विश्वभरी नै विभिन्न कार्यक्रम गरी आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउन लागिएको छ । हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ । विभिन्न कार्यक्रम, सभा सम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणका लागि यस दिवसको महत्व धेरै छ । प्राकृतिक प्रकोपसंग मानव समुदाय जुध्न सक्दैन तर पूर्वतयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानीलाई न्यूनिकरण गर्न भने सक्छ । सन् १९८९ को राष्ट्रसंघको साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि यस दिवसको शुरुवात गरेको हो । जलवायु परिवर्तनका हिसाबले नेपाल चौथो, भूकम्पीय हिसाबले विश्वको ११ औँ तथा बाढीपहिरो लगायतका प्रकोपका हिसाबले ३० औँ जोखिमपूर्ण स्थानमा छ । नेपालमा प्रकोपको जोखिम धेरै भएपनि नियन्त्रणको प्रयास भने खासै भएको देखिंदैन । कानुनहरु बनेका छन् तर कार्यान्वयनको अवस्था निकै कमजोर देखिन्छ । विशेषत : कमजोर संरचनाका कारण बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपले धेरै जनधनको क्षति गरेको छ । हरेक वर्ष औसतमा पाँच सयभन्दा बढी विपद्का घटना हुन्छन् । जसका कारण भौतिक संरचना तथा मानवीय क्षति हुन्छ र जीविकोपार्जनमा समेत असर गर्दछ ।
नेपालमा लाखांै नागरिक विपद्बाट प्रभावित हुँदा पनि सरकारबाट नियन्त्रणका लागि पर्याप्त पहल हुन सकेको छैन यो अत्यन्त दुखद् हो । नेपालमा पहाडी भागमा पहिरो र भूक्षयको जोखिम छ भने तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागी र महामारीको जोखिम हुन्छ । नेपालमा विपद् निम्त्याउने मुख्य प्रकोपमा सडक दुर्घटना, महामारी, भूकम्प, पहिरो, बाढी, हिमपात तथा हिम पहिरो, खडेरी रहेका छन् । पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरुको संभाव्य जोखिममा रहेको छ । अझ मानविय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ । यस्ता प्राकृतिक प्रकोपहरु वर्षैपिच्छे आउने गर्छन् । यो विषयमा सरकारले हेक्का नराख्नु, पूर्व तयारी नगर्नु, संकटपछिको विपत्लाई प्रभावकारी व्यवस्थापन नगर्नु नै ठूलो समस्या हो । समतल भू–भाग भएको मधेशमा केही दिनको वर्षाले नै डुबानको समस्या सिर्जना गरेको छ, यसको दिर्घकालीन समाधान के हो भन्ने कुरातर्फ सजगता नपनाउनु गम्भीर भूल हो । वनजंगल विनाश, चुरेको दोहन, जलवायुमा परिवर्तन बाढीको मुख्य कारण हो । चुरेको दोहन रोक्नु अहिलेको प्रमुख आवश्यकता हो । नदी नियन्त्रण, वृक्षरोपण, जग्गा प्लटिङमा कडाई, बसाई–सराईंमा नियन्त्रण, ढलको उचित व्यवस्थापन गर्न सकेमा बाढीबाट केही हदसम्म जोगिन सकिन्छ ।