्खाइमा रहनुपरेको र समयमा रिपोर्ट प्राप्त नभएकाले अर्थात् प्राविधिक कारण तानसेन नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत लगायत उपस्थित हुन सक्नुभएन । कोषको सदस्य सचिव हुनुका साथै तानसेन नगरपालिकाको प्रेस सल्लाहकारको हैसियतले नगरपालिकाको समेत प्रतिनिधित्व गर्दै पंक्तिकारको कार्यक्रममा सहभागिता रहेको थियो ।
पुरस्कार वितरण लगत्तै प्रेस विज्ञप्ति मार्फत् तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले पुष्पलाल जस्तै लोकतन्त्रका लागि योगदान दिएका वीपी कोइराला, मदन भण्डारी लगायत व्यक्तित्वलाई तानसेनले सम्झने उल्लेख गर्दै हिरण्यलाल श्रेष्ठलाई पुरस्कार प्रदान गरिदिनु भएकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । सदस्य सचिव गोविन्द भट्टराईको तर्फबाट पनि तत्काल उक्त कार्यक्रमबारे जानकारी दिदै विज्ञप्ति जारी गरिएकोे थियो । गर्विलो इतिहास बोकेका वरिष्ठ लेखक तथा पत्रकार हिरण्यलाल श्रेष्ठलाई पुरस्कृत गरेकोमा कोष र पुरस्कार स्थापना गर्न सहयोग गर्ने तानसेन नगरपालिकाको कामको चर्चा समेत भएको सुनियो । अधिकांशले सहि पात्र सम्मानित भएको प्रतिक्रिया व्यक्त गरेको पाउँदा राम्रै काम गरिएछ भन्ने अनुभूति भएको तानसेन नगरप्रमुख अशोककुमार शाहीले पंक्तिकारलाई बताउनु भयो ।
(लेखक पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष–२०७५ का सदस्य सचिव समेत हुन् ।)